बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्षतिको दाबी भुक्तानीमा बीमा कम्पनीको अर्घेल्याइँ : अर्बौँको दाबी, करोडमा भुक्तानी

बिहीबार, १७ पुस २०८२, २० : ०९
बिहीबार, १७ पुस २०८२

सारांश

  • बीमा कम्पनीहरू बाढी पहिरोबाट भएको क्षतिको दाबी भुक्तानीमा उदासीन देखिएका छन्।
  • बाढीबाट भएको क्षतिको ४ अर्ब १९ करोडको दाबीमध्ये १९ करोड ६४ लाख मात्रै भुक्तानी भएको छ।
  • जेनजी आन्दोलनको क्षतिको भुक्तानीमा पनि सुस्तता देखिएको छ, तर बाढीपहिरोको भन्दा बढी छ।

काठमाडौँ । गत असोजमा देशभर गएको बाढी पहिरोबाट भएको क्षतिको दाबी भुक्तानीमा बीमा कम्पनीहरू उदासीन देखिएका छन् । घटना घटेको तीन महिनासम्म भएको दाबी भुक्तानीको विवरणले यस्तो अवस्था देखाएको हो । 

बाढीका कारण भएको क्षतिमा बीमा कम्पनीहरूमा ४ अर्ब १९ करोड रुपैयाँ बराबरको मागदाबी भएको थियो । हालसम्म १९ करोड ६४ लाख रुपैयाँ मात्रै भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ । यो ४.६९ प्रतिशत बराबर हो ।

प्राधिकरणका अनुसार यो क्रममा ७ हजार ५ सय ९५ वटा बीमा दाबी परेका छन् । त्यसमध्ये २०९ वटा दाबीको भुक्तानी भएको छ । 

प्राधिकरणका अनुसार हालसम्म २०९ वटा दाबीको कुल १९ करोड ६४ लाखमात्रै रुपैयाँ भुक्तानी भएको छ। 

यसमध्ये सम्पत्ति बीमातर्फ ४१९ वटा दाबीमध्ये ५३ वटाको भुक्तानी भएको छ । यसमा बीमा कम्पनीहरूले १६ करोड ४४ लाख भुक्तानी गरेका छन् । 

कृषि तथा बाली बीमातर्फ २१७ वटा दाबीमध्ये १२७ वटाको ५० लाख रुपैयाँ भुक्तानी गरिएको छ। इन्जिनियरिङ बीमातर्फ १०७ वटा दाबीमध्ये ९ वटाको १ करोड ४० लाख भुक्तानी भएको छ। निजी मोटर बीमातर्फ ४० वटा दाबीमध्ये १७ वटाको १ करोड २७ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ । 

जेनजी आन्दोलनको क्षतिको भुक्तानी पनि सुस्त

यसअघि जेनजी आन्दोलनमा भएको क्षतिको दाबी भुक्तानी तीव्र रूपमा अघि बढेको थियो । तर पछिल्लो समय यो समेत सुस्त बन्दै गएको छ । 

प्राधिकरणका अनुसार आन्दोलनका क्रममा भएको भौतिक क्षतिमा ३ हजार ३ सय १६ वटा निवेदनबाट २३ अर्ब ४७ करोड रुपैयाँको दाबी परेको छ । यसमध्ये हालसम्म करिब ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बीमितहरूलाई प्रदान गरिएको छ । यो २३.३६ प्रतिशत बराबर हो । 

यो रकममध्ये सम्पत्ति बीमातर्फ ७१२ वटा निवेदनमा १९ अर्ब ५ करोड मध्ये ३ अर्ब ९३ करोड ५९ लाख भुक्तानी भएको छ । 

त्यस्तै, मोटर बीमातर्फ २३२१ वटा दाबी परेकोमा ३ अर्ब ४६ करोड १६ लाख भुक्तानी गर्नुपर्नेमा हालसम्म १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ । यो एक तिहाइ भन्दा बढी हो । 

त्यस्तै, इन्जिनियरिङ र ठेक्का जोखिम अन्तर्गत २२६ वटा निवेदनबाट ५५ करोड ३९ लाख दाबीमध्ये ८ करोड ३६ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ । 

त्यस्तै, परिवहन बीमामध्ये १२ वटा दाबी १ करोड ६९ लाख मध्ये १ करोड ५५ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ । समग्रमा बाढी पहिरोबाट भएको क्षतिभन्दा जेनजी आन्दोलनको क्षतिमा भुक्तानी धेरै भए पनि भुक्तानीको क्रम भने निकै सुस्त देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशील देव सुवेदी बाँकी दाबीहरूको पनि अध्ययन र प्रक्रिया पूरा गरी यथाशीघ्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइएको बताउँछन् । 

हाल देशभरका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनका छन् । ती कम्पनीबाट प्राप्त विवरणका आधारमा प्राधिकरणले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप