बयान लिनुपर्नेलाई सरकारले रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बयान लिनुपर्ने जेनजी हत्यारा, भ्रष्टाचारीलाई सरकारले रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको बताएका छन् ।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आज (बुधबार) बसेको आजपाको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी हत्यारा, भ्रष्टाचारीसँग बसेर चिया संवाद थालेकोमा आक्रोश व्यक्त गरे ।
'अन्तरिम सरकार जेनजी हत्याराहरूको सेवामा समर्पित छ, बयान लिनुपर्नेहरुलाई रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको छ,'आजपा अध्यक्ष साहले भने, 'जेनजी आन्दोलन दमनकारी (ओली सरकार) र अपहरणकारी (सुशीला सरकार) ले युवाहरूको रगतको अवमूल्यन गरे । आज दुवै चिया चर्चामा व्यस्त हुनुहुन्छ ।'
केपी ओलीको अहङ्कारको कारण मुलुक खरानी भएको बताउँदै उनले ओलीको अझै धाक, धम्की नरोकिएको बताए । सचेत नेपाली जनताले यसलाई नजिकबाट नियालिरहेको र आगामी निर्वाचनबाट जवाफ दिने तयारीमा रहेको साहले बताए ।
तर सुशीला सरकारले चुनाव नगराउने खेलमा लागेको आशङ्का उनले व्यक्त गरे । सुशील सरकारले यदि चुनाव नगर्ने सोचेको छ भने सरकारमा बसेकाहरूले २१ फागुनपछि देश छोडेर भाग्ने दिन आउने उनले बताए ।
'संसद् पुनःस्थापनाको नाटकमञ्चन बन्द नगरे जनताले प्रतिकार गर्नेछन् । चुनावबाहेक निकासको अर्को बाटो छैन । त्यसैले तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प छैन,'आजपा अध्यक्ष साहले भने, ’सरकार आफैँ चुनावी वातावरण बनाउने कुरामा असफल भइसक्यो, नसक्ने हो भने हात उठाउन म अनुरोध गर्दछु ।'
वर्तमान सरकारले मुलुकलाई ढुङ्गे युगमा धकेलेको उनले बताए । ’सबै देशसँगको सम्बन्ध टुटाएको छ, राजदूतहरू फिर्ता गरेर त्यसको सुरुवात गर्यो उनले भने ।
अमेरिका, चीनलगायत देशले यस्तो विषम परिस्थितिमा नेपालबाट आ आफ्ना राजदूत फिर्ता बोलाउनु समीक्षाको विषय भएको टिप्पणी उनले गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण