शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वृद्ध उमेरमा फिटनेस: फिजियोथेरापिस्टको सुपरभिजन किन आवश्यक छ ?

मङ्गलबार, १५ पुस २०८२, १६ : ३९
मङ्गलबार, १५ पुस २०८२

नेपाली समाजमा वृद्ध उमेर भन्नासाथ "अब आराम गर्ने बेला भयो" भन्ने सोच अझै पनि बलियो जरा गाडेर बसेको छ। तर, आधुनिक चिकित्सा विज्ञानको मत यसभन्दा नितान्त फरक छ। विज्ञान भन्छ— "वृद्ध उमेरमा सही तरिकाले गरिएको व्यायाम नै स्वस्थ, आत्मनिर्भर र सम्मानजनक जीवनको प्रमुख आधार हो।"

यद्यपि, यहाँ एउटा गम्भीर प्रश्न खडा हुन्छ— के वृद्ध व्यक्तिले जुनसुकै व्यायाम, जुनसुकै जिममा गएर सुरक्षित रूपमा गर्न सक्छन् ? यसको स्पष्ट उत्तर हो— सक्दैनन्। वृद्ध उमेरमा फिटनेस 'विलासिता' होइन, 'आवश्यकता' हो। तर, यो व्यायाम अन्धाधुन्ध नभई वैज्ञानिक, सुरक्षित र एक दक्ष फिजियोथेरापिस्टको प्रत्यक्ष निगरानीमा हुनु जरुरी छ।

  • उमेरसँगै शरीरमा आउने परिवर्तनहरू

६० वर्ष पार गरेपछि मानव शरीरमा स्वाभाविक रूपमा विभिन्न परिवर्तनहरू देखिन थाल्छन्:

  • मांसपेशीहरू क्रमशः कमजोर हुँदै जानु।
  • हड्डीको घनत्व घट्नु।
  • शरीरको सन्तुलन बिग्रनु।
  • घुँडा, ढाड र काँध दुख्ने समस्या बढ्नु।

सामान्य काममा पनि छिटो थकाइ लाग्नु र लड्ने डर हुनु।

यी परिवर्तनहरूले गर्दा लड्ने जोखिम बढ्ने, हिँडडुलमा कठिनाइ हुने, औषधिमा निर्भरता बढ्ने र अन्ततः दैनिकीका लागि अरूमा आश्रित हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ।

‘जिम जानु’ र ‘फिजियो सुपरभाइज्ड फिटनेस’ मा के फरक छ ?

आजकल धेरै वृद्ध बुवाआमाहरू जिम जान चाहनुहुन्छ, जुन अत्यन्त सकारात्मक संकेत हो। तर, समस्या यहाँनेर छ:

सबै व्यायाम सबै उमेर समूहका लागि सुरक्षित हुँदैनन्।

युट्युब हेरेर वा साथीभाइको लहलहैमा सिकिएको व्यायाम वृद्ध शरीरका लागि जोखिमपूर्ण हुन सक्छ।

रक्तचाप (BP), मधुमेह, जोर्नी खिइएको समस्या, मुटु रोग वा अन्य जोर्नीको समस्या जाँच नगरी गरिने व्यायाम घातक हुन सक्छ।

यसर्थ, यहाँ फिजियोथेरापिस्टको भूमिका अपरिहार्य हुन्छ।

फिजियोथेरापिस्टको निगरानीमा हुने फिटनेस 

फिजियोथेरापिस्टको सुपरभिजनमा हुने फिटनेस र सामान्य जिममा आकाश-पातालको फरक छ। फिजियोथेरापिस्टले वृद्ध व्यक्तिको लागि व्यायाम योजना बनाउनुअघि निम्न कुराहरूको विस्तृत मूल्याङ्कन गर्छन्:

  • जोर्नी र मांसपेशीको वर्तमान अवस्था।
  • शारीरिक सन्तुलन र हिँडाइको ढाँचा।
  • मुटु र फोक्सोको सहनशीलता।
  • पुराना चोटपटक, रोग र हाल सेवन गरिरहेको औषधिको प्रभाव।

यी सबै कुराको विश्लेषण गरेर मात्र हरेक व्यक्तिका लागि नितान्त व्यक्तिगत फिटनेस कार्यक्रम तयार गरिन्छ।

  • वृद्ध उमेरका लागि सुरक्षित फिटनेसका ४ मुख्य आधारहरू

फिजियोथेरापिस्टको निगरानीमा गरिने व्यायामले मुख्यतया निम्न चार पक्षलाई समेट्छ:

१. शक्ति- यसले दैनिक काम गर्न सक्ने क्षमता बढाउँछ।

२. सन्तुलन- यसले लड्ने जोखिमलाई न्यूनीकरण गर्छ।

३. लचिलोपन- यसले जोर्नीको कडापन घटाउनुका साथै बिहान उठ्दा हुने जडता कम गर्छ।

४. सहनशीलता- हिँड्ने, साइकल चलाउने वा हल्का कार्डियो अभ्यासले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।

फिटनेसको प्रतिफल: आत्मनिर्भर जीवन

वैज्ञानिक ढंगले गरिएको फिटनेसको फाइदा शारीरिक मात्र होइन, मानसिक र सामाजिक पनि छ।

औषधिको आवश्यकता र निर्भरता कम हुन्छ।

जीवन आत्मनिर्भर बन्छ, अरूको सहारा लिनुपर्दैन।

आत्मविश्वास बढ्छ र मानसिक स्वास्थ्यमा सुधार आउँछ।

सबैभन्दा ठूलो कुरा, तपाईं परिवारमा 'बोझ' होइन, एउटा 'प्रेरणा' बन्न सक्नुहुन्छ।

लेखक वरिष्ठ कन्सल्टेन्ट फिजियोथेरापिस्ट - MPT, COMT(UK), CDNT, CMRT हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सम्बन्ध तण्डुकार
सम्बन्ध तण्डुकार
लेखकबाट थप