तरबारको धारमा रवि, कुलमान र बालेन एकता
सारांश
- रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको राजनीतिक एकताले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ।
- बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङको कार्यशैली र राजनीतिक धरातल भिन्न रहेको छ।
- एकताको पपुलिजम र नैतिक कमजोरीले वैकल्पिक राजनीतिको भविष्यमाथि प्रश्न खडा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक एवं हालै ऊर्जामन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङबिचको पछिल्लो राजनीतिक एकताले नेपाली राजनीतिको बजारमा नयाँ तरङ्ग पैदा गरेको छ ।
एकातिर भोलिको सपना देखाउने वैकल्पिक शक्ति र अर्कोतिर आजको परिणाम दिने स्थानीय नेतृत्वबीचको यो सहकार्यलाई धेरैले आशाका साथ हेरेका छन्, तर यो मिलन जति उत्साहजनक देखिन्छ, यसभित्रका सैद्धान्तिक सङ्कट र व्यावहारिक चुनौतीहरू उत्तिकै गम्भीर छन् ।
बालेन शाह र रवि लामिछाने दुवै स्थापित राजनीति विरोधी भावनाको जगमा उभिएका पात्र हुन् भने कुलमान घिसिङ स्थापित राजनीतिक शक्ति र पार्टी नेतृत्वसँग सहकार्यमा रहेर देशको स्थायी सत्तालाई नजिकबाट नियालेका र त्यसमै रमाएका पात्र हुन् । यसरी हेर्दा उनीहरूको कार्यशैली र राजनीतिक धरातल भिन्न छ ।
बालेन एक प्रशासकीय अभियन्ता हुन्, जसले कामबाट आफ्नो पहिचान बनाएका छन् । रवि लामिछाने एक संसदीय राजनीतिज्ञ हुन्, जो शक्ति सन्तुलन र समीकरणको खेलमा सामेल छन् । कुलमान घिसिङ चलाख ‘ब्युरोक्रयाट’ हुन्, जो सामान्य प्राविधिक सन्तुलनबाटै आफ्नो बलियो वर्चस्व सोझ्याउन सफल हुँदै आएका छन् ।
बालेनको शक्ति उनको स्वतन्त्रता हो भने कुलमानको शक्ति नेता र सत्ता भक्ति नै हो । कुनै दलको घेराभित्र नभएकाले नै जनताले उनलाई निर्धक्क समर्थन गरेका बालेन र कर्मचारीतन्त्रभित्रको राजनीतिकरण र अस्वस्थ खेलबाट राजनीतिमा लतारिएका कुलमानले दलीय राजनीतिको केन्द्रमा रहेका रविसँग जसरी एकता गरेका छन्, अब उनीहरूको ‘स्वतन्त्र’ छविमाथि व्यापक प्रश्न उठ्नु स्वाभाविक छँदैछ ।
नेपाली राजनीतिमा परम्परागत दलहरूको अकर्मण्यता, लोडसेडिङ र भ्रष्टाचारबाट वाक्क भएका जनताका लागि रवि, रास्वपा, बालेन, हर्क र कुलमान एउटा ‘आशाको दियो’ बनेर उदाएका थिए । तर कुलमान, रवि र बालेन तीनैजना नेतृत्वको छविमा लागेका गम्भीर दागहरूले यो आशालाई अहिले आशङ्कामा बदलेको छ । मुख्य गरी रवि लामिछानेको उदय विशुद्ध लोकरिझ्याइँमा आधारित छ ।
लोकरिझ्याइँको एउटा ठूलो कमजोरी भनेकै यसले समस्याको सतही समाधान खोज्न उद्यत त हुन्छ, तर नेतृत्व स्वयं नैतिक कसीमा खरो उत्रन भने सक्दैन । आज रवि, बालेन र कुलमानको एकता पनि पपुलिजमको आम कमजोरीमै केन्द्रित रहेको देखिन्छ ।
- कमजोर नैतिक धरातल
सहकारी ठगी प्रकरण र नागरिकता/राहदानी विवादमा रवि लामिछानेको संलग्नतालाई केवल ‘राजनीतिक प्रतिशोध’ भनेर पन्छाइनु बौद्धिक रूपमा स्वीकार्य तर्क होइन । विधिको शासनको वकालत गर्ने दलका नेता आफैँ विधिभन्दा माथि रहन खोज्नु पनि बौद्धिक बेइमानी हो ।
रवि लामिछाने हाल विभिन्न कानुनी र नैतिक प्रश्नहरूको घेरामा छन् । बालेन शाह, जो सुशासन र विधिको शासनका प्रखर पक्षपाती मानिन्छन्, उनले विवादित छवि भएका पात्रसँग हात मिलाउँदा उनको आफ्नै नैतिक धरातल कमजोर हुने जोखिम रहन्छ भने 'जेनजी' विद्रोहको अन्तर्यमा लुकेको विध्वंस र भूराजनीतिक षड्यन्त्रको दाउपेचभित्र बालेनको भूमिका पनि प्रश्नको घेरामा तानिएको छ ।
अर्कातर्फ कुलमान घिसिङलाई लोडसेडिङ अन्त्य गर्ने नायकका रूपमा आम नागरिकले उच्च सम्मान गर्ने भए तापनि, पछिल्लो समय उनीमाथि पनि विभिन्न नैतिक, सामाजिक र राजनीतिक प्रश्नहरू उठेका छन् । कहाँसम्म भने उनलाई सार्वजनिक रूपमा प्रश्न सोध्दा उनले प्रश्नलाई लत्याउँदै ‘म कुनै पनि पार्टीको सदस्य छैन’ भन्न भ्याए ।
पार्टी एकता गरेर उपसभापति भइसकेका व्यक्तिले त्यस्तो अभिव्यक्ति दिनु कति उचित हो भन्ने बहस छ । प्राधिकरणले गरेका विभिन्न ठेक्कापट्टा, विशेषगरी ‘हाई डेन्सिटी पोलिथिन’ पाइप खरिद र ट्रान्सफर्मर खरिदमा गुणस्तरहीन सामग्री प्रयोग भएको र त्यसमा घिसिङको संलग्नता रहेको आरोप लाग्ने गरेको छ ।
प्राधिकरणले वास्तविक नाफाभन्दा पनि वित्तीय प्रतिवेदनमा कागजी नाफा देखाएर सर्वसाधारणलाई भ्रममा पारेको भन्ने आरोप केही लेखा विज्ञहरू र संसदीय समितिले उठाएका छन् ।
त्यति मात्र होइन, कुलमानमाथि प्रचण्ड भक्ति र तत्कालीन माओवादी केन्द्रको एजेन्डा बोकेको र सरकारको निर्देशन पालना नगरेको आरोप छ । उनी तत्कालीन माओवादी केन्द्रको भ्रातृ संगठनमा जोडिएर काम गरेको तथ्यले पुष्टि पनि गरेको छ । त्यति मात्र होइन नेपाल–भारत शक्ति विनिमय समितिको बैठकमा नेपाल सरकारको पूर्वस्वीकृति बिना सम्झौता गरेको भन्दै उनीमाथि ‘राष्ट्रिय हित’ विपरीत कार्य गरेको गम्भीर प्रश्न समेत उठाइएको छ ।
सार्वजनिक लेखा समिति र अन्य संसदीय निकायहरूले सोधेका प्रश्नको चित्तबुझ्दो जवाफ नदिएको र संसद्को गरिमालाई उपेक्षा गरेको आरोपसँगै पदमा रहँदा अकुत भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा समेत विचाराधीन रहेको छ ।
यसका बाबजुद पनि समर्थकहरूले बालेनलाई न्यायको पक्षधर मान्छन् भने कुलमानलाई उज्यालोको नायक मान्छन् । यदि यो सहकार्यले आपसी कमजोरी लुकाउने ढालको काम गर्यो भने बालेन, कुलमान र रविप्रतिको बचेखुचेको जनविश्वास पनि धरमराउन सक्छ । राजनीतिमा कानुनी सफाइ र नैतिक श्रेष्ठता दुई फरक कुरा हुन् ।
रवि लामिछाने र कुलमान घिसिङले कतिपय प्राविधिक विषयमा अदालती राहत पाए पनि आम जनमानसको नैतिक अदालतमा उनीहरूमाथि प्रश्नहरू जीवितै छन् । रवि लामिछाने गम्भीर स्वार्थको द्वन्द्वमा समेत तानिएका खेलाडी हुन् । गृहमन्त्री रहँदा आफूमाथि अनुसन्धान भइरहेका निकायहरूको नेतृत्व गर्नु र अनुसन्धानलाई प्रभावित पार्ने खालका गतिविधि गर्नु रविको राजनीतिक बेइमानीको पराकाष्ठा थियो, जो बालेन, कुलमानले जस्तो आजै सहजै बिर्सिहाल्न सकिने खालको छैन ।
- कुलमान र बालेनले नबुझेको रास्वपा
रवि लामिछानेका व्यक्तिगत कमजोरी र बेइमानीहरूले रास्वपालाई एउटा गम्भीर नैतिक संकटमा धकेलेको छ भन्ने कुराको हेक्का राख्न नसकेका बालेन, कुलमान अब निर्णय प्रक्रियामा लोकतान्त्रिक अभ्यासभन्दा व्यक्तिपूजक प्रवृत्ति हाबी भएको रास्वपामा पुरानै दल र त्यसको नेतृत्वकै संस्करण बन्ने निश्चित छ ।
रास्वपाको भविष्य अब रवि लामिछानेको व्यक्तिगत राजनीतिक यात्रासँग मात्र होइन, यो नेपालको वैकल्पिक राजनीतिको भविष्यसँग जोडिएको छ । अनुभूति दिलाउन रास्वपाले लामिछानेको वरिपरि मात्र घुम्ने ‘कल्ट’ मानसिकता त्यागेर सामूहिक नेतृत्व र वैचारिक स्पष्टता अँगाल्यो भने यसको भविष्य सुरक्षित रहन सक्छ, तर बालेन शाह र कुलमान घिसिङको प्रवेशले रास्वपामा यस्तो संस्थागत परिपक्वता तथा पार्टीलाई भावनात्मक नाराबाट निकालेर नीतिगत एजेन्डामा उभ्याउन सक्छ भन्ने अवस्था छैन ।
व्यक्तिलाई पार्टीभन्दा माथि राख्ने प्रवृत्तिले अन्ततः विघटन निम्त्याउँछ, यहाँ त्यो सम्भावना नै धेरै बलियो देखिन्छ । जनताले हिजो रास्वपालाई ‘फरक’ हुनका लागि मत दिएका थिए तर नेतृत्वले सत्ताको लेनदेन र कानुनी छिद्रहरू खोज्नमै तल्लीन भएको देखिएपछि रविबाट झस्किएका बौद्धिक पंक्तिले आजको बालेन, कुलमान र रवि एकतामा गिरिजाप्रसाद कोइरालाबाट प्रताडित कृष्णप्रसाद भट्टराईको राजनीतिक नियतिको सम्झना पनि गरिरहेका छन् ।
तर जे होस्, बालेनले रास्वपाभित्र रहेका अन्य पढेलेखेका र इमानदार युवाहरूको जमातलाई विश्वासमा लिएर पार्टीलाई व्यक्तिबाट संस्थामा बदल्न सके भने अझै पनि सुधारको सम्भावना छ । नेपालको राजनीतिमा विकल्पको आवश्यकता अझै टरेको छैन । तर त्यो विकल्प नेतृत्वको चरित्र र नैतिकतामा आधारित हुनुपर्छ, केवल सनक र गलाको चर्को स्वरमा मात्र होइन ।
- अबका चुनौती
रवि, बालेन र कुलमान तीनैजनाको साझा शक्ति र कमजोरी भनेकै पपुलिजम हो । भावनात्मक आवेगका भरमा समर्थन जुटाउनु र वास्तविक संरचनागत परिवर्तन गर्नु फरक कुरा हो । भावनात्मक एकताले चुनाव त जित्न सकिएला, तर देश सञ्चालनका लागि आवश्यक ठोस विचारधारा र नीतिगत स्पष्टता के हो ? यी तीनबीच कसरी विचारमा एकरूपता कायम हुन्छ ? यो अझै गर्भमै छ ।
रवि, बालेन र कुलमान मिल्नु भनेको केवल तीन व्यक्ति मिल्नु मात्र होइन, यसले पुराना शक्तिहरूलाई एक ठाउँमा ल्याउने उत्प्रेरकको काम पनि गर्न सक्छ । यदि यो शक्ति उदय भयो भने स्थापित दलहरूले राज्यका संयन्त्र प्रयोग गरेर काममा झन् बढी अवरोध सिर्जना गर्न पनि सक्छन् ।
रवि र कुलमान सत्ताको स्वाद चाखिसकेका पात्र हुन् भने बालेन सडक र स्थानीय सरकारको अनुभवमा छन्। यी तीनको प्राथमिकता बाझिने र यसैमा पुराना शक्तिले चलखेल गरिदिन सक्ने प्रबल सम्भावना पनि उत्तिकै छ ।
- निष्कर्ष
नेपाली राजनीतिमा एउटा बलियो तेस्रो धारको आवश्यकता निर्विवाद छ । बालेनको कार्यदक्षता, कुलमानको विज्ञता र रविको राजनीतिक सङ्गठन मिल्नु सकारात्मक हुनसक्छ । तर, यो मिलन स्वार्थको जगमा नभई विचारको जगमा हुनुपर्छ ।
मुख्य गरी बालेनका लागि यो सहकार्य तरबारको धारमा हिँड्नु सरह हो । यदि बालेनले कुलमान र रविलाई सुधार्न र प्रणालीमा ल्याउन सके भने यो ऐतिहासिक उपलब्धि हुनेछ । तर, यदि उनीहरू केवल दलीय स्वार्थको गोटी बने भने, यसले नेपालको वैकल्पिक राजनीतिको सम्भावनालाई दशकौँ पछाडि धकेलिदिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण