मुस्ताङ र मनाङमा हिउँचितुवा सर्वेक्षण सुरु, २२५ भन्दा बढी क्यामेरा जडान
सारांश
- मुस्ताङ र मनाङमा हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन क्यामेरा ट्रयापिङ प्रविधिबाट सर्वेक्षण सुरु गरिएको छ।
- सर्वेक्षणमा २२५ भन्दा बढी क्यामेरा जडान गरिएको छ, जसले हिउँचितुवाको बासस्थान र आहाराको अध्ययन गर्नेछ।
- यस सर्वेक्षणको मुख्य लक्ष्य हिउँचितुवाको सङ्ख्या, बासस्थान र मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपाय पत्ता लगाउनु हो।
हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीको सूचक मानिने दुर्लभ हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन मुस्ताङ र मनाङमा बृहत् सर्वेक्षण सुरु गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका विभिन्न कार्यालयहरूले पहिलो पटक यति ठूलो स्तरमा क्यामेरा ट्रयापिङ प्रविधि प्रयोग गरी यो अध्ययन थालेका हुन्।
सर्वेक्षणका लागि मुस्ताङ र मनाङका विभिन्न उच्च हिमाली भेगमा गरी कुल २२५ भन्दा बढी विशेष क्यामेराहरू जडान गरिएका छन्। मुस्ताङका पाँचवटै स्थानीय तह समेट्ने गरी ९५ देखि १३० सम्म क्यामेरा राख्ने योजना छ, जसमध्ये माथिल्लो मुस्ताङमा ९९ र तल्लो मुस्ताङमा ३० भन्दा बढी क्यामेरा परिचालन हुनेछन्। मनाङमा भने हालसम्म १२९ वटा क्यामेरा जडान भइसकेका छन्, जसमा १०७ वटा हिउँचितुवाका लागि र २२ वटा हिमाली ब्वाँसोको अध्ययनका लागि छुट्याइएको छ।
हिउँदमा उच्च भेगमा हिउँ परेपछि हिउँचितुवाको आहारा (नाउर, झारल आदि) तल्लो क्षेत्रमा झर्ने हुनाले हिउँचितुवा पनि करिब ४,००० मिटरको उचाइसम्म झर्छन्। यो समय पदचिह्न र गतिविधि रेकर्ड गर्न सबैभन्दा उपयुक्त मानिन्छ।
५×५ किलोमिटरको ग्रिड प्रणाली अपनाएर क्यामेराहरू राखिएका छन्। यी क्यामेराहरू फिल्डमा ६ महिनासम्म रहनेछन् र त्यसपछि प्राप्त फोटो तथा भिडियोहरूको वैज्ञानिक विश्लेषण गरिनेछ।
हिउँचितुवाको सङ्ख्या, बासस्थानको अवस्था, आहारा प्रजातिको उपलब्धता र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरू पहिल्याउनु यसको मुख्य लक्ष्य हो। सर्वेक्षणमा एक्यापका प्राविधिकहरूका साथै स्थानीय गोठाला र बासिन्दाहरूलाई समेत परिचालन गरिएको छ, जसले गर्दा स्थानीय अनुभव र वैज्ञानिक तथ्यको सन्तुलन मिल्ने विश्वास गरिएको छ।
यसअघि सीमित क्षेत्रमा मात्र अध्ययन हुने गरेकाले यी दुई जिल्लामा हिउँचितुवाको वास्तविक सङ्ख्याबारे आधिकारिक तथ्याङ्क थिएन। सन् २०२४ को राष्ट्रिय अनुमान अनुसार नेपालमा करिब ३९७ हिउँचितुवा रहेकोमा अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै ३४ वटा रहेको ठानिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण