माउले स्विकार्दिनन् भन्ने डरले गरिएन उद्धार, घाइते डमरुले फेर्यो अन्तिम सास
सारांश
- कञ्चनपुरको शुक्लाफाँटामा बाघको बच्चा भेटियो, तर उद्धार प्रयास असफल भयो।
- प्राकृतिक बासस्थानमै छाडिएको डमरुको मृत्यु भयो, किनकि आमाले स्वीकार गर्दैन थिइन्।
- डमरुको मृत्युपछि संरक्षणका नियम र मानवीय उद्धारको प्रश्न उठेको छ।
धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा बुधवार दिउँसो ३ बजे एउटा करिब दुई महिनाको पाटे बाघको डमरु भेटियो भन्ने खबर निकुञ्ज कार्यालयलाई प्राप्त भयो। उक्त खबरपछि प्राविधिक टोली पुग्यो, पशु चिकित्सक पुगे, नेपाली सेना र सुरक्षा निकायका अधिकारीहरू त्यहाँ पुगे।
तर, ती कसैले पनि त्यो डमरुलाई तत्कालै समातेर सुरक्षित ठाउँमा लैजाने आँट गरेनन्। डमरु असहाय, घाइते अवस्थामा थियो। त्यहाँ त्यो डमरुको माउ आमा पनि त्यतै वरपर छ भन्ने भयो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार वन्यजन्तु संरक्षणको एउटा कठोर वैज्ञानिक सिद्धान्त छ। यदि माउको साथमा रहेको बच्चालाई मानिसले छोयो वा उद्धार गरेर अन्यत्र लग्यो भने, पछि उसको माउले त्यसलाई स्विकार गर्दैन।
‘हाम्रो निर्देशिका र अनुभवले भन्छ– मानिसको गन्ध आएपछि माउले बच्चालाई रिजेक्ट गर्छ,’ वाग्ले भने ‘त्यसैले हामीले सोचेका थियौं, सायद माउ कतै नजिकै छ र राति आएर आफ्नो बच्चालाई लैजानेछ। तर हाम्रो त्यो आशा र संरक्षणको सिद्धान्तका बीचमा डमरुको ज्यानले भने साथ दिएन।’
निकुञ्ज टोलीले डमरुलाई उसको प्राकृतिक बासस्थानमै छाडेर टाढैबाट निगरानी गर्ने निर्णय गर्यो। मानिसको आवाजले माउ नतर्सियोस् भनेर स्थानीय बासिन्दालाई पनि त्यहाँबाट हटाइयो। जब राति साढे ८ बजे टोली फेरि त्यहाँ पुग्यो, डमरुले प्राण त्यागिसकेको थियो।
यो डमरु कहाँबाट आयो भन्ने विषयमा पनि आफ्नै अडकलबाजीहरू छन्। डमरु भेटिएको क्षेत्र भारतीय वन क्षेत्रको नजिकै पर्छ। प्रायः पोथी बाघले आफ्ना डमरुहरूलाई भाले बाघको आक्रमणबाट जोगाउन सुरक्षित ठाउँ खोज्दै हिँड्ने गर्छन्।
‘बिरालो प्रजातिका वन्यजन्तुले आफ्ना बच्चालाई सुरक्षित राख्न बारम्बार ठाउँ सार्ने गर्छन्,’ वाग्ले भने ‘सम्भवतः यो डमरुलाई पनि माउले भारतको जङ्गलबाट यता ल्याएर सुरक्षित राख्न खोजेको हुन सक्छ।’
स्थानीयले त त्यहाँ अर्को पनि बच्चा भएको दाबी गरेका थिए। यदि अर्को बच्चा खोज्न वा सुरक्षित गर्न माउ कतै गएको थियो भने, मानिसको भिडभाडका कारण ऊ डराएर फर्किन सकेन कि भन्ने आशङ्का पनि गरिएको छ।
डमरुको मृत्यु अत्यधिक चिसोले भयो वा उसलाई पहिले नै केही स्वास्थ्य समस्या थियो भन्ने कुरा पोस्टमार्टम रिपोर्टले खुलाउला। यो घटनाले के हामीले संरक्षणका सिद्धान्तलाई मात्र पछ्याउने कि सङ्कटमा परेका वन्यजन्तुको तत्कालै मानवीय उद्धार गर्ने ? भन्ने प्रश्नमा उब्जाएको धेरै भनाई छ।
निकुञ्ज टोलीका लागि त्यो निर्णय सहज थिएन। यदि तत्कालै डमरुलाई ल्याएको भए सायद उसको ज्यान त जोगिन्थ्यो। तर उसले जीवनभर एउटा खोरको बन्दी बन्नुपर्ने हुन्थ्यो, किनकि माउले उसलाई फेरि कहिल्यै ग्रहण गर्ने थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण