पूर्वजनमुक्ति सेनाका दुई लडाकु बने उम्मेदवार, भिड्नेछन् कांग्रेस–एमालेसँग
सारांश
- सुर्खेतमा नेकपाले दुई पूर्व लडाकुलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।
- क्षेत्र नम्बर १ बाट जीतबहादुर राना र क्षेत्र नम्बर २ बाट झकबहादुर मल्ल उम्मेदवार सिफारिस भएका छन्।
- दुवै नेता १० वर्षे सशस्त्र युद्धका बेला जनमुक्ति सेनाका लडाकु थिए।
सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई जना युद्धकालीन लडाकुलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।
शुक्रबारदेखि बसेको जिल्ला कमिटीको बैठकबाट बृहत् छलफलपश्चात पूर्वजनमुक्ति सेनाका लडाकुलाई उम्मेदवार बनाइएको हो । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर हाल नेकपाका रूपमा क्रियाशील यो पार्टीले यहाँ माओवादी धारकै दुई युवा नेतालाई सर्वसम्मत उम्मेदवार बनाएको एक नेताले बताए ।
‘जनतामा सकारात्मक सन्देश जाओस् भनेर पनि प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाइएको हो,’ ती नेताले भने ।
दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेत क्षेत्र नम्बर १ मा नेकपाको तर्फबाट जीतबहादुर रानालाई एकल सिफारिस गरिएको छ भने क्षेत्र नम्बर २ बाट झकबहादुर मल्ल ‘सुदीप’लाई । अब नेकपाबाट यी दुईले नै नेकपा एमाले, नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि राना माओवादीको सुर्खेत जिल्ला संयोजक हुन् भने मल्ल इन्चार्ज हुन् ।
यी दुवै नेताहरू १० वर्षे सशस्त्र युद्धका बेला जनमुक्ति सेनाका लडाकु हुन् । मल्ल माओवादी केन्द्र हुँदा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । सशस्त्र युद्धका बेला सुर्खेत जेलब्रेकका कमान्डर हुन् । युद्धकालको सुर्खेत जेलब्रेक घटना निकै चर्चित छ । सानै उमेरमा पूर्णकालीन माओवादी भएर थुप्रै युद्ध लडेका मल्लले युद्धकै क्रममा आफ्नो जीवनसाथी गुमाएका थिए ।
युवाहरूमाझ लोकप्रिय मल्ल पहिलो पटक संसदीय चुनावमा भाग लिन लागेका हुन् । उनी बौद्धिक युवा नेताका रूपमा परिचित छन् । ०७४ देखि उम्मेदवार नउठाएको क्षेत्र नम्बर २ मा माओवादीका तर्फबाट मल्लको एकल उम्मेदवारी परेसँगै पश्चिमको राजनीतिलाई विशेष रूपमा हेरिएको छ ।
यो क्षेत्रबाट पहिलो संविधान सभाको निर्वाचनमा माओवादीका तर्फबाट नरबहादुर विष्टले चुनाव जितेका थिए । २०७० को दोस्रो संविधान सभा चुनावमा उनी पराजित भए । ०७४ मा एमाले–माओवादीबीच गठबन्धन हुँदा एमालेका नवराज रावतले टिकट पाएका थिए । उनले चुनाव जितेका थिए । ०७९ को निर्वाचनमा माओवादीले पुनः कांग्रेससँगको गठबन्धनमा चुनाव लड्दा कांग्रेसका हृदयराम थानीले टिकट पाए ।
संघीयतापछिको दुईवटै निर्वाचनमा परीक्षण हुन नपाएको माओवादी आगामी फागुनमा हुने निर्वाचनमा भने एकीकृत समाजवादीसँग मिलेर नेकपाका रूपमा भाग लिन लागेको हो ।
यस्तै, क्षेत्र नम्बर १ मा पूर्व गृह तथा उपप्रधानमन्त्रीसमेत रहिसकेका कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग यो पटक नेकपाले प्रतिस्पर्धा गर्ने भएको छ । खड्का पनि उम्मेदवारका लागि एकल सिफारिस भइसकेका छन् । एमालेले भने उम्मेदवार छनोट गरेको छैन ।
यो क्षेत्रमा साविक माओवादीले ०७४ र ०७९ को प्रतिनिधि सभा निर्वाचनमा चुनाव लडेको छैन । ०७४ मा एमालेका ध्रुव शाहीलाई सघाएको माओवादीलाई ०७९ मा कांग्रेस नेता खड्कालाई नै बोकेर हिँड्नुपरेको थियो । नेकपाबाट उम्मेदवार बनाइएका जीतबहादुर राना ०४७ मा मालेको सदस्यता लिएर विद्यार्थी राजनीतिबाट उदाएका हुन् । ०५८ सालमा माओवादीमा प्रवेश गरेका उनी अवलचिङको जनसरकार प्रमुख भए । त्यसपछि सैन्य ब्युरो सदस्य हुँदै जनमुक्ति सेनाको कम्पनी कमिसारसम्म भएर लडेका थिए ।
कर्णालीलाई माओवादीको आधार इलाका मानिए पनि राजधानीसमेत रहेको सुर्खेतमा सांगठनिक तथा जनमतका हिसाबले कमजोर मानिन्छ । यद्यपि त्यसको परीक्षण फागुन २१ को चुनावले गर्ने साविक माओवादी नेताहरू बताउँछन् ।
यहाँ साविक एकीकृत समाजवादीको खासै जनमत छैन । एमाले विभाजनका बेला समाजवादीमा लागेका धेरैजसो नेताहरू एमालेमा फर्किसकेका छन् ।
समानुपातिकमा भने आकांक्षीको लर्को
प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाए पनि समानुपातिकतर्फ भने आकांक्षीको लर्को नै छ । साविक माओवादीका जिल्ला इन्चार्ज झकबहादुर मल्लका अनुसार क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ १० जना र क्षेत्र नम्बर २ बाट ९ जनाको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर १ बाट सिफारिस हुनेमा दलिततर्फबाट मोती विक, भक्तबहादुर केसी, जयबहादुर सुनार, निरुता रसाइली, खस आर्य कोटामा अमृतप्रसाद जैसी, भूपेन्द्रबहादुर रावत, उदिराम डाँगी, आदिवासी जनजातिबाट गोकर्णबहादुर गुरुङ, श्यामप्रकाश हुन्चिङ र महिलाबाट देउकली थापा रहेका छन् ।
यस्तै, क्षेत्र नम्बर २ बाट दलिततर्फ अम्बरबहादुर दमाई, धनबहादुर विक, भुमिसरा टमटास खसआर्यतर्फ केदारकुमार कँडेलस महिलातर्फ हरिमाया शर्मा, डिलु कुमारी खड्का, शान्ति ढकाल र धन कुमारी जिसीको नाम सिफारिस गरिएको छ । यस्तै आदिवासी जनजातिबाट टकबहादुर घर्तीको नाम सिफारिस गरिएको छ । समानुपातिक सूचीमा साविक एकीकृत समाजवादीका केही महिला नेतृको नाम पनि समावेश छ । कोही सहिद परिवारका छन् भने कोही लडाकुहरू पनि समावेश छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण