बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पेट्रोल छर्केर हत्या घटनापछि सिन्धुलीमा कर्फ्यु

बिहीबार, १० पुस २०८२, २२ : ०१
बिहीबार, १० पुस २०८२

काठमाडौँ । सिन्धुलीमा कर्फ्यु आदेश जारी गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका–४ धुराफाँटमा ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको हो ।

बिहीबार बेलुकी साढे ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई नगरपालिकाको ४ र ६ नम्बर वडामा पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो । 

हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिको घरमा बिहीबार स्थानीयले तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर स्थिति नियन्त्रणमा नआएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

गत आइतबार अपराह्न साढे चार बजेको समयमा धुराबजार बस्ने सुशीला बम्जनलाई भान्सा कोठाभित्र ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन)ले योजनाबद्ध रूपमा आगो लगाएर हत्या गरेको आरोप छ । आरोपी दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप