बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोरङका ६ वटै क्षेत्रबाट तीन जेनजीसहित नेकपाका ७० जना सिफारिस

जेनजी रेडफोर्सकी संयोजक स्मृति तिम्सिना समानुपातिकमा सिफारिस
बुधबार, ०९ पुस २०८२, २० : ३२
बुधबार, ०९ पुस २०८२

सारांश

  • नेकपाले मोरङका ६ वटै क्षेत्रबाट राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
  • पार्टीले युवा पुस्तालाई प्राथमिकता दिँदै ३ जना जेनजी र अमनलाल मोदीको नाम २ वटा क्षेत्रबाट सिफारिस गरेको छ।
  • प्रत्यक्षतर्फ ३०, समानुपातिकमा ३७ र राष्ट्रिय सभाका लागि ३ जनाको नाम सिफारिस गरिएको छ।

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले मोरङका ६ वटै क्षेत्रबाट उम्मेदवारहरूको नाम जिल्लालाई सिफारिस गरेको छ । 

पार्टीले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका लागि गरी कुल ७० जनाको नाम सिफारिस गरेको हो । यस पटकको सिफारिसमा पार्टीले युवा पुस्तालाई विशेष प्राथमिकता दिँदै तीन जनालाई जेनजीलाई पनि समेटेको छ भने अमनलाल मोदीको नाम दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ । 

नेकपा नेता कुलप्रसाद साम्बाका अनुसार प्रत्यक्षतर्फ कुल ३० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ, जसमा क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ९ जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ८ जना र क्षेत्र नम्बर ३ बाट ६ जनाको नाम पठाइएको छ ।

क्षेत्र नम्बर ४ र ५ बाट भने क्रमशः एक–एक जनाको मात्र नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नम्बर ६ बाट ५ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । प्रत्यक्षतर्फको यस सिफारिसमा पूर्वमन्त्री अमनलाल मोदीको नाम दुईवटा क्षेत्रबाट दोहोरिएको छ । मोदीलाई क्षेत्र नम्बर ४ मा एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ६ मा पनि अन्य चार जनासँगै उनको नाम समावेश गरिएको छ । मोदी यसअघि क्षेत्र नम्बर ४ बाट दुई पटक विजयी भएका थिए । 

समावेशी र युवा प्रतिनिधित्वलाई जोड दिने उद्देश्यले यस पटक पार्टीले तीन जना जेनजी उम्मेदवारहरूलाई प्रत्यक्षतर्फको सिफारिसमा पारेको छ । जसमा क्षेत्र नम्बर १ बाट कोशीस सुवेदी, क्षेत्र नम्बर २ बाट निर्मल भण्डारी र क्षेत्र नम्बर ३ बाट सन्तोष लिम्बू रहेका छन् । राष्ट्रियसभा निर्वाचनका लागि भने पार्टीले जिल्लाबाट तीन जनाको नाम तय गरेको छ, जसमा यामबहादुर गजमेर, रामबहादुर कार्की र निर्मला रसाइली छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले कुल ३७ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रगत आधारमा हेर्दा समानुपातिकतर्फ क्षेत्र नम्बर २ र ४ बाट सबैभन्दा बढी १०–१० जनाको नाम पठाइएको छ ।

क्षेत्र नम्बर ३ बाट ७ जना, क्षेत्र नम्बर १ बाट ६ जना र क्षेत्र नम्बर ६ बाट ३ जनाको नाम समानुपातिक सूचीमा परेको छ । क्षेत्र नम्बर ५ बाट भने भोगेन्द्र यादवलाई मात्र समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । 

सिफारिस गरिएका प्रत्यक्षतर्फका ३० उम्मेदवारहरूमा क्षेत्र नम्बर १ का कुलप्रसाद साम्बादेखि क्षेत्र नम्बर ६ का प्रभात घिमिरेसम्मका नेताहरू छन् । समानुपातिकतर्फ डा. मेदनी सेडाई, तारा ओझा राजवंशी, अमृत सुब्बा, शुशिला घिमिरेलगायत ३७ जना समेटिएका छन् ।

यस्तै जेनजी रेडफोर्सकी संयोजक स्मृति तिम्सिना मोरङ क्षेत्र नम्बर ४ बाट समानुपातिक तर्फबाट सिफारिसमा परेकी छन् । क्षेत्रबाट सिफारिस भएका सबै नामलाई पुनः हेरेर केन्द्रमा पठाइने नेता साम्बाले बताए ।

हेर्नुहोस् सूची 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप