सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै फेरिएको सामाजिक तानाबाना
सारांश
- नेपालमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले नेतृत्व विकासमा परिवर्तन ल्याएको छ, जसले परम्परागत नेतृत्वको ढाँचालाई चुनौती दिएको छ।
- सामाजिक सञ्जालले आन्दोलनलाई दलविहीन, विकेन्द्रित र मुद्दा केन्द्रित बनाएको छ, जसले गर्दा नेताको परिभाषामा परिवर्तन आएको छ।
- लेखमा जेनजी विद्रोहको नेता खोज्नुभन्दा सामाजिक सञ्जालबाट उदाएका नेतृत्वलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिइएको छ।
नेपालमा २०८२ भदौ २३ र २४ मा भएको जेनजी विद्रोहको नेता को होला ? आज पनि धेरैले यसको उत्तर शङ्काको कसीमा राखेर खोजिरहेका छन् । भ्रष्टाचारको विरोध र दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स, युट्युबसहित २६ प्रमुख सामाजिक सञ्जालहरूमाथि सरकारले लगाएको प्रतिबन्ध विरुद्ध भनिएको प्रदर्शनमा जसरी नागरिकको सहभागिता भयो र यसले विद्रोहको रूप लियो, यो सामान्य आँखाबाट हेर्दा चमत्कारिक घटना थियो ।
यसले शङ्काको लाभ दिएकै छ । तर हामीले यसलाई शङ्काको आँखाले हेरिरहँदा सूचना प्रविधिको विकाससँगै नेतृत्व विकासमा आएको बदलावलाई सही ढङ्गले हेर्न र बुझ्न जरुरी छ ।
सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल नागरिक जीवनको अभिन्न अङ्ग बनेको छ । फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक, युट्युब जस्ता सामाजिक सञ्जालका माध्यमहरूले मानिसबिचको सम्पर्कलाई सहज, छिटो र प्रभावकारी बनाएका छन् ।
यस विकासले केवल व्यक्तिगत सम्बन्धमा मात्र होइन, नेतृत्व विकासको धारणा, शैली र अभ्यासमा पनि गहिरो परिवर्तन ल्याएको छ । पहिले नेतृत्व प्रायः औपचारिक संरचना, पद र संस्थागत हैसियतमा आधारित हुन्थ्यो । तर सामाजिक सञ्जालको उदयसँगै नेतृत्व अब विचार, प्रभाव र सञ्चार क्षमतामा केन्द्रित हुन थालेको छ ।
हिजो नेपालका आन्दोलनहरू प्रायः पार्टी, संगठन वा औपचारिक नेतृत्वको आह्वानमा सडक केन्द्रित हुन्थे । तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालले नेपालका आन्दोलनको स्वरूपलाई आधारभूत रूपमा परिवर्तन गरेको छ ।
पार्टीको औपचारिक पदमा नरहेका व्यक्ति पनि सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रस्तुत गरेर, जनसमर्थन जुटाएर र समाजमा सकारात्मक प्रभाव पारेर नेतृत्वदायी भूमिकामा देखिन थालेका छन् । यसले शक्ति राजनीतिक दल, संस्था वा पदमा मात्र सीमित रहन्छ भन्ने भाष्य व्यवहारतः बदल्दै लगेको छ । नागरिक पद वा नाममा भन्दा सुधार, पारदर्शिता र परिणाममुखी नेतृत्वको खोजी गर्न थालेका छन् ।
हिजो नेपालका आन्दोलनहरू प्रायः पार्टी, संगठन वा औपचारिक नेतृत्वको आह्वानमा सडक केन्द्रित हुन्थे । तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालले नेपालका आन्दोलनको स्वरूपलाई आधारभूत रूपमा परिवर्तन गरेको छ ।
यसले आन्दोलनलाई दल–विहीन, विकेन्द्रित र मुद्दा–केन्द्रित बनाएको छ । अब आन्दोलन सुरु हुन पार्टी कार्यालय होइन, एउटा पोस्ट, ह्यासट्याग वा अनलाइन बहस नै पर्याप्त हुन थालेको छ ।
नेपालमा सामाजिक सञ्जालले निर्णायक भूमिका खेलेका आन्दोलनहरू क्रमिक रूपमा देखिएका छन् । ०७७ सालको भाद्र महिनामा देखिएको #EnoughIsEnough अभियान यसको महत्त्वपूर्ण उदाहरण हो । कोभिड–१९ महामारीको समयमा सरकारको कमजोर व्यवस्थापन, स्वास्थ्य प्रणालीको असक्षमता र नागरिकप्रति गैरजवाफदेही व्यवहारविरुद्ध युवाहरू सामाजिक सञ्जालमार्फत संगठित भए ।
अनलाइन बहसबाट सुरु भएको यो अभियान काठमाडौँसहित विभिन्न सहरमा सडक प्रदर्शनमा परिणत भयो । त्यसपछि महिला अधिकार, बलात्कारविरुद्ध न्याय, भ्रष्टाचारविरुद्ध अभियान, शिक्षा सुधार, सार्वजनिक सेवा सुधार, पर्यावरण संरक्षण जस्ता मुद्दामा सामाजिक सञ्जालले निरन्तर आन्दोलन जन्माइरहेको छ ।
आज सूचना प्रविधि, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको तीव्र विकासले नेतृत्वको परम्परागत मोडललाई चुनौती दिएको छ ।
यस्ता आन्दोलनहरूमा औपचारिक नेता हुँदैनन्, प्रभावशाली अभियन्ता, डिजिटल इनफ्लुएन्सर र नागरिक समूहहरूले जनमत निर्माण गर्छन् । सामाजिक सञ्जालबाट उठ्ने आन्दोलन छिटो–छिटो फैलिने र तत्काल प्रतिक्रिया उत्पन्न गर्ने भएकाले दबाब सृजना गर्न यी पार्टी आन्दोलन भन्दा प्रभावकारी हुने गरेका छन् ।
आज सूचना प्रविधि, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको तीव्र विकासले नेतृत्वको परम्परागत मोडललाई चुनौती दिएको छ । परम्परागत रूपमा नेतृत्वलाई पद, वरिष्ठता र संगठनात्मक अधिकारसँग जोडेर हेरिन्छ ।
नेताको अधिकार, शक्ति र निर्णय क्षमता प्रायः पदको हैसियत, अनुभव र गुटगत समर्थनमा आधारित हुन्छ । पार्टीभित्र नेतृत्व प्रायः केन्द्रीकृत र पदानुक्रमिक संरचनामा सञ्चालित हुन्छ । तर आजको नेतृत्व केवल पद वा संगठनात्मक अधिकारमा आधारित छैन, बरु साझा उद्देश्य, विश्वास र नागरिक–सक्रियतामा आधारित हुन्छ । सोसल मिडिया इनफ्लुएन्सर, अभियन्ता, अनौपचारिक नागरिक समूह लगायतका केन्द्रहरूले नेतृत्वको भूमिका निर्वाह गर्छन् ।
यस कोणबाट हेर्दा पद मात्रले नेतृत्वको वैधता सुनिश्चित गर्न सक्दैन । नेतृत्व पद भन्दा बढी प्रभाव, विश्वास र सञ्जाल संरचनामा आधारित बन्न थालेको छ । स्पेनिस समाजशास्त्री मानुएल कास्टेल्सका अनुसार सूचना प्रविधि, डिजिटल मञ्च र सामाजिक सञ्जालको विकासले शक्ति अब केवल सोपानगत प्रणाली वा पद–सत्तामा मात्र सीमित छैन, विकेन्द्रित सञ्जाल मार्फत फैलिन थालेको छ ।
यसले कुनै राजनीतिक दल वा स्थापित नेतृत्व विना सञ्जालमा आधारित ठुला–ठुला आन्दोलन उठ्न सक्छन् भन्ने देखाएको छ ।
नेतृत्व अब केवल एक नेता वा संस्था वा दलको आदेशमा निर्भर रहँदैन, सञ्जालका विभिन्न प्रभावका केन्द्रमार्फत सामूहिक रूपमा सञ्चालन हुन्छ । हरेक केन्द्रले सूचना प्रसारण, विचार निर्माण, बहस र जनमत उत्पन्न गर्ने काम गर्छन्, जसले नेतृत्वको वैधता पद वा अधिकारमा नभई जनताको भरोसा, सहमति र प्रभावको आधारमा सुनिश्चित गर्छ ।
दोस्रो कुरा, यसले कुनै राजनीतिक दल वा स्थापित नेतृत्व विना सञ्जालमा आधारित ठुला–ठुला आन्दोलन उठ्न सक्छन् भन्ने देखाएको छ । त्यसको पछाडि अमूर्त नेता भन्दा पनि मुद्दा प्रधान हुन्छ । मुद्दालाई स्थापित गर्दै सञ्जालमार्फत नयाँ नेतृत्व जन्मन्छ ।
यसरी आएको नेतृत्व जनमत, विश्वास र साझा प्रभावमा आधारित विकेन्द्रित प्रणालीका रूपमा विकास हुन्छ । सामाजिक सञ्जालले नयाँ ढङ्गबाट नेतृत्व विकास मात्र गरिरहेको छैन, पारदर्शिता र जबाफदेहितालाई बढाउँदै लगेको छ । नागरिकहरूले प्रत्यक्ष रूपमा प्रश्न सोध्न, आलोचना गर्न र सुझाव दिन सक्ने वातावरण बनाएको छ । नेताहरूलाई जनभावना बुझ्न र समसामयिक मुद्दामा संवेदनशील हुन सहयोग पुर्याएको छ ।
यो सत्यलाई नेपालका परम्परागत राजनीतिक दलहरूले नेतृत्वको वास्तविक अर्थ अझै आत्मसात् गर्न सकेका छैनन् । उनीहरू डिजिटल मञ्चले विचार र सूचना छिटो फैलाउने हुँदा नेतृत्वको पहुँच र प्रभाव बढ्ने कुरालाई बेवास्ता गर्दै पार्टी पदका आधारमा मात्र नेतृत्व विकास गर्ने प्रयासमा केन्द्रित छन् ।
वास्तवमा नेतृत्व भनेको उद्देश्य प्राप्ति, दिशा निर्धारण र गतिविधि सञ्चालनमा मार्गदर्शन गर्ने क्षमता हो, न कि केवल नियुक्त गरिएको आदेश दिने कमाण्डर । प्रभावकारी नेतृत्वले मानिसहरूलाई प्रेरित गर्न, साझा उद्देश्यमा समाहित गर्न, निर्णय प्रक्रियामा सहयोग गर्न र चुनौतीको सामना गर्न सक्ने वातावरण तयार गर्न सक्नु पर्छ ।
तर पार्टी कार्यकर्ता प्रायः यस दृष्टिकोणमा प्रतिबद्ध देखिँदैनन् । उनीहरू मुद्दाभन्दा व्यक्ति–प्रधानतामा केन्द्रित छन् र नेतृत्वलाई देवत्वकरण गर्दै व्यक्तिगत भक्ति र अनुयायीताको मार्गमा अगाडि बढिरहेका छन् । यसले पार्टीको आन्तरिक लोकतन्त्र मात्र होइन सिङ्गो लोकतान्त्रिक व्यवस्थामै खतरा सिर्जना गरेको छ ।
जेनजी विद्रोहको नेता खोज्न होइन सञ्जालबाट उदाएको नेतृत्वलाई प्लान्टेड भनेर प्रचारबाजीमा उत्रनु भन्दा पनि संस्थागत, पारदर्शी र प्रतिबद्ध हुन प्रेरित गर्नु नै हाम्रो दायित्व हो ।
सामाजिक सञ्जालको नेतृत्व विकासका लागि नयाँ अवसरहरू दिएको छ, त्योसँगै यसले चुनौती पनि खडा गरेको छ । सामाजिक सञ्जालमा बाँडिने भ्रामक सूचना, सतही लोकप्रियताको खतरा बढाउँछ । नेताहरू केवल ‘लाइक, शेयर वा कमेन्टमा’ आधारित प्रभाव खोज्न जोखिम पनि उत्तिकै छ ।
यसले नेतृत्वलाई सतही लोकप्रियता र अस्थायी प्रभावमा आधारित बनाउने जोखिम बढाउँछ । अहिले नेपालको राजनीतिक यसबाट पीडित छ । यसबाट बच्न नेतृत्वले केवल सामाजिक मिडियामा ट्रेन्ड हुने सन्देशमा निर्भर नभई, वास्तविक विश्वास निर्माण, साझा उद्देश्यमा योगदान र दीर्घकालीन प्रतिबद्धतासँग जोडिन आवश्यक छ ।
अन्यमा, नेपालमा जेनजी विद्रोहसँगै नेतृत्वको परम्परागत ढाँचामा परिवर्तन आएको छ । अब नेतृत्व केवल पद वा गुटगत अधिकारमा सीमित छैन, यो त साझा उद्देश्य, जनविश्वास, डिजिटल प्रभाव र नागरिक सक्रियतामा आधारित विकेन्द्रित प्रणालीमा आधारित छ ।
नेतृत्वले केवल पद वा सत्ता होइन, विश्वास, साझा उद्देश्य र दीर्घकालीन प्रतिबद्धतामा आधारित भएर नागरिक सहभागिता र पारदर्शिता सुनिश्चित गर्न सके मात्र लोकतन्त्रलाई बढी सहभागितामूलक, प्रभावकारी र जनउत्तरदायी बनाउन सकिन्छ ।
त्यसैले जेनजी विद्रोहको नेता खोज्न होइन सञ्जालबाट उदाएको नेतृत्वलाई प्लान्टेड भनेर प्रचारबाजीमा उत्रनु भन्दा पनि संस्थागत, पारदर्शी र प्रतिबद्ध हुन प्रेरित गर्नु नै हाम्रो दायित्व हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण