काठमाडौँ । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको विशेष अवसरमा गोरखाबाट सुरु भएको नेपाली सेनाको 'एकीकरण टर्च र्याली' शनिबार काठमाडौँ आइपुगेको छ। नेपाल एकीकरणका क्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले प्रयोग गरेको ऐतिहासिक बाटो पछ्याउँदै पदयात्रामा निस्किएको सैनिक टोली दिउँसो ४:५० बजे हनुमानढोका दरबार क्षेत्रमा आइपुगेको हो।

गत पुस २१ गते गोरखा दरबारबाट निस्किएको यो विशेष टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ प्रवेश गरेको हो। पदयात्रामा सहभागी सैनिकहरूले पृथ्वीनारायण शाहको पालामा उहाँको फौजले पहिरिने जस्तै परम्परागत पोसाक र हतियार बोकेका छन्, जसले ऐतिहासिक सैन्य गौरवको झल्को दिएको छ। काठमाडौँ आइपुग्दा टोलीलाई स्थानीय र सुरक्षा अधिकारीहरूले भव्य स्वागत गरेका थिए।

नेपाली सेनाका अनुसार नेपालको भौगोलिक एकीकरणको इतिहासलाई जीवन्त राख्न र ऐतिहासिक गढी तथा पदमार्गहरूको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष यो पदयात्रा आयोजना गरिँदै आएको छ। गोरखाबाट ल्याइएको टर्च (मसाल) लाई सैनिक टोलीले विभिन्न गण र बाहिनीहरूमा हस्तान्तरण गर्दै काठमाडौँसम्म ल्याइपुर्याएको हो।

यस र्यालीको समापन यही पुस २७ गते आइतबार पृथ्वी जयन्तीका दिन गरिनेछ। सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा आयोजना हुने विशेष समारोहका बीच र्याली समापन गरिने कार्यतालिका रहेको छ। उक्त अवसरमा राष्ट्रप्रमुख, सरकारका उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाउने तयारी गरिएको छ।




















तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया