शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य

शनिबार, १२ पुस २०८२, १० : ५२
शनिबार, १२ पुस २०८२

सारांश

  • कमला नदीमा निर्माणाधीन पुलको निर्माण कार्य आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
  • पुल निर्माणको ठेक्का सम्झौता १४ वर्षअघि भएको थियो, तर विभिन्न कारणले निर्माणमा ढिलाइ भएको थियो।
  • मन्त्री घिसिङले पुल निर्माणको अनुगमन गर्ने र तोकिएको समयमा काम नसकिए ठेक्का तोड्ने चेतावनी दिएका छन्।

काठमाडौँ । ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन कमला पुलको निर्माण धमाधम भइरहेको छ ।

आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाका साथ निर्माण व्यवसायीबाट काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी  निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले गत ५ मङ्सिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

मन्त्री घिसिङले निर्माणको आफूले नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् । साथै, उनले हाल नदी रहेको स्थानमा ह्युम पाइप राखेर अस्थायी रूपमा आवतजावतको व्यवस्था गर्न निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का व्यवस्थापन भई पाइप राख्ने काम पनि भइरहेको छ ।

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत कमला पुल निर्माण हुन सकेको छैन । पुल नबन्दा नागरिकले सास्ती खेप्नुपरेको, सवारी साधन लामो रुट प्रयोग गरी आवत-जावत गर्न बाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवम् कष्टकर यात्रा गर्नु बाध्यता छ । १७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलको दुई वटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो ।

क्षति पुगेका स्लावमध्ये सिराहा (पूर्व) तर्फको २ वटा स्लाव हटाइएको छ भने धनुषा (पश्चिम) पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ । सोही बमोजिम भासिएको जगलाई दह्रो बनाएर स्लाव लिफ्टिङको काम अब सुरु हुनेछ । लिफ्टिङका लागि सम्बन्धित विज्ञ प्राविधिकहरूले भ्रमण तथा निरीक्षण गरी अध्ययन गरी कार्ययोजना बनाइरहेका छन् । पुलको पूर्वतर्फ (सिराहा) को सबस्टक्चर काम सकिएको छ ।

सिराहातर्फका २ वटा स्लाव हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुई वटा जग राखी जगसहित सब स्ट्रक्चरको काम सकिएको छ । अब प्लेट गडर राख्न बाँकी रहेको छ । उक्त प्लेट गडर बनाउने काम चितवनमा भइरहेको छ । गडर तयार भएपछि पुलमा लगेर जडान गरिनेछ । 

ठेक्काअन्तर्गत रहेका नदी नियन्त्रण तथा पहुँच सडकको  निर्माण भने सुरु हुन सकेको छैन । गत असोजमा कमला नदीमा आएको बाढी पछि नदीको धार परिवर्तन परिवर्तन भएको हुँदा डिजाइनको  विषयमा छलफल भइरहेको र डिजाइनको टुङ्गो लागेपछि निर्माण सुरु हुनेछ ।

तराई मधेसको लाइफ लाइनका रूपमा रहेको  हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहि) मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१ को मङ्सिरमा सम्पन्न हुनुपर्ने थियो ।

तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौँ पटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ । हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ । हालसम्म २० करोड ४३ लाख (भ्याट सहित) भुक्तानी भइसकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप