हामी टी-२० विश्वकप श्रीलङ्कामा खेल्न चाहन्छौँ : बंगलादेश
सारांश
- बंगलादेशका खेलकुद सल्लाहकारले सुरक्षा चिन्ता जनाउँदै टी-२० विश्वकपका खेल भारतबाट श्रीलंका सार्न माग गरेका छन्।
- बीसीसीआईले खेलाडीको सुरक्षा दिन नसक्ने संकेत दिएपछि, बंगलादेशले राष्ट्रिय अपमानसँगै सुरक्षाको कारण देखाएको छ।
- बंगलादेशले भारतको साटो श्रीलंकामा खेल्ने विकल्प अघि सारेको छ र आईसीसीसँग छलफल जारी छ।
ढाका । बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले सुरक्षा चुनौती र राष्ट्रिय प्रतिष्ठाको कारण देखाउँदै आफ्नो टोलीका टी-२० विश्वकपका खेलहरू भारतबाट श्रीलङ्कामा सार्नुपर्ने मागलाई पुनः दोहोर्याएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नै आफ्ना खेलाडीलाई सुरक्षा दिन नसकिने सङ्केत दिएको अवस्थामा भारतमा खेल्नु असुरक्षित रहेको दाबी गरे। बीसीसीआईले हालै आईपीएल टोली कोलकाता नाइट राइडर्सलाई बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाउन निर्देशन दिएपछि दुई देशबिचको क्रिकेट सम्बन्धमा तिक्तता आएको हो।
सल्लाहकार नजरुलका अनुसार आईसीसीले भारतमा बंगलादेशी खेलाडीहरूको सुरक्षाको गम्भीरतालाई अझै बुझ्न सकेको छैन। उनले यो विषय सुरक्षासँग मात्र नभई बंगलादेशको राष्ट्रिय अपमानसँग पनि जोडिएको उल्लेख गरे। भारतमा पछिल्लो समय बिग्रँदै गएको द्विपक्षीय सम्बन्ध र साम्प्रदायिक स्थितिका कारण आफ्ना खेलाडी, समर्थक र पत्रकारहरूको सुरक्षामा सम्झौता नगर्ने अडान बंगलादेश सरकारले लिएको छ। बंगलादेशले विश्वकप खेल्न चाहे पनि भारतको सट्टा अर्को आयोजक राष्ट्र श्रीलङ्कामा खेल्ने विकल्प अघि सारेको छ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लामले पनि टोलीको सुरक्षाका लागि सरकारी निर्देशन नै अन्तिम हुने स्पष्ट पारेका छन्। उनले विगतमा सुरक्षाकै कारण हाइब्रिड मोडलमा प्रतियोगिताहरू भएको उदाहरण दिँदै भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको र पाकिस्तानले पनि भारतमा नखेलेको प्रसङ्ग स्मरण गराए।
उनले आईसीसीलाई आफ्नो तर्क बुझाउने प्रयास जारी रहने र खेलाडीको सुरक्षा सुनिश्चित नभएसम्म आफ्नो अडानबाट पछि नहट्ने बताए। यदि आईसीसीले बंगलादेशको माग बमोजिम खेलहरू श्रीलङ्का सारेन र बंगलादेश भारत जान तयार भएन भने उसले विश्वकपबाट बाहिरिनुपर्ने सम्भावना रहन्छ।
बंगलादेशले खेल्नुपर्ने समूह चरणका सुरुवाती तीन खेल कोलकाता र अन्तिम खेल मुम्बईमा तय गरिएको छ। मुस्ताफिजुरलाई आईपीएलबाट हटाएपछि बंगलादेशले आफ्नो देशमा आईपीएलको प्रसारणमा समेत प्रतिबन्ध लगाइसकेको छ। अहिले बंगलादेश र आईसीसीबिच यस विषयमा निरन्तर छलफल भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण