बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माघे सङ्क्रान्तिमा त्रिपक्षीय भिडन्त : पर्दामा सङ्घर्ष, प्रेम र ‘भाइरल चक्कर’ को कथा

बिहीबार, २४ पुस २०८२, १३ : ५३
बिहीबार, २४ पुस २०८२

सारांश

  • माघे सङ्क्रान्तिमा रिलिज हुने तीन नेपाली फिल्महरू 'गोबर गणेश', 'मिरमिरे', र 'भाइरल गोर्खे' बीच प्रतिस्पर्धा हुने भएको छ।
  • 'गोबर गणेश' मा आमाको लागि संघर्ष गर्ने युवकको कथा र बल्छी धुर्वेको निर्देशन रहेको छ भने, 'मिरमिरे' बाबु-छोरीको सम्बन्ध र प्रेम कथामा आधारित छ।
  • 'भाइरल गोर्खे' सामाजिक सञ्जालमा भाइरल बन्न खोज्ने मानिसहरुको कथामा आधारित छ, जसमा सौगात मल्ल र सृष्टी श्रेष्ठको मुख्य भूमिका छ।

काठमाडौँ । फिल्म रिलिजका लागि नेपाली निर्माता–निर्देशकको रोजाइ सधैँ चाडपर्व पर्दै आएको छ । पर्वको समयमा दर्शकको फुर्सद र उत्साह दुवै हुने भएकाले यो समयमा फिल्मले राम्रो व्यवसाय गर्ने उनीहरूको मान्यता छ । यही मान्यताका कारण फिल्महरू एक अर्कासँग भिड्न समेत पछि पर्दैनन् ।

नजिकिँदै गरेको माघे सङ्क्रान्ति (माघ १ गते) लाई लक्षित गर्दै यसपटक तीन ठुला नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । सामाजिक विषयवस्तुको ‘गोबर गणेश’, पारिवारिक भावनाको ‘मिरमिरे’ र समसामयिक विकृतिको ‘भाइरल गोर्खे’ बिचको सङ्क्रान्ति प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

तीन मध्ये ‘गोबर गणेश’ एक युवाले आमाको लागि गर्ने सङ्घर्षको कथामा बनेको हो । हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशन रहेको फिल्मले गाउँबाट सपना बोकेर सहर छिरेको एक युवकको काठमाडौँ छिरेपछि कसरी सपना चकनाचुर हुन्छन् र उसले जीवन धान्न कति सङ्घर्ष गर्नुपर्छ भन्ने समेत देखाइएको छ । बल्छी ध्रुवेको यो निर्देशनमा डेब्यु फिल्म हो ।

फिल्ममा बल्छी ध्रुवेकै मुख्य भूमिका छ । वर्षा शिवाकोटी, निर्मल शर्मा, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतको सशक्त अभिनय पनि फिल्ममा देख्न सकिन्छ । बल्छी ध्रुवे फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई आम नेपाली युवाको कथा भएको दाबी गरिएको छ । फिल्म पनि बल्छी ध्रुवेले नै निर्माण गरेका हुन् । 

त्यस्तै ‘मिरमिरे’ले बाबु–छोरीको सम्बन्ध र त्रिकोणात्मक प्रेम कथा पस्किएको हो । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले आमाको अभावमा छोरीले महसुस गर्ने रिक्तता र बाबुले निर्वाह गर्ने दोहोरो भूमिका पनि देखाउनेछ । फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जनाबिचको त्रिकोणात्मक प्रेमकथा पनि समेटिएको छ ।  फिल्ममा माओत्से गुरुङ, भोलाराज सापकोटा, छुल्ठिम गुरुङ लगायतको अभिनय पनि देख्न सकिन्छ । यार्सा फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मको निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् ।  

यस्तै ‘भाइरल गोर्खे’ अहिलेको कथा हो । सामाजिक सञ्जालमा ‘भाइरल’ बन्नका लागि मानिसहरूले गर्ने हर्कत र त्यसले निम्त्याउने अवस्थालाई फिल्मले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । 

निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । पर्दा बाहिरको सम्बन्धमा उतार चढाव आए पनि यो जोडी पर्दामा भने एकसाथ देखिँदै आएका छन् । फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र सामाजिक सञ्जालकी चर्चित पात्र ‘मिस पवि’ को समेत अभिनय रहेको छ । फिल्मका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप