‘नजिकका मान्छेलाई समयमै सोधीखोजी गरिरहनुपर्ने रहेछ’
सारांश
- प्रसिद्ध नेपालीभाषी गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार ४३ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो।
- इन्डियन आइडल विजेता बनेपछि तामाङले विश्वभर सांगीतिक कार्यक्रम गरेका थिए, र उनको मनोज गजुरेलसँग बेलायतमा सांगीतिक यात्रा भएको थियो।
- मनोज गजुरेलले तामाङलाई नेपालीभाषी समुदायलाई जोड्ने व्यक्तिको रूपमा सम्झिए, र उनको निधनमा पश्चिम बङ्गालकी मुख्यमन्त्रीले दुःख व्यक्त गरे।
काठमाडौं । नेपालीभाषी भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङ भौतिक रूपमा अब रहेनन् । आइतबार ४३ वर्षको उमेरमा उनको दिल्लीस्थित निवासमा हृदयघातका कारण निधन भएको छ । गायन रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको विजेता बनेसँगै उनी भारतका साथै नेपालमा समेत चर्चामा आएका थिए ।
इन्डियन आइडल विजेता बनेपछि उनले थुप्रै देशमा सांगीतिक कार्यक्रम गरे । सोही सिलसिलामा २०१४–०१५ तिर उनको बेलायतमा तीन महिने सांगीतिक टुर आयोजना भएको थियो । जसमा उनीसँगै हास्यकलाकार मनोज गजुरेल पनि थिए । मनोजका लागि उक्त कार्यक्रम नै प्रशान्तसँगको अन्तिम भेट बन्यो । किनकि त्यसपछि प्रशान्तसँग भेट हुने समय जुरेन । अब त झन् कहिल्यै जुर्ने छैन । प्रशान्त तामाङ विश्वभरका नेपालीभाषीहरूलाई जोड्ने एउटा कडी भएको धारणा राख्छन् मनोज ।
प्रशान्त तामाङलाई मनोज गजुरेलले यसरी सम्झिए
प्रशान्त तामाङ विश्वभरका नेपालीभाषीहरूलाई जोड्ने एउटा बलियो कडी हुनुहुन्थ्यो । उहाँलाई इन्डियन आइडल जिताउन संसारभरका नेपालीहरूले भोट दिनुभएको थियो, जसले उहाँप्रति मानिसहरूको कति धेरै माया थियो भन्ने प्रष्ट पार्छ ।
प्रशान्तसँग सन् २०१४–०१५ तिर झण्डै तीन महिनाका बेलायत टुर सँगै गर्ने मौका मिलेको थियो । तीन महिनाको त्यो सहयात्राका क्रममा मैले उहाँलाई एकदमै मिलनसार, कम बोल्ने र हँसिलो स्वभावको पाएँ । सांगीतिक कार्यक्रम सकिएपछि अरू कलाकारहरू साथीभाइ र भिडभाडमा रमाइलो गर्न खोज्थे, तर उहाँ भने आफ्नै कोठामा एकान्तमा रमाउन मन पराउनुहुन्थ्यो । प्रस्तुतिपछिको त्यो शान्त र अन्तर्मुखी स्वभाव उहाँको विशेषता थियो ।
उहाँको बोल्ने शैली र त्यो मीठो दार्जिलिङे लवज मलाई असाध्यै मनपर्थ्यो । म झापाको हुनाले पनि उहाँको लवज र मेरो भेगीय लवज झण्डै मिल्थ्यो, जसले गर्दा मलाई उहाँप्रति छुट्टै अपनत्व महसुस हुन्थ्यो । हाम्रा पुर्खाहरू ताप्लेजुङबाट भारत गएका कथाहरू सुन्दा उहाँ मेरै कुनै छिमेकी गाउँको मान्छे हो कि जस्तो आत्मीयता लाग्थ्यो ।
बेलायतमा तीन महिनासम्म एउटै कोठा, एउटै घर र एउटै स्टेज सेयर गर्दा हामी एउटा परिवार जस्तै भइसकेका थियौँ । एकअर्काका सुख–दुःख र कमीकमजोरीहरू हामीलाई राम्ररी थाहा थियो ।
बेलायतबाट फर्किएपछि सामाजिक सञ्जालमा हाम्रो एक-दुई पटक हाइ हेल्लो भयो । धेरै कुरा हुन पाएन । त्यसपछि भौतिक रुपमा उहाँसँग मेरो कहिल्यै भेट्न हुन पाएन । त्यो भेट नै हाम्रो उहाँसँगको अन्तिम भेट भयो ।
मैले उहाँको अभिनय रहेको फिल्म ‘गोर्खा पल्टन’ फिल्म पनि हेरेको थिएँ । उहाँ राम्रो अभिनेता त हुनुहुन्थ्यो नै, मेरो नजरमा उहाँको गायकको परिचय अझ बढी प्रभावशाली थियो । गायकका रूपमा म उहाँलाई धेरै सम्मान गर्थें ।
बिहान (आइतबार) उहाँको बारेमा खबर सुन्दा म स्तब्ध भएको छु । तर नेपाल फर्किएपछि हामी आ–आफ्नो काम र व्यस्ततामा यसरी हरायौँ कि ‘के छ, कसो छ’ भनेर सोध्ने फुर्सद पनि निकालेनौँ । सामाजिक सञ्जालमा कहिलेकाहीँ सामान्य ‘हाइ–हेलो’ त हुन्थ्यो, तर त्यो केवल औपचारिक मात्र थियो । बेलायतको त्यो टुरपछि उहाँसँग मेरो कहिल्यै प्रत्यक्ष भेट हुन सकेन ।
अहिले मलाई एउटा गहिरो आत्मसमीक्षा भइरहेको छ । आफ्ना नजिकका मान्छेहरूलाई समयमै सोधीखोजी गर्नुपर्ने रहेछ भन्ने कुराको ठुलो अनुभूति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण