डोल्पामा प्रहरी चौकीमाथि आक्रमणः केही बेपत्ता, केही घाइते
सारांश
- डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकामा प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका छन्।
- लागुऔषधसहित भागेका एक युवकको खोजी गर्ने क्रममा स्थानीयले प्रहरीलाई दोष दिएपछि आक्रमण भएको हो।
- आक्रमणमा केही प्रहरी बेपत्ता र घाइते भएका छन्, भने प्रहरी चौकीमा तोडफोड भएको छ।
सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका छन् ।
आक्रमणपछि केही प्रहरी कर्मचारी बेपत्ता भएका छन् भने केही घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले रातोपाटीलाई जानकारी दिए ।
घटना शुक्रबार बेलुकादेखिको हो ।
खड्काका अनुसार शुक्रबार दिउँसो करिब ३–४ बजेतिर ल्हाँ गाउँका करिब ३५ वर्षीय जुन रोकाया लागुऔषधसहित यात्रा गरिरहेको सूचना आयो । ‘एक ट्रकका चालकलाई लागुऔषध बुझाउँदैछन् भन्ने सूचना आएपछि हाम्रो प्रहरी चेकजाँचका लागि खटियो,’ उनले भने, ‘चेकजाँच आउनुभन्दा थोरै अगाडि नै उनी भागे ।’
त्यसपछि प्रहरीले खोजी गरे पनि उनलाई भेटाउन नसकेको खड्काको भनाइ छ । खड्का अनुसार अहिले प्रहरी हेडक्वाटरबाट नै कोही मान्छे भागिरहेको खण्डमा धेरै बल प्रयोग वा कष्ट नदिने भन्ने निर्देशन छ । उनले थपे, ‘सोही अनुसार प्रहरीले उनलाई पछ्याएन, पछि अनुसन्धान गरी कानुनको दायरामा ल्याउने योजना हाम्रो थियो ।’
रोकाया भागेपछि घरको सम्पर्कमा नआएको भन्दै स्थानीयले उनी ठूली भेरी नदीमा खसेर बेपत्ता भएको दाबी गरेका छन् । उनीहरूले रोकाया बेपत्ता हुनुमा प्रहरीको लापरबाही कारण भएको आरोप लगाएका छन् ।
डीएसपी खड्काका अनुसार शनिबार स्थानीयले प्रहरी चौकीमाथि नै आक्रमण गरे ।
विवादले उग्र रुप लिँदा स्थानीयले प्रहरी चौकीमा आक्रमण भएको बुझिएको छ । सोही क्रममा चौकीमा रहेका केही प्रहरीहरू घाइते भएका छन् भने केहीको अवस्था अझै अज्ञात रहेको खड्काले बताएका छन् ।
‘गाउँको चौकीमा कति नै प्रहरी हुन्छन् र,’ उनले प्रश्न गर्दै भने, ‘७–८ जना जति थिए, आक्रमणपछि अवस्था निकै तनावग्रस्त भयो । हाम्र साथीहरू कोही बेपत्ता, कोही घाइते हुनुभयो ।’
प्रहरी चौकी पूरै तोडफोड भइसकेको उनको भनाइ छ ।
डीएसपी खड्का स्वयं घटनास्थल भएको क्षेत्रमै पुगेका छन् । खड्काले भागेका युवा रोकाया खोलामा खसेको वा बगेको कसैले नदेखेको र अहिलेसम्म शव पनि फेला नपरेको बताएका छन् । उनले भने, ‘यदि त्यस्तो घटना भएको रहेछ भने पनि हामी गहिराइमा अनुसन्धान गर्छौँ र दोषी पत्ता लागे कारबाही गर्छौं ।’
यद्यपि सोही आवेगमा आएर प्रहरी चौकीमाथि नै आक्रमण भई प्रहरी बेपत्ता हुनु दुखद भएको उनी बताउँछन् । घाइते भएका प्रहरीलाई उपचारका लागि जिल्लातर्फ पठाउने काम भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण