शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दुई मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र

मङ्गलबार, १५ पुस २०८२, १४ : ४६
मङ्गलबार, १५ पुस २०८२

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकामा निर्माणाधीन दुई वटा मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र परेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका दुई पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेका हुन् ।

गौरीगङ्गा–५ र ८ बालुवाटार जोड्ने कटैनी खोला तथा वडा नम्बर १ र २ जोड्ने चौमाला खोलामा निर्माणाधीन दुई वटा मोटरेबल पक्की पुलको काम अलपत्र परेको हो । 

वि‍.सं. २०७७ असार ३१ गते पूर्वाधार विकास कार्यालयले वाइपी कन्स्ट्रक्सन काठमाडौँसँग तीन वर्षमा सम्पन्न गर्ने गरी दुई मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको थियो । 

कटैनी खोलाको पुलका लागि रु पाँच करोड २८ लाख र चौमाला खोलाको पुल निर्माणका लागि रु सात करोड २३ लाख ८० हजारको लागतमा सम्झौता गरिएको थियो । 

ठेकेदार कम्पनीले हालसम्म कटैनी पुलका लागि रु तीन करोड ८४ लाख र चौमाला पुलका लागि रु दुई करोड ५९ लाख भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

तीन वर्षमा सम्पन्न गर्नुपर्ने भए पनि पाँच वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अघि बढ्न नसेपछि ठेकेदार कम्पनीले म्याद थप्दै आएको जनाइएको छ । 

पूर्वाधार विकास कार्यालयका इन्जिनियर सूर्यप्रकाश जोशीका अनुसार कटैनी खोलाको पुलका लागि २०८२ साल मङ्सिरसम्म र चौमाला पुलका लागि २०८३ साल असारसम्म म्याद थपिएको भए पनि हालसम्म निर्माण कार्यले गति लिन सकेको छैन । 

चौमाला खोलामा निर्माणाधीन पुलको समयावधि बाँकी रहेको भए पनि कटैनी खोलाको पुलको समयावधि मङ्सिरमा समाप्त भएपछि ठेकेदार कम्पनीले पुनः म्याद थपका लागि पूर्वाधार विकास कार्यालयमा निवेदन दिएको जोशीको भनाइ छ । 

पुल निर्माण नहुँदा वर्षायाममा खोला तर्न स्थानीयवासीले समस्या झेल्दै आउनु परेको स्थानीय सागर थापाले बताए । खोलामा पानी बढेपछि स्थानीयले काठको अस्थायी पुल बनाएर जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

उक्त दुई पुल नबन्दा वर्षायाममा तीन किलोमिटर वैकल्पिक बाटो प्रयोग गरेर नगरपालिका पुग्नुपर्ने सेवाग्राहीको बाध्यता रहेको थापाले बताए ।

प्रदेश सरकार र निर्माण कम्पनीको लापरबाहीले पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारबाही गर्नुपर्ने स्थानीयको माग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप