मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बङ्गलादेशका विद्रोही विद्यार्थी नेता र इस्लामवादी दलबिच चुनावी गठबन्धन

आइतबार, १३ पुस २०८२, २२ : २०
आइतबार, १३ पुस २०८२

ढाका । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीले आइतबार गत वर्षको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको राजनीतिक सङ्गठन (एनसिपी) सँग सिट बाँडफाँडका लागि सम्झौताको घोषणा गरेको छ । केही विद्यार्थी नेताहरूले गठबन्धनको विरोध गरेका छन् ।

सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि हुन लागेको पहिलो चुनावबाट जमात–ए–इस्लामीले बहुमत ल्याउने र सरकारको नेतृत्व लिन तम्तयार बनेको देखिन्छ ।

पूर्वप्रधानमन्त्री हसिनाको १५ वर्षे निरंकुश शासनमा दबाइएका इस्लामिक आन्दोलनहरू उनको पतनपछि पुनः सङ्गठित भएका छन् र जमातले फेब्रुअरी १२ को मतदानलाई दशकौँको सबैभन्दा ठूलो अवसरको रूपमा हेरेको पाइन्छ ।

आइतबार जमातले लामो वार्तापछि विद्यार्थी नेतृत्वको नेशनल सिटिजन पार्टीसँग सम्झौता गरेको बताएको छ, जसमा एनसिपीका केही सदस्यहरूले यस कदमको विरोधसमेत गरेका छन् ।

जमातका नेता शफिकुर रहमानले सानो लिबरल डेमोक्र्याटिक पार्टीसँग छुट्टै सम्झौताको घोषणा गरेका छन् । उनले भने, “हामी गठबन्धनमा आठ दल थियौँ । अहिले दुई नयाँ दल हामीमा आएका छन्।”

जमातको नेतृत्वमा रहेको गठबन्धनमा इस्लामिक धर्मप्रति विशेष वफादार राजनीतिक दलहरूको प्रभुत्व छ, जसमध्ये अधिकांशले अघिल्लो संसद्हरूमा थोरै मात्र सिट जित्न सफल भएका थिए ।

करिब १७ करोड जनसङ्ख्या भएको बहुसङ्ख्यक मुस्लिम राष्ट्र बङ्गलादेशमा सन् २०२४ को विद्रोहपछि देशमा राजनीतिक अस्तव्यस्तताको अवस्था रहेको छ। इस्लामवादी शक्तिहरूको पुनरुत्थानले जनसङ्ख्याको १० प्रतिशत भन्दा कम रहेको सुफी मुस्लिम र हिन्दूसहितका समूहमा चिन्ता पैदा गरेको छ।

कट्टरपन्थी इस्लामिक समूहहरूले सङ्गीत र नाटक महोत्सव, महिला फुटबल खेल र चङ्गा उडाउने उत्सवसहित सांस्कृतिक गतिविधिहरूमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।

जमातसँग गठबन्धन हुनुअघि एनसिपीका कम्तीमा ३० जना सदस्यले पार्टी प्रमुख नाहिद इस्लामलाई पत्र लेख्दै सहमतिको विरोध गरेका थिए । शनिबार एक पत्रमा उनीहरूले एनसिपीको विचारधारा र लोकतान्त्रिक मूल्यहरूप्रति उसको प्रतिबद्धता जमातको भन्दा भिन्न रहेको बताएका छन् ।

एनसिपीको टिकटमा चुनाव लड्न खोजेकी तस्नीम जाराले शनिबार पार्टीबाट राजीनामा दिनुभएको छ भने आइतबार अर्का आकाङ्क्षी उम्मेदवार तस्नुवा जाबिनले पनि राजीनामा दिएकी छन् ।

पार्टीकी वरिष्ठ नेता सामन्था शर्मिनले आइतबार एक सामाजिक सञ्जालमा लखेकी छन्, “इस्लामवादीहरूसँगको गठबन्धनका लागि पार्टीले ठूलो मूल्य चुकाउनु पर्नेछ।” लोकतान्त्रिक, समतामूलक र जनमुखी हुने मध्यमार्गी राजनीतिको वाचा गर्दै गत मार्चमा एनसिपीको गठन भएको थियो ।

पार्टीले जमातसँगको गठबन्धनको बारेमा कुनै विज्ञप्ति जारी गरेको छैन। हसिनाको अवामी लिगलाई निर्वाचनमा सहभागी हुनबाट प्रतिबन्ध लगाएपछि बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले चुनाव जित्ने अनुमान गरिएको छ ।

बिएनपीका कार्यबाहक अध्यक्ष तारिक रहमान १७ वर्ष बेलायतमा निर्वासनमा बसेर बिहीबार स्वदेश फर्किएपछि उनको दलमा ऊर्जा पुगेको देखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप