आयात बढ्दा सस्तियो चामल
काठमाडौँ । बजारमा अहिले चामलको मूल्य घटेको छ । अधिकांश खाद्यान्नको मूल्य सामान्य बढेको बेला चामल भने बोरा (२५ केजी) ५०० रुपैयाँसम्म सस्तिएको व्यापारीहरूले बताएका छन् ।
खुद्रा व्यापार संघका सचिव आमुलकाजी तुलाधरले भर्खरै धान पाक्ने सिजन सकिएको र किसानले धान बिक्री गरिरहेका कारण बजारमा नयाँ चामल प्रशस्त आएकाले मूल्य सस्तो भएको बताए ।
‘बजारमा नयाँ चामल आइसक्यो मूल्य त घटिहाल्छ नि,’ तुलाधरले भने, ‘पुरानो चामलको मूल्य घटेको छैन । नयाँ चामल बोरामा २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म सस्तोमा बिक्री भइरहेको छ ।’ उनका अनुसार अहिले बजारमा नयाँ जिरा मसिनो चामलको भाउ २५ केजी बोराको १६ सयदेखि १८ सयसम्ममा बिक्री भइरहेको छ । मोटा चामलको भाउ पनि घटेको छ । नयाँ सोना मन्सुली चामल २५ केजीको १५ सय ५० रुपैयाँदेखि १६ सय रुपैयाँ छ ।
अघिल्लो वर्ष यसै अवधिमा बजार जिरा मसिनो चामलको मूल्य १९ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म रहेको थियो । यस्तै सोना मन्सुली चामलको मूल्य १६ सय रुपैयाँदेखि १९ सय रुपैयाँसम्म रहेको थियो । तुलाधरका अनुसार अहिले बजारमा पुरानो चामल भने अघिल्लो वर्षकै मूल्यअनुसार बिक्री भइरहेको छ । यस्तै खुद्रा व्यापार संघले पनि पुरानो चामल पुरानै मूल्यअनुसार बिक्री गरिरहेको उनले बताए ।
आयात बढ्दा पनि घट्यो मूल्य
अहिले स्वदेशी उत्पादन बजारमा आउन थालेको र भारतबाट पनि उल्लेख्य मात्रामा धान तथा चामल आयात भएपछि बजारमा भाउ सस्तो भएको व्यवसायीको भनाइ छ । चामल उद्योगीले गत वर्षदेखि नै भारतबाट धान आयात गरी स्टक राखेकाले पनि पर्याप्त मात्रामा धान-चामल उपलब्ध रहेका कारण पनि मूल्य घटेको हुनसक्ने व्यवसायी बताउँछन् ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १५ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ बराबरको धान–चामल आयात भएको छ । अघिल्लो वर्ष २०८१/८२ को सोही अवधिमा १२ अर्ब ७९ करोड १० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब २८ करोड ८४ लाख रुपैयाँ बराबरको धान-चामल आयात भएको थियो ।

चालु वर्षको मंसिरसम्म आयात भएको धान चामलमध्ये ६ अर्ब ८८ करोड ८१ लाख रुपैयाँ बराबरको धान-चामल आयात भएको छ । ८ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ बराबरको चामल र १८ करोड ७० लाख रुपैयाँ बराबरको कनिका आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा भारतले धान चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको थियो । नेपाल सरकारले धान चामलको आयातमा २.५ प्रतिशत अग्रिम कर लगाएपछि व्यवसायीहरुले चामल आयात घटाएका थिए । यससँगै बजारमा मूल्य बढेको थियो । उपभोक्ताले जिरा मसिनो चामल प्रतिबोरा २५ सय रुपैयाँदेखि २८ सय रुपैयाँसम्ममा खरिद गर्न बाध्य भएका थिए । पछि भारतले शुल्क हटाएपछि आयात बढेसँगै गत वर्ष २०८१/८२ केही मूल्य घटेको थियो । अघिल्लो वर्षदेखि भारतीय धान चामल आयात बढेको तथ्यांकले देखाएको छ ।
अन्य खाद्यान्नको मूल्य कति छ ?
बजारमा अन्य चामलको मूल्य घटिरहेका बेलामा नयाँ चामलको मूल्य घटिरहँदा बजारमा लङ ग्रेन चामल भने बढ्न थालेको व्यवसायीले बताएका छन् । लङग्रेन चामलको मूल्य भारतबाट बढेर आएकाले व्यवसायीहरुले १०० रुपैयाँदेखि २०० रुपैयाँसम्म बढाएका छन् ।
यस्तै बजारमा दाल र गेडागुडीको गत वर्षको तुलनामा सामान्य बढेको छ । गत वर्ष १५० रुपैयाँ पर्ने चना दाल अहिले १७० पुगेको छ । यस्तै मुसुरो दाल प्रतिकिलो १६५ रहेकोमा घटेर १५० रुपैयाँ पुगेको छ । यस्तै अघिल्लो वर्षको यसै अवधिमा २० प्रतिशतले खाने तेलको मूल्य घटेको थियो । तर अहिले बजारमा खाने तेलको मूल्य लिटरमा २० देखि ३५ रुपैयाँसम्म बढेको देखिन्छ ।
गत वर्ष प्रतिलिटर ३२५ रुपैयाँ पर्ने काँचो तोरीको तेल अहिले लिटरको ३६० रुपैयाँ पुगेको छ । काँचो तोरिको तेल लिटरमै ३५ रुपैयाँले बढेको छ । सोही अवधिमा भुटेको तोरी तेलको मूल्य लिटरमा २० रुपैयाँ बढेर ४३० रुपैया, भटमास तेल २४५, गत वर्ष २२० रुपैयाँ पर्ने सनफ्लावर तेल २५० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण