१८ वर्षपछि उम्मेदवार बन्ने तयारीमा प्रकाण्ड, कालिकोटमा रोचक प्रतिस्पर्धा हुने आकलन
सारांश
- विप्लव नेतृत्वको माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' संसदीय चुनाव लड्ने पक्का भएका छन्, जसलाई जिल्ला समितिले उम्मेदवार सिफारिस गरेको छ।
- प्रकाण्डले यसअघि जनयुद्ध र पहिलो संविधानसभा निर्वाचनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए, र उनले चुनावमा बलियो मत ल्याएका थिए।
- कालिकोटमा प्रकाण्ड र अन्य दलका नेताहरूबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा हुने सम्भावना छ, जसले चुनावी माहोललाई रोचक बनाउने अनुमान गरिएको छ।
सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संसदीय चुनाव लड्ने निश्चित भएको छ । उनलाई मंगलबार बसेको जिल्ला समितिको बैठकले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारका रूपमा एकल सिफारिस गरेको हो ।
कालिकोटको मालकोटका प्रकाण्ड १० वर्षे सशस्त्र युद्धताकै केन्द्रीय सदस्य तथा भेरी–कर्णाली ब्युरो इन्चार्ज भइसकेका थिए । त्यो बेला उनी भेरी–कर्णाली जनसरकार प्रमुखसमेत थिए ।
तत्कालीन समयमा शक्ति बस्नेत पार्टीको कारबाहीमा परेपछि प्रकाण्ड इन्चार्ज भएका थिए । माओवादी जनयुद्धलाई मलजल गर्न महत्त्वपूर्ण भूमिका निभाएका प्रकाण्ड शान्ति प्रक्रियापछि भएको पहिलो संविधान सभाको चुनावमा भाग लिएर बलियो मत परिणाम ल्याएर निर्वाचित हुनुका साथै केन्द्रको मन्त्रीसमेत बनेका थिए ।
०६४ को निर्वाचनमा उनी २७ हजार ६२१ मत ल्याएर निर्वाचित भएका थिए, जुन त्यसपछिका कुनै पनि उम्मेदवारले ल्याउन सकेका छैनन् ।
बिचमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्टि जनाएर उनी नेत्रविक्रम चन्द ‘विप्लव’सँगै पार्टी छाडे । अझै पनि कर्णाली र कालिकोटमा उनको प्रभाव बलियो छ । उनले आफ्नो गाउँ मालकोटलाई ‘सी’ गाउँ घोषणा गरेका छन् ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवारका रूपमा एकल सिफारिस गरिएको छ । यद्यपि प्रचण्डले कुन जिल्ला रोज्छन् भन्ने प्रस्ट भइसकेको छैन ।
उनी माओवादीबाट विद्रोह गरेर विप्लवसँग लागेपछि ०७० को चुनावपछि कालिकोटमा महेन्द्रबहादुर शाहीको उदय भएको थियो । शाहीले ०७०, ०७४ (प्रदेश सभा) र ०७९ को प्रतिनिधि सभा चुनाव जित्न सफल भए । पुराना नेता प्रकाण्ड नै माओवादीबाट विभाजित भएपछि माओवादीको बलियो आधार क्षेत्र कालिकोटमा शाहीको उदय भएको हो । उनी त्यसअघि माओवादीको जनमुक्ति सेनामै थिए ।
शाहीले ०७४ को प्रदेश सभा चुनाव जितेर कर्णालीको मुख्यमन्त्रीसमेत भए । यद्यपि प्रकाण्ड अझै पनि जनतामाझ लोकप्रिय छन् । उनी १८ वर्षपछि पुनः चुनाव लड्ने भएपछि कालिकोटको चुनावी माहौल निकै रोचक बन्ने आकलन गरिएको छ ।
उनी चुनावमा भाग लिने भएसँगै यहाँ अहिलेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कुन दलको समीकरण कोसँग हुने भन्ने अहिले नै निर्क्योल भइसकेको अवस्था छैन ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवारका रूपमा एकल सिफारिस गरिएको छ । यद्यपि प्रचण्डले कुन जिल्ला रोज्छन् भन्ने प्रस्ट भइसकेको छैन । यदि प्रचण्ड कालिकोटबाट चुनाव नलड्ने भएमा पुनः महेन्द्रबहादुर शाही नै उम्मेदवार बन्नेछन् ।
प्रकाण्डले प्रचण्ड नै कालिकोटमा चुनाव लड्न आए पनि आफूले सहजै जित्ने दाबी गरेका छन् । नेकपाका नेता महेन्द्रबहादुर शाहीले अन्य दल सबै एक भए पनि कालिकोटमा आफ्नो पार्टीले जित्ने बताएका छन् ।
नेकपा एमालेबाट ३ जनाको नाम सिफारिस भए पनि नगीन्द्र शाही नै उम्मेदवार बन्ने सम्भावना छ । नेपाली कांग्रेसबाट भूपेन्द्रजंग शाही नै उम्मेदवार बन्ने आकलन छ । यदि दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा गएको खण्डमा प्रकाण्डले अन्य दलहरूलाई कडा चुनौती दिने विश्लेषण भइरहेको छ ।
प्रकाण्डले प्रचण्ड नै कालिकोटमा चुनाव लड्न आए पनि आफूले सहजै जित्ने दाबी गरेका छन् । नेकपाका नेता महेन्द्रबहादुर शाहीले अन्य दल सबै एक भए पनि कालिकोटमा आफ्नो पार्टीले जित्ने बताएका छन् ।
कांग्रेसका युवा नेता शाही पनि युवाहरूबिच लोकप्रिय छन् । तर उनले विगतमा पटक–पटक चुनाव हार्दै आएका छन् । यद्यपि उनले गाउँबस्तीमा पुगेर पार्टीका कार्यक्रमहरू गर्दै आएकाले पहिलाभन्दा राम्रो माहौल बनाएको जानकार बताउँछन् ।
- कालिकोटको विगतका निर्वाचन परिणाम
जनयुद्धलाई सफलता दिलाउन कालिकोटले धेरै संघर्ष गरेको छ भने धेरै गुमाएको पनि छ । तर शान्ति प्रक्रियापछि लगातार नेतृत्वमा रहेको माओवादीले नागरिकको अवस्था बदल्नमा भने उल्लेखनीय भूमिका निर्वाह गर्न सकिरहेको छैन । यहाँ ०६४को संविधान सभा निर्वाचनमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ०७० र ०७९ मा महेन्द्रबहादुर शाही र ०७४ मा दुर्गबहादुर रावतले माओवादीबाटै चुनाव जितेका थिए ।
प्रकाण्डले ०६४ मा २७ हजार ६२९ मत ल्याएका थिए । ०७० मा आउँदा माओवादीबाट महेन्द्र बहादुर शाहीले १० हजार ८४ मतसहित चुनाव जितेका थिए । ०७४ मा महेन्द्रबहादुर शाही प्रदेशमा झर्दा माओवादीबाट दुर्ग बहादुर रावत उम्मेदवार बने । उनले त्यो बेला २१ हजार ११२ मत ल्याएर जितेका थिए । त्यो बेला कांग्रेसका भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत ल्याए ।
उक्त चुनावमा माओवादी—एमाले संयुक्त गठबन्धन थियो भने कांग्रेस एक्लै चुनावी मैदानमा थियो, तर पनि रावतले ०६४ को बराबर मत ल्याउन सकेनन् ।
०७९ मा माओवादीबाट उम्मेदवार बनेका महेन्द्र बहादुर शाहीले २३ हजार ७२७ मत ल्याएर चुनाव जिते । उनका प्रतिस्पर्धी एमालेका नगीन्द्र शाहीले १६ हजार ७१८ मत पाए । जबकि त्यो बेला माओवादी—कांग्रेस गठबन्धन थियो ।
विगतका चार वटा निर्वाचनको मत विश्लेषण गर्दा ०६४ मा प्रकाण्डले सबैभन्दा धेरै मत पाएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण