निर्वाचन आचारसंहिता : सामाजिक सञ्जालदेखि पहिरनसम्ममा कडाइ, उम्मेदवारी रद्द गर्नेसम्मको चेतावनी
सारांश
- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने चुनावका लागि आचारसंहिता, २०८२ स्वीकृत गरेको छ।
- आचारसंहिताले सामाजिक सञ्जालको प्रयोग र प्रचार सामग्रीमा कडाइ गर्दै चुनाव प्रचारमा प्रयोग हुने पहिरनमा प्रतिबन्ध लगाएको छ।
- आयोगले आचारसंहिताको उल्लंघन गर्नेलाई स्पष्टीकरण, जरिवाना र उम्मेदवारी रद्दसम्मको कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन ‘निर्वाचन आचारसंहिता, २०८२’ स्वीकृत गरेको छ। आयोगले आइतबार जारी गरेको विज्ञप्तिअनुसार यसपटकको चुनावमा भड्किलो प्रचारप्रसार रोक्न सामाजिक सञ्जालको प्रयोगदेखि प्रचार सामग्रीसम्ममा विशेष कडाइ गरिएको छ।
आचारसंहिता लागु भएसँगै अब राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारका क्रममा आफ्ना निर्वाचन चिह्न वा झन्डा अंकित पहिरन प्रयोग गर्न पाउने छैनन्। आयोगले लोगो, स्टिकर, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क, लकेट वा झोला जस्ता सांकेतिक सामग्रीहरू बनाउन, बोक्न र लगाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
यसपटकको आचारसंहितामा सूचना प्रविधिको दुरुपयोग रोक्न सामाजिक सञ्जालको नियमनलाई प्राथमिकतामा राखिएको छ। आयोगका अनुसार कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्विटर, युट्युब जस्ता माध्यम प्रयोग गरी भ्रामक, द्वेषपूर्ण वा चरित्र हत्या हुने किसिमका सामग्री उत्पादन र सेयर गर्न पाइने छैन। साथै, गलत सूचना प्रवाह गराउने उद्देश्यले ‘फेक एकाउन्ट’ वा साइट सञ्चालन गर्न समेत निषेध गरिएको छ।
यद्यपि, आयोगले राजनीतिक दल र उम्मेदवारलाई आफ्ना आधिकारिक सामाजिक सञ्जाल वा पेजमार्फत आफ्ना सिद्धान्त, विचार, प्रतिबद्धता र कार्ययोजनाहरू मर्यादित ढङ्गले प्रचारप्रसार गर्न भने रोक लगाएको छैन।
निर्वाचन प्रचारप्रसारलाई कम खर्चिलो र अनुशासित बनाउन आमसभा, जुलुस र कोणसभाहरूमा पनि नियमन गरिएको छ। तोकिएको आकार र संख्यामा मात्र दलको झन्डा प्रयोग गर्न पाइनेछ भने निर्वाचन अधिकृतको अनुमति लिएर मात्र सवारी साधनको प्रयोग गर्नुपर्नेछ। आयोगले प्रचारमा बालबालिकाको प्रयोग र सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न सचेत गराएको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आचारसंहिताको उल्लङ्घन भएमा आयोगले कडा कारबाही गर्ने तयारी गरेको छ। आचारसंहिता विपरित कार्य गरेको पाइएमा स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने र गम्भीर उल्लङ्घनको अवस्थामा उम्मेदवारको उम्मेदवारी नै रद्द हुनेसम्मको कानुनी कारबाही अघि बढाइने आयोगले चेतावनी दिएको छ।
निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले सरकार, सुरक्षा निकाय, सञ्चार माध्यम, गैरसरकारी संस्था तथा आम मतदाता सबैलाई आचारसंहिताको पूर्ण पालना गर्न अपिल गरेको छ। अनुगमनका लागि केन्द्रदेखि जिल्ला तहसम्म विशेष संयन्त्रहरू परिचालन गरिने आयोगले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण