शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वअस्ट्रेलियाली क्रिकेटर ड्यामिन मार्टिन गम्भीर बिरामी, ‘इन्ड्युस्ड कोमा’ मा राखियो

बुधबार, १६ पुस २०८२, १० : ३९
बुधबार, १६ पुस २०८२

सारांश

  • अस्ट्रेलियाका पूर्व क्रिकेटर ड्यामिन मार्टिनलाई मेनिन्जाइटिस भएपछि अस्पताल भर्ना गरिएको छ र उनी कोमामा छन्।
  • मार्टिन सन् १९९२ देखि २००६ सम्म ६७ टेस्ट खेल्दै ४,४०६ रन बनाएका थिए र उनको अवस्था गम्भीर रहेको छ।
  • क्रिकेट जगतका हस्तीहरूले उनको स्वास्थ्य लाभको कामना गरेका छन् र उनको उपचारमा कुनै कमी राखिएको छैन।

क्विन्सल्याण्ड । अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर ड्यामिन मार्टिन गम्भीर बिरामी परेपछि उनलाई अस्पताल भर्ना गरिएको छ। ५४ वर्षीय मार्टिनलाई मस्तिष्क र मेरुदण्डलाई ढाक्ने झिल्लीको इन्फ्लेमेसन हुने ‘मेनिन्जाइटिस’ रोग देखिएपछि चिकित्सकहरूले ‘इन्ड्युस्ड कोमा’ (औषधिमार्फत बेहोस बनाउने अवस्था) मा राखेर उपचार गरिरहेका छन्। 

बक्सिङ डे (डिसेम्बर २६) का दिन बिरामी परेका उनलाई क्विन्सल्याण्डको एक अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। मार्टिनको अवस्था गम्भीर रहेको र उनी अहिले जीवनकै कठिन लडाइँमा रहेको पूर्वएएफएल खेलाडी ब्र्याड हार्डीले जानकारी दिएका छन्। 

मार्टिनका पूर्व सहकर्मी एडम गिलक्रिस्टले परिवारको तर्फबाट विज्ञप्ति जारी गर्दै उनको उपचारमा कुनै कसर बाँकी नराखिएको र सबैको प्रार्थनाको अपेक्षा गरिएको बताएका छन्। यस्तै, ड्यारेन लेहम्यान र क्रिकेट अस्ट्रेलियाका प्रमुख टोड ग्रीनबर्ग लगायत खेल जगतका हस्तीहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

क्रिसमसको पूर्वसन्ध्यासम्म सामाजिक सञ्जालमा सक्रिय रहँदै जारी एसेज सिरिजप्रति उत्साह व्यक्त गरिरहेका मार्टिन अचानक बिरामी परेपछि क्रिकेट विश्व स्तब्ध बनेको छ। सन् १९९२ मा २१ वर्षको उमेरमा वेस्ट इन्डिजविरुद्ध टेस्ट डेब्यु गरेका मार्टिन अस्ट्रेलियाका निकै प्रतिभाशाली ब्याटर मानिन्छन्। उनले सन् १९९२ देखि २००६ सम्म ६७ टेस्ट खेल्दै ४,४०६ रन बनाएका छन्, जसमा उनको औसत ४६.३७ रहेको छ।

मार्टिनको करियरको महत्त्वपूर्ण उपलब्धिमध्ये सन् २००३ को विश्वकप फाइनलमा भारतविरुद्धको अविजित ८८ रनको इनिङलाई सम्झिने गरिन्छ, जुन उनले औँला भाँचिएको अवस्थामा खेलेका थिए। यस्तै, सन् २००४ मा भारतमा भएको बोर्डर-गावस्कर ट्रफीमा अस्ट्रेलियालाई ऐतिहासिक जित दिलाउन उनी ‘प्लेयर अफ द सिरिज’ बनेका थिए। उनले सन् २००६ को एशेज सिरिजकै बिचमा अचानक संन्यास घोषणा गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप