मधेसमा रास्वपालाई कति छ गाह्रो ?
सारांश
- रास्वपामा बालेन शाह र कुलमान घिसिङ सामेल भएपछि वैकल्पिक राजनीतिक धार बलियो भएको चर्चा सुरु भएको छ।
- रास्वपाले मधेस प्रदेशमा जनसमर्थन जुटाउन रणनीति बनाइरहेको छ र बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने चर्चा छ।
- राजनीतिक विश्लेषकहरूले भने मधेसमा रास्वपाको प्रभाव कमजोर रहेको र बालेनलाई प्रधानमन्त्री बनाउँदा विश्वास जित्न गाह्रो हुने बताएका छन्।
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र उज्यालो नेपाल पार्टीसहित कुलमान घिसिङसमेत समाहित भएपछि वैकल्पिक राजनीतिक धार बलियो भएको भन्दै चर्चा सुरु भएको छ ।
विघटित प्रतिनिधि सभामा चौथो राजनीतिक शक्ति रहेको रास्वपाले बालेन शाह र कुलमान घिसिङजस्ता युवा पुस्ताले रुचाएका अनुहारलाई पार्टीमा सामेल गरेसँगै आसन्न निर्वाचनमा पुराना दललाई ठुलो चुनौती हुने आकलन गरिएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ र पुराना राजनीतिक शक्तिबिच ध्रुवीकरण बढेको छ । सहरी क्षेत्रमा राम्रो पकड बनाएको रास्वपाले मधेस प्रदेशमा जनसमर्थन जुटाउन आवश्यक रणनीति तयार पार्दैछ । सोही अनुसार रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको चर्चासमेत चलिरहेको छ ।

यद्यपि राजनीतिक विश्लेषक चन्द्रकिशोर भने बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दैमा मधेसले त्यति छिटो विश्वास गर्लाजस्तो आफूलाई नलागेको बताउँछन् । मधेसको मुद्दाप्रति रास्वपाको स्पष्ट धारणा नआएको जिकिर गर्दै उनले विगतको चुनावमा समेत मधेस प्रदेशमा रास्वपाको अवस्था निकै कमजोर रहेको स्मरण गराए ।
_je5oONRtWI.jpg)
२०७९ को निर्वाचनमा मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६२८ मतदाता रहेकोमा रास्वपाले समानुपातिकतर्फ एक लाख सात हजार ८४ मत ल्याएको थियो । प्रत्यक्षतर्फ रास्वपाको मत अझ लज्जास्पद देखिन्छ । सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको रास्वपाले त्यहाँ दुई हजार ७४ मतमात्र पाएको थियो । सप्तरीको क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार मो. इरफान आलम १०औँ स्थानमा थिए भने क्षेत्र नम्बर १ मा निरजन प्रसाद कुशवाहा र ३ मा प्रमोद कुमार साह नवौँ स्थानमा थिए । सप्तरी २ मा बरुण कुमार झाले २८१ मतमात्र पाएको अवस्थामा चौथो स्थानमा सीमित भएका थिए ।
यस्तै, सिरहामा दुई हजार ४५० मत ल्याएको रास्वपाले क्षेत्र नम्बर १ मा रामकुमार यादव छैटौँ स्थान, क्षेत्र नम्बर ३ का दीपकुमार साह पाँचौँ र क्षेत्र नम्बर ४ का विमल कुमार तिवारी चौथो स्थानमा थिए ।
रास्वपाले धनुषाको चार वटै क्षेत्रमा उम्मेदवारी दिएको थियो । यद्यपि उसले जिल्लाभर दुई हजार १६४ मतमात्र पायो । धनुषा–२मा चनशेखर कुमार यादव २४६ मत ल्याएर आठौँ स्थानमा सीमित भएका थिए भने धनुषा–१ र ४ मा क्रमशः धर्मेन्द्रकुमार राय र सञ्जयकुमार यादव पाँचौँ स्थानमा सीमित थिए । धनुषा–३ मा रञ्जित पंजियार ४३३ मत ल्याएर छैटौँ स्थानमा रहे ।
बालेन शाहको पैतृक गृह जिल्ला रहेको महोत्तरी जिल्लाबाट रास्वपाले जम्मा दुई हजार ४२४ मत ल्याएको थियो । त्यहाँ दुई वटा क्षेत्रमा मात्र रास्वपाले उम्मेदवारी दिएको थियो । महोत्तरी–१ मा खेमकुमारी भुर्तेल दुई हजार ६४ मत ल्याएर पाँचौँ स्थानमा सीमित भएकी थिइन् भने क्षेत्र नम्बर २ का पवनकुमार झाले ३६० मतमात्र प्राप्त गरे ।

रास्वपाले सर्लाहीबाट सात हजार ७०४ मत प्राप्त गरेको थियो । त्यहाँ रास्वपाले चार वटै क्षेत्रमा उम्मेदवार उठाएको थियो । क्षेत्र नम्बर १ बाट रामदुलार महतो तीन हजार २५३ मत ल्याएर पाँचौँ स्थानमा सीमित भए । क्षेत्र नम्बर २ का जयकरण महतोले ५७९ मत ल्याएर आठौँ, क्षेत्र नम्बर ३ बाट पञ्चबहादुर सिङतानले सबभन्दा बढी तीन हजार ५६६ ल्याएर चौथो र क्षेत्र नम्बर ४ बाट धिरजकुमारले ३०६ मत ल्याएर नवौँ स्थानमा सीमित भए ।
त्यस्तै, रास्वपाले रौतहटका तीन वटा क्षेत्रमा उम्मेदवारी दिएर तीन हजार ४५ मत प्राप्त गरेको थियो । त्यसमध्ये क्षेत्र नम्बर १ का सूर्यदेव प्रसाद कोइरालाले १६३ मत ल्याएर १० औँ स्थानमा पुगेका थिए । क्षेत्र नम्बर ३ मा नवीनप्रसाद चौरसियाले एक हजार ६ मत र क्षेत्र नम्बर ४ मा राजनारायण साहले एक हजार ८७६ मत ल्याएर पाँचौँ स्थानमा रहे ।
मधेस प्रदेशका आठ जिल्लामध्ये रास्वपाले सबैभन्दा बढी मत बाराबाट १० हजार ७८२ ल्याएको थियो, जसमध्ये क्षेत्र नम्बर १ मा गणेश धिताल तेस्रो स्थानमा रहँदै तीन हजार ३१९ मत ल्याएका थिए । क्षेत्र नम्बर ३ मा सुरेन्द्र शर्माले तीन हजार ५७९ मत र क्षेत्र नम्बर ४ मा पवन चौधरीले तीन हजार ८८४ मत ल्याएर चौथो स्थानमा सीमित भए ।
रास्वपा सबैभन्दा कमजोर पर्सामा देखिएको छ । गत चुनावमा सो पार्टीले त्यहाँ दुईटा क्षेत्रमा उम्मेदवारी दिएको थियो, जसमा एक हजार ८९४ मत पाएको थियो । क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका दीपराज पटेलले ९७१ मत ल्याएर चौथो र क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका अशोक कँडेल ९२३ मत ल्याएर पाँचौँ स्थानमा रहे ।
समग्रमा हेर्दा रास्वपा मधेसमा निकै कमजोर देखिएको छ । जेनजी आन्दोलनपछि मधेसमा रास्वपाको केही आकर्षण बढे पनि तात्त्विक फरक नपर्ने राजनीतिक विश्लेषक श्रीमन नारायणले बताए । मधेसमा रास्वपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने अहिलेसम्म स्पष्ट छैन । सो पार्टीको संगठन पनि खासै देखिएको छैन । यस्तो अवस्थामा चुनावमा कसरी मत आउँछ भन्ने उनको प्रश्न छ । उनले रास्वपाप्रति मधेसी जनताको सोच सकारात्मक नरहेको प्रस्ट पार्दै अपेक्षित सफलता पाउन नसक्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण