देश चुनावमा होमिँदैछ, नेताहरू गर्दैछन् दिल्ली दौड
काठमाडौँ । मुलुक चुनावको तयारीमा होमिएको बेला मुख्य दलका नेताहरू दिल्ली दौडमा लागेका छन् । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली पुगेर फर्केलगत्तै कांग्रेस नेतृ डा. आरजु राणा देउवा त्यसतर्फ प्रस्थान गरेकी छन् ।
दिल्ली जाने तयारीमा रहेका नेताहरूको लाइन लामै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले, कांग्रेसका गोविन्दराज पोखरेल, जेनजी अगुवा टासी ल्हान्जोम लगायत बिहीबार दिल्ली जाने तयारीमा छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुस ६ गते भारत गएर फर्किसकेका छन् ।
नेपाली समाज भारतको आयोजनामा सोमबार भएको ‘एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रम’ भाग लिन प्रचण्ड दिल्ली गएका थिए । उनले त्यहाँ भारत सरकारका सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । दुईबिच नेपालमा भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिको बारेमा कुराकानी भएको बताइएको छ ।
देशको पछिल्लो राजनीति सकारात्मक दिशामा अगाडि बढिरहेको तर त्यसमा नेपालका राजनीतिक दलका नेताहरुले सचेततापूर्वक बुद्धि पुर्याउनुपर्ने सुझाव सल्लाहकार डोभालले दिएको बताइएको छ । भारतीय सुरक्षा सल्लाहकार डोभालले नेपालमा तोकिएको समयमा चुनाव होस् भन्ने भारतको चाहना रहेको बताएका थिए ।
विवेकानन्द फाउन्डेसन र सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एन्ड सेक्युरिटी इस्युजको आयोजनामा हुने ‘जेनजी आन्दोलनपछि नेपाल–भारतको सम्बन्ध’ विषयक कार्यक्रममा रास्वपा उपसभापति वाग्ले लगायत अन्य दलका नेता तथा विज्ञहरु जान लागेका हुन् ।
दुवै संस्थाले भारतीय सरकारका लागि थिङ्क ट्याङ्कको रूपमा काम गर्छन् । उक्त कार्यक्रमका क्रममा डोभाल र वाग्लेबिच भेटवार्ता हुने जनाइएको छ । वाग्लेले डोभालसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।
सोही कार्यक्रममा विज्ञको रुपमा सहभागी हुन लागेका पूर्वराजदूत विजयकान्त कर्ण विवेकानन्द फाउन्डेसनसहितले आयोजना गर्ने कार्यक्रम भूराजनीतिसँग सम्बन्धित नभएको बताउँछन् । तर नेपालमा भारत गएको कुरालाई भूराजनीतिसँगै जोडेर हेर्नु ठीक नभएको उनको भनाइ छ ।
‘कांग्रेस नेतृ देउवा लामो समयदेखि दिल्लीमा उपचार गराइरहेको सबैलाई थाहा छ । त्यसको फ्लोअपका लागि जाँदा पनि विभिन्न टिप्पणी हुने गरेको छ । नेकपाका अध्यक्ष प्रचण्ड आफ्नो पार्टीको कार्यक्रमका लागि गएको, नारायण दाहाल पनि उपचारका लागि जानुभएको हो । दुर्गा सुवेदी पनि उपचारका लागि जानुभएको हो । ती सबैलाई देशको राजनीतिसँग जोडेर हेर्नु हुँदैन,’ उनी भन्छन् ।
तर विभिन्न कार्यक्रमका लागि गएको भनेपनि उच्चस्तरीय भेटवार्ता भने सबैजसो नेताहरूले गर्ने गरेको पाइन्छ । कांग्रेसभित्र चलिरहेको विवादबिच नेतृ राणाको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
आफ्नै संरक्षकत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका डा. बाबुराम भट्टराईले पनि भारतमा नेपालका लागि पूर्व भारतीय राजदूतहरुलाई भेटेका थिए । दक्षिण एसियामा लोकतन्त्रको भविष्य : युवा, प्रविधि र समावेशी लोकतन्त्र’ विषयक आयोजित कार्यक्रममा विज्ञका रुपमा आफ्नो धारणा राखेका थिए । त्यस्तै, ‘भारत-नेपाल सम्बन्ध र नेपालको लोकतान्त्रिक भविष्य’ विषय अन्तरक्रिया कार्यक्रममा पनि उनी सहभागी भएका थिए । उनी पुस ९ गते फर्केपछि अन्य नेताहरुको दौडधुप सुरु भएको छ ।
विदेश मामिलाका जानकार अरुण सुवेदी भन्छन्, ‘नेपालले तय गरेको असफल परराष्ट्र नीतिका कारण यी सबै भइरहेको हो । देशको परराष्ट्र नीति तथा सम्बन्ध यिनै कांग्रेस, एमाले र माओवादीले बिगारेका हुन् । त्यसको परिणाम अहिले देखिएको हो ।‘
‘म अहिले यति कुरा भन्छु एमालेका अध्यक्ष केपी शर्मा ओली भारत जाने कम्फर्ट जोनमा हुनुहुन्न । उहाँले पनि अरु कसैलाई पठाउनुभएको छ,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण