वानखेडे स्टेडियम जहाँ नेपाली क्रिकेटले रच्नेछ इतिहास
काठमाडौं । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियम विश्वमै चर्चित र ऐतिहासिक क्रिकेट मैदान हो । अहिले यो स्टेडियम नेपाली क्रिकेट प्रशंसकहरूका लागि खास चासोको विषय बनेको छ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपालले आफ्ना सुरुवाती चारवटा महत्त्वपूर्ण खेल यही प्रतिष्ठित मैदानमा खेल्दैछ । नेपालले पहिलो खेलमा क्रिकेटको महारथी इङ्ल्याण्डको सामना गर्नेछ । नेपालका सबै सुरुवाती खेल यही मैदानमा हुने भएकाले नेपाली क्रिकेटका लागि वानखेडे स्टेडियम ऐतिहासिक बन्दैछ ।
वानखेडे स्टेडियमको इतिहास निकै रोचक छ । सन् १९७० को दशकमा मुम्बई क्रिकेट एसोसिएसन र क्रिकेट क्लब अफ इन्डियाबिच टिकट बाँडफाँडलाई लिएर ठुलो विवाद भयो । त्यो विवाद यति बढ्यो कि तत्कालीन क्रिकेट प्रशासक एसके वानखेडेले आफ्नै नयाँ स्टेडियम बनाउने अठोट गरे ।
उनले सोचे जस्तै गरी मरीन ड्राइभको किनारमा यो स्टेडियम बन्यो । अचम्मको कुरा के छ भने यो विशाल स्टेडियम मात्र ११ महिना २३ दिनमा तयार भएको थियो । सन् १९७५ मा भारत र वेस्ट इन्डिजबीचको टेस्ट म्याचबाट यसको उद्घाटन गरिएको थियो ।
कस्तो छ आधुनिक र सुविधासम्पन्न संरचना ?
सुरुमा ४५ हजार दर्शक अटाउने यो स्टेडियमलाई सन् २०११ को विश्वकपका लागि नयाँ रूप दिइयो ।

अहिले यहाँ करिब ३३ हजार दर्शक बसेर खेल हेर्न सक्छन् । यसको छत विशेष ‘टेफ्लोन’ कपडाबाट बनाइएको छ । कपडालाई अड्याउन बिचमा कुनै खम्बा राखिएको छैन, जसले गर्दा दर्शकले मैदानको कुनै पनि कुनाबाट प्रस्टसँग खेल हेर्न सक्छन् । यहाँको ढल निकास प्रणाली (ड्रेनेज सिस्टम) पनि निकै आधुनिक छ, जसका कारण भारी वर्षा भए पनि खेल रोकिएको केही समयमै फेरि सुरु गर्न सकिन्छ ।
क्रिकेट लिजेन्डहरूको घर
वानखेडे स्टेडियम भारतीय क्रिकेटको मुटु मानिन्छ । यहाँ बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) को मुख्यालय पनि छ ।

मुम्बई इन्डियन्सको घरेलु मैदान समेत रहेको यो स्टेडियममा सुनिल गावस्कर, सचिन तेन्दुलकर र विजय मर्चेन्ट जस्ता महान् खेलाडीहरूको सम्मानमा स्ट्यान्डहरूको नामाकरण गरिएको छ । सन् २०१३ मा सचिन तेन्दुलकरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल यहीँ खेलेका थिए, जहाँ क्रिकेट जगत् भावुक बनेको थियो ।
यस्ता छन् स्टेडियमका अविस्मरणीय क्षण
यो त्यही मैदान हो, जहाँ सन् २०११ मा महेन्द्र सिंह धोनीले छक्का प्रहार गर्दै भारतलाई विश्वकप जिताएका थिए । त्यस्तै सन् १९८४–८५ मा रवि शास्त्रीले एकै ओभरमा ६ छक्का प्रहार गरेर विश्व कीर्तिमान रचेका थिए । यहाँको पिचले बलर र ब्याटर दुवैलाई साथ दिन्छ । समुन्द्रको नजिक भएकाले यहाँ सुरुमा फास्ट बलरलाई बल ‘स्विङ’ गर्न सजिलो हुन्छ भने खेल अघि बढ्दै जाँदा स्पिनरहरूले पनि मद्दत पाउँछन् ।
नेपालका लागि एउटा ठुलो मञ्च
वानखेडे जस्तो ऐतिहासिक र भव्य स्टेडियममा नेपालले खेल्न पाउनु गौरवको कुरा हो । विश्वकपका चारवटा खेल विशेषगरी इङ्ल्यान्ड जस्तो बलियो टोलीसँगको प्रतिस्पर्धाले नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउनेछ ।
मुम्बईको समुन्द्री हावा र वानखेडेको तालीको गडगडाहटबिच नेपाली खेलाडीहरूले आफ्नो जादु देखाउने अपेक्षा गरिएको छ । वानखेडेको यो ऐतिहासिक मैदान अब नेपाली क्रिकेटको नयाँ गाथाको साक्षी बन्न तयार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026