सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य
सारांश
- कमला पुल निर्माणको काम १४ वर्षपछि पनि सम्पन्न हुन सकेको छैन, तर आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- मन्त्रीको निर्देशनपछि पुल निर्माणको काम अघि बढेको छ र निर्माण व्यवसायीले काम गरिरहेका छन्।
- पुल निर्माण नहुँदा नागरिकले सास्ती खेप्नुपरेको छ, भने बाढीले पुलमा क्षति पुर्याएको थियो।
काठमाडौँ । ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा, धनुषा र सिराहाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ ।
आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाका साथ निर्माण व्यवसायीबाट काम भइरहेको हो । निर्माण व्ययवासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मङ्सिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।
मन्त्री घिसिङले निर्माणको आफूले नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभएमा ठेक्का तोड्ने चेतावनी दिएका थिए । साथै, उनले हाल नदी रहेको स्थानमा ह्युम पाइप राखेर अस्थायी रूपमा आवतजावतको व्यवस्था गर्न निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का व्यवस्थापन भई पाइप राख्ने काम पनि भइरहेको छ ।
ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत कमला पुल निर्माण हुन सकेको छैन । पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवम् कष्टकर यात्रा गर्नु बाध्यता छ ।
१७ असार २०७८मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये सिराहा (पूर्व)तर्फको २ वटा स्लाव हटाइएको छ भने धनुषा (पश्चिम)पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ ।
सोही बमोजिम भासिएको जगलाई दह्रो बनाएर स्लाव लिफ्टिङको काम अब सुरु हुने छ । लिफ्टिङका लागि सम्बन्धित विज्ञ प्राविधिकहरूले भ्रमण तथा निरीक्षण गरी अध्ययन गरी कार्ययोजना बनाइरहेका छन् ।
पुलको पूर्वतर्फ (सिराहा)को सबस्टक्चर काम सकिएको छ । सिराहातर्फका २ वटा स्लाव हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुइवटा जग राखी जगसहित सब स्ट्रक्चरको का सकिएको छ । अब प्लेट गडर राख्न बाँकी रहेको छ । उक्त प्लेट गडर बनाउने काम चितवनमा भइरहेको छ । गडर तयार भएपछि पुलमा लगेर जडान गरिनेछ ।
ठेक्काअन्तर्गत रहेका नदी नियन्त्रण तथा पहुँच सडकको निर्माण भने सुरु हुन सकेको छैन । गत असोजमा कमला नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन परिवर्तन भएको हुँदा डिजाइनको विषयमा छलफल भइरहेको र डिजाइनको टुङ्गो लागेपछि निर्माण सुरु हुनेछ ।
तराई-मधेसको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१को मङ्सिरमा सम्पन्न हुनुपर्ने थियो ।
तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौँ पटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ । हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ । हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण