बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

श्रीमतीलाई पढाएर बनाए सब–इन्सपेक्टर, श्रीमानलाई नै हालिदिइन् मुद्दा

बिहीबार, २४ पुस २०८२, १७ : ४१
बिहीबार, २४ पुस २०८२

सारांश

  • भारतको हापुरमा एक महिला सब-इन्स्पेक्टरले श्रीमान र परिवारविरुद्ध दाइजो उत्पीडनको मुद्दा दायर गरेकी छिन्।
  • महिलाले विवाहमा दाइजोको माग पूरा नभएको र मानसिक तथा शारीरिक रूपमा प्रताडित गरिएको आरोप लगाएकी छन्।
  • पतिले आफूले श्रीमतीलाई पढाएर जागिर लगाएको र झुटो मुद्दामा फसाउन खोजेको आरोप लगाएका छन्।

हापुर/भारत । भारतको उत्तरप्रदेशस्थित हापुरमा एक महिला सब–इन्स्पेक्टर (एसआई) ले आफ्ना श्रीमान् र परिवारविरुद्ध दाइजो उत्पीडनको मुद्दा दर्ता गरेकी छन् । 

पतिले भने आफूले नै पत्नीलाई पढाएर ‘दरोगा’ बनाएको तर अहिले उनले झुटो मुद्दामा फसाउन लागेको आरोप लगाएका छन्, यो घटना हापुरको गणेशपुरा मोहल्लाको हो । बरेली जनपदमा कार्यरत सब–इन्स्पेक्टर पायल रानीले सन् २०२५ नोभेम्बर १३ मा हापुर प्रहरी उपरीक्षक (एसपी) समक्ष उजुरी दिएकी थिइन् । त्यसको आधारमा नगर कोतवालीमा मुद्दा दर्ता भएको छ । पायलले बताएअनुसार उनको विवाह सन् २०२२ डिसेम्बर २ मा पिलखुवा कोतवाली क्षेत्रको पुठा हुसैनपुर गाउँका गुलशनसँग भएको थियो । 

पायल रानीले विवाहका बेला माइती पक्षले पर्याप्त दाइजो दिए पनि ससुराली पक्ष सन्तुष्ट नभएको आरोप लगाएकी छन् । विवाहपछि पति गुलशन, सासू–ससुरा र अन्य आफन्तहरूले थप दाइजो मागेका उनले दर्ता गरेको मुद्दामा उल्लेख गरेकी छन् । उनले आफ्नो उजुरीमा ससुराली पक्षले १० लाख रुपैयाँ (भारु) नगद र एउटा कार मागेको उल्लेख गरेकी छन् ।

माग पूरा नभएपछि उत्पीडन बढेको र आफूलाई मानसिक तथा शारीरिक रूपमा प्रताडित गरिएको, निर्ममतापूर्वक कुटपिट गरिएको र तेजाब फ्याँकेर ज्यान मार्ने धम्की पनि दिइएको उनको आरोप छ । हापुर एसपीको आदेशमा सदर कोतवाली प्रहरीले ती महिलाको उजुरीका आधारमा पति गुलशनसहित ६ जना ससुराली सदस्यविरुद्ध दाइजो उत्पीडन, कुटपिट, धम्की र सम्बन्धमा मुद्दा दर्ता गरेको छ

सन् २०२१ मा भएको थियो कोर्ट म्यारिज

यता पति गुलशनले भने आफूहरू सन् २०१६ देखि प्रेम सम्बन्धमा रहेको र सँगै पढ्ने गरेको बताएका छन् । उनीहरूले सन् २०२१ मा कोर्ट म्यारिज गरेका थिए । त्यसपछि परिवारलाई सम्झाएर सन् २०२२ मा दाइजोबिना नै हिन्दु रीतिरिवाजअनुसार विवाह सम्पन्न भएको उनले बताएका छन् । 

गुलशनले आफूले नै पत्नीलाई पढाएर सब–इन्स्पेक्टर बनाएको दाबी गरेका छन् । उनले श्रीमतीले आफू र परिवारमाथि झुटो मुद्दा दर्ता गराएको बताएका छन् । 

एसपी ज्ञानञ्जय सिंहले पायलको उजुरीका आधारमा मुद्दा दर्ता भइसकेको र घटनाको गहिरो अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रहरीले दुवै पक्षको बयान लिइरहेको र प्रमाणहरू संकलन गरिरहेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप