बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

बिहीबार, १७ पुस २०८२, १४ : ५६
बिहीबार, १७ पुस २०८२

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगले डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षाको लागि सरकारको ध्यानाकर्षण गराएको छ।
  • भ्रष्टाचार छानबिनको माग गर्दै अनशन बसेका उनीहरूको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आयोगले विज्ञप्ति जारी गरेको हो।
  • आयोगले अनशनकारीहरूको स्वास्थ्य उपचार र वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ।

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको माइतीघरमा आमरण अनशन बसिरहेका डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

भ्रष्टाचारको छानबिन र दोषीमाथि कारबाहीको माग राख्दै विगत १० दिनदेखि माइतीघर मण्डलामा अनशनरत उनीहरूको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई सचेत गराएको हो।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, आयोगले अनशनस्थलको निरन्तर अनुगमन गरिरहेको छ। पछिल्लो अनुगमनका क्रममा डा. भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको छ। विशेषगरी डा. भुसालको रक्तचाप निकै कम भएको र रगतमा चिनीको मात्रा समेत घटेको आयोगले जनाएको छ।

अनशनकारीहरूको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आयोगले उनीहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि तत्काल पहल गर्न सरकारलाई आग्रह गरेको छ। साथै, वार्ताको माध्यमबाट अनशनरत पक्षका मागहरूको सम्बोधन गरी निष्कर्षमा पुग्न र उनीहरूको जीवन रक्षा गर्न आयोगले नेपाल सरकार समक्ष माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप