मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

निजी क्षेत्रको सुरक्षा र लगानीमैत्री वातावरण बनाउन सरकार तयार छ : अर्थमन्त्री

बुधबार, १६ पुस २०८२, १७ : ५१
बुधबार, १६ पुस २०८२

सारांश

  • सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिनको रूपमा स्वीकार गर्दै लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाएको छ।
  • अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको समस्या समाधान गर्न प्राथमिकता दिने बताएका छन्।
  • मन्त्री खनालले निजी क्षेत्रको विकासलाई देशको विकासको रूपमा व्याख्या गरे।

काठमाडौँ । सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिनको रूपमा स्वीकार गर्दै सुरक्षा र लगानीमैत्री वातावरण निर्माण गर्न आफूहरू तयार रहेको बताएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको “शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले यस्तो धारणा राखेका हुन् । 

अर्थ मन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएलगत्तै निजी क्षेत्रको समस्या समाधान गर्न प्राथमिकता दिएको बताए । 

उनले भने, 'सरकार बनेको छोटो समयमै हामीले निजी क्षेत्रका छाता सङ्गठनका अध्यक्षहरूलाई बोलाएर छलफल गर्‍यौँ। निजी क्षेत्रमाथि हुने कुनै पनि प्रकारका आक्रमण वा क्षति भविष्यमा नदोहोरिने वातावरण बनाउन सरकार सचेत छ ।' 

अर्थ मन्त्री खनालले पछिल्लो समय न्यून मूल्यवृद्धि, न्यून ब्याजदर, पर्याप्त तरलता र उच्च विदेशी मुद्रा सञ्चिति जस्ता आर्थिक सूचकहरू सकारात्मक रहेको दाबी गरे ।

यद्यपि, यी सकारात्मक सूचकका बाबजुद लगानीको दर बढ्न नसक्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो। उनले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राष्ट्रकै सम्पत्ति भएको उल्लेख गर्दै भने, 'निजी क्षेत्रले कमाउने नाफाबाटै सरकारले राजस्व पाउने हो, कर्मचारीले बोनस पाउने हुन् र समाजले सेवा पाउने हो। त्यसैले निजी क्षेत्रको विकास नै देशको विकास हो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप