एनकेएल प्लेयर ट्रायल्स आइतबारदेखि हुने
सारांश
- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको 'प्लेयर ट्रायल्स' दशरथ रङ्गशालामा हुँदैछ।
- एस्ट्रोनिक्स म्यानेजमेन्टको प्राविधिक टोलीले छनोट गरेका १ सय ८० खेलाडी 'प्लेयर ट्रायल्स' मा सहभागी हुनेछन्, जसबाट उत्कृष्ट खेलाडी एनकेएल ड्राफ्टमा छनोट हुनेछन्।
- पहिलो सिजनमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए, र फाइनलमा जनकपुर नाइट्सले काठमाडौँ माभरिक्सलाई पराजित गरेको थियो।
काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको ‘प्लेयर ट्रायल्स’ दशरथ रङ्गशालास्थित कभर्ड हलमा हुने भएको छ । आइतबारदेखि खेलाडी छनोटको ‘प्लेयर ट्रायल्स’ हुने भएकाे हाे । जसमा उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरूले एनेकएल ड्राफ्टमा स्थान बनाउन सक्नेछन् ।
एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टको प्राविधिक टोलीले दोस्रो सिजनको लागि ५ सय १२ जना खेलाडीबाट छनोट गरेका १ सय ८० जना खेलाडी दुई दिने प्लेयर ट्रायल्समा सहभागी हुनेछन् । प्लेयर ट्रायल्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गरिनेछ । र, ड्राफ्टमार्फत ६ टिमले एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।
एनकेएलले नेपाल कबड्डी संघ (एन्का) को सहकार्यमा तयार पारेको प्राविधिक टोलीले प्लेयर ट्रायल्सबाट ड्राफ्टका लागि खेलाडी छनोट एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताएका छन् ।
उनले भने, ‘प्लेयर ट्रायल्सबाट छनोट हुने उत्कृष्ट खेलाडीले ड्राफ्टमा अवसर पाउनेछन् । र, ड्राफ्टमा उपलब्ध खेलाडीहरू लिएर टिम तयार हुनेछन् । त्यसैले दोस्रो सिजनमा खेलाडीसँगै टिमको प्रदर्शन उत्कृष्ट र व्यावसायिक हुने अपेक्षा गरेका छौँ ।’
बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी सङ्घको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष पनि आयोजना गरेको थियो । उसले सङ्घसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो ।
अहिले दोस्रो सिजनको तयारीलाई तीव्रता दिइएको छ । एनकेएल सिजन २ को तयारीमा एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि आयोजना गर्दैछ ।
फ्रेन्चाइज टिमको आधारमा पहिलो सिजनमा ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्ड क्याट्सले प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा आयोजित रोमाञ्चक फाइनलमा काठमाडौँ माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो ।
पहिलो सिजनका दुई कप्तान काठमाडौँका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण