बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

मङ्गलबार, १५ पुस २०८२, १९ : ४८
मङ्गलबार, १५ पुस २०८२

ललितपुर । पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा भुसालले आगामी निर्वाचनमार्फत संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेकपा समर्थित उद्योगी व्यवसायीको सङ्गठन नेपाल उद्योग व्यापार महासङ्घ ललितपुरको आज यहाँ आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले जेनजी आन्दोलनमा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुपरेको र भदौ २४ गतेको विध्वंसात्मक घटनाले सङ्कट निम्त्याएको बताउनुभयो । अब सङ्कट व्यवस्थापनको उपयुक्त माध्यम निर्वाचन नै भएको उनको भनाइ थियो ।

“सुशासन माग गर्दै भएको आन्दोलनका क्रममा २३ गते अप्रिय घटना भयो, २४ गते विध्वंस निम्त्याइयो । त्यो विध्वंसले अर्बौंको क्षति भएको छ । त्यसबाट सबै मर्माहत छौँ । देश अर्को दुर्घटनामा पर्ने हो कि भन्न चिन्ता छ । त्यसैले सबै समस्या समाधानका लागि अब फागुन २१ को निर्वाचन नै विकल्प हो”, नेतृ भुसालले भने ।

उनले निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने र त्यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित), महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारी, महासङ्घ बागमती प्रदेशका महासचिव सन्तोष पौडेल, महासङ्घ ललितपुरका अध्यक्ष राज घिमिरेलगायतले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप