बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालेन शाहको सक्रियताले राजनीतिमा नयाँ आशा : रमेश खरेल

बुधबार, ०९ पुस २०८२, १३ : २०
बुधबार, ०९ पुस २०८२

सारांश

  • काठमाडौँका मेयर बालेन शाहको राजनीतिक सक्रियताले देशको राजनीतिमा सकारात्मक प्रभाव पारेको छ।
  • पूर्व डीआईजी रमेश खरेलले बालेनको नेतृत्वमा वैकल्पिक राजनीतिक शक्तिको उदय हुने संकेत गरेका छन्।
  • खरेलका अनुसार बालेनको कार्यशैली र निर्णय क्षमताले जनतामा आशा जगाएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो राजनीतिक सक्रियता र भेटघाटले मुलुकको राजनीतिमा सकारात्मक तरङ्ग पैदा गरेको छ। नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले बालेनको यो सक्रियतालाई देशको वर्तमान आवश्यकतासँग जोड्दै नयाँ र वैकल्पिक राजनीतिक शक्तिको उदयको सङ्केतका रूपमा चित्रण गरेका छन्। 

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै खरेलले बालेनको नेतृत्वमा सङ्गठित रूपमा राजनीति अगाडि बढ्नु समयको माग भएको बताएका छन्। खरेलका अनुसार बालेनले स्थानीय तहमा प्रदर्शन गरेको कार्यशैली, स्पष्ट दृष्टिकोण र निर्भीक निर्णय क्षमताले परम्परागत राजनीतिक धारबाट वाक्क भएका जनतामा ठुलो आशा जगाएको छ। 

उनले बालेनको पहलले जिम्मेवार र जनउत्तरदायी राजनीतिको जग बसाल्ने विश्वास व्यक्त गरेका छन्। राजनीतिलाई केवल पदमा पुग्ने माध्यम नभई परिणाममुखी बनाउन बालेनको भूमिका महत्त्वपूर्ण हुने खरेलको ठम्याइ छ।

खरेलले बालेनको नेतृत्वमा पार्टीमार्फत सङ्गठित भएर अघि बढ्ने विषयमा भइरहेका बहसहरूलाई जायज ठहर्‍याएका छन्। यसले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकतालाई थप बल पुर्‍याएको र पुराना शक्तिहरूलाई चुनौती दिने सामर्थ्य राख्ने विश्लेषण गरिएको छ।

यस्तो छ उनको भनाइ 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका हालका राजनीतिक भेटघाट र गतिविधिहरूले देशको राजनीतिक वृत्तमा सकारात्मक तरङ्ग पैदा गरेका छन्। वर्तमान राष्ट्रिय परिस्थितिलाई हेर्दा, उनको नेतृत्वमा पार्टीमार्फत सङ्गठित रूपमा राजनीति अगाडि बढाउने बहस केवल जायज मात्र होइन, समयको आवश्यकतासँग मेल खाने विषय पनि हो।

उनले स्थानीय तहमा देखाएको कार्यशैली, स्पष्ट दृष्टिकोण र निर्भीक निर्णय क्षमताले जनतामा स्थापित राजनीतिक धारहरूप्रति वैकल्पिक सोचको आशा जगाएको छ। यही कारण, उनको बढ्दो सक्रियतालाई देशमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिको उदयको सङ्केतका रूपमा बुझिनु स्वाभाविक देखिन्छ। विशेषतः परिवर्तनको खोजीमा रहेका नागरिकहरूका लागि बालेनको पहलले जिम्मेवार, परिणाममुखी र जनउत्तरदायी राजनीतिप्रति विश्वास पुनः जागृत गराउने सम्भावना बोकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप