बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले राष्ट्रियसभामा मत हाल्न नपाउने

बुधबार, ०९ पुस २०८२, १७ : २३
बुधबार, ०९ पुस २०८२

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने भएका छन् । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएका हुन् ।

विज्ञप्तिमा अदालतको आदेश बमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी  पाँच जना प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी ८ जना स्थानीय तहका पदाधिकारीले मतदान गर्न नपाउने उल्लेख छ ।

निर्वाचनमा प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी २ हजार ४३ जनाको प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । 

मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको आयोगले जनाएको छ ।

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप