बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीलंकामाथि भारतीय महिला टोलीको ऐतिहासिक जित

सोमबार, १४ पुस २०८२, ०६ : १८
सोमबार, १४ पुस २०८२

सारांश

  • भारतीय महिला क्रिकेट टोलीले श्रीलंकालाई टी-२० अन्तर्राष्ट्रिय खेलमा ३० रनले पराजित गर्यो, र शृङ्खलामा ४-० को अग्रता लियो।
  • भारतले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर २२१ रन बनायो, जसमा स्मृति मन्धाना र शेफाली वर्माको उत्कृष्ट साझेदारी रह्यो।
  • श्रीलंकाका लागि चमारी अटापट्टुले अर्धशतक बनाए पनि, भारतले १९१ रनमा रोक्दै खेल जित्यो।

तिरुवनन्तपुरम । भारतीय महिला क्रिकेट टोलीले टी-२० अन्तर्राष्ट्रियमा आफ्नो अहिलेसम्मकै उच्च स्कोर खडा गर्दै श्रीलंकामाथि सानदार जित दर्ता गरेको छ। तिरुवनन्तपुरममा आइतबार भएको चौथो खेलमा श्रीलंकालाई ३० रनले हराउँदै भारतले पाँच खेलको शृङ्खलामा ४-० को अपराजित अग्रता समेत लिएको छ। 

टस जितेर बलिङ रोजेको श्रीलंका विरुद्ध भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२१ रनको विशाल योगफल तयार पारेको थियो। भारतको यो विशाल स्कोरको जग ओपनरद्वय स्मृति मन्धाना र शेफाली वर्माले बसालेका थिए। 

यी दुईबिच पहिलो विकेटका लागि १६२ रनको लोभलाग्दो साझेदारी भयो। शेफालीले यो शृङ्खलामा लगातार तेस्रो अर्धशतक प्रहार गर्दै ७९ रन बनाइन् भने मन्धानाले मात्र ३५ बलमा अर्धशतक पूरा गर्दै ८० रनको योगदान दिइन्। 

यसै पारीका क्रममा मन्धानाले अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने चौथो महिला क्रिकेटरको उपलब्धि समेत आफ्नो नाममा गरिन्। अन्त्यतिर ऋचा घोषले मात्र १६ बलमा नटआउट ४० रन र कप्तान हरमनप्रीत कौरले १६ रन थपेपछि भारतले नयाँ उचाइ छोएको थियो।

२२२ रनको कठिन लक्ष्य पछ्याएको श्रीलंकाले पनि निकै आक्रामक सुरुवात गरेको थियो। ५ ओभरमै ५८ रन जोडेको श्रीलंकाका लागि कप्तान चमारी अटापट्टुले अर्धशतक (५२ रन) प्रहार गरिन्। 

हसिनी परेराले ३३ र इमेशा दुलानीले २९ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए पनि मध्यम र तल्लो क्रमका ब्याटरले आवश्यक रन गति कायम राख्न सकेनन्। श्रीलंकाले ६ विकेटको क्षतिमा १९१ रन मात्र बनाउन सक्यो। हारका बाबजुद टी-२० मा श्रीलंकाको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो।

बलिङतर्फ भारतका लागि वैष्णवी शर्मा र अरुन्धती रेड्डीले २-२ विकेट लिए भने श्री चरणीले १ विकेट हात पारिन्। यसअघिका तीनवटै खेल जितेर शृङ्खला कब्जा गरिसकेको भारतले यो जितसँगै आफ्नो दबदबा कायम राखेको छ। 

शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३० मा तिरुवनन्तपुरममै हुनेछ, जहाँ भारतले क्लिन स्वीप गर्ने लक्ष्य राख्नेछ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप