कालिका पावर कम्पनीको आम्दानी बढ्यो
सारांश
- कालिका पावर कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा नाफा र प्रतिसेयर आम्दानी वृद्धि गरेको छ।
- कम्पनीको प्रतिसेयर आम्दानी ९.०९ रुपैयाँबाट १०.५४ रुपैयाँ पुगेको छ, जुन हाइड्रोपावर क्षेत्रमा उत्साहजनक मानिएको छ।
- कम्पनीले लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
चितवन । कालिका पावर कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो नाफा र प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीको सेयर आम्दानी १५.९५ प्रतिशतले बढेको हो।
सोमबार चितवनको नारायणघाटमा सम्पन्न कम्पनीको १८औँ वार्षिक साधारणसभामा अध्यक्ष सुरेन्द्र पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनअनुसार प्रतिसेयर आम्दानी ९.०९ रुपैयाँबाट बढेर १०.५४ रुपैयाँ पुगेको छ। हाइड्रोपावर क्षेत्रमा यो आम्दानीलाई निकै उत्साहजनक मानिएको छ।
कम्पनीले गत वर्षको तुलनामा एक करोड ३५ लाख १३ हजार ७७० रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ। अघिल्लो वर्ष आठ करोड ४९ लाख आठ हजार ५८९ रुपैयाँ आम्दानी गरेकोमा पछिल्लो वर्ष कुल आम्दानी नौ करोड ८४ लाख २२ हजार ३५९ रुपैयाँ पुगेको छ।
कम्पनीले विद्युत् बिक्रीबाट मात्रै ६ करोड ९३ लाख ६२ हजार ६५१ रुपैयाँ आर्जन गरेको छ। गोरखाको दरौँदी नदीबाट ६ मेगावाट विद्युत् उत्पादन गरिरहेको यस कम्पनीले लगानीकर्तालाई सात प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।
साधारणसभाले हालको चुक्ता पुँजी ९३ करोड ३९ लाख ४९ हजार ५०० रुपैयाँको सात प्रतिशतले हुन आउने ६ करोड ५३ लाख ७६ हजार ४६५ रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ। यसका साथै ३४ लाख ४० हजार ८६६ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पनि स्वीकृत भएको छ। कालिका पावरले अब आफूलाई 'होल्डिङ कम्पनी'का रूपमा विकास गर्ने तयारी थालेको छ। अन्य कम्पनीहरूमा पनि लगानी गर्न सजिलो हुने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सहमहामन्त्री रीना गुरूङले स्वदेशमै रोजगारी सिर्जना र ऊर्जा उत्पादनमार्फत देशलाई फाइदा पुर्याउने कार्यको प्रशंसा गरिन्। कम्पनी सचिव किशोरकुमार डङ्गोलले स्वागत मन्तव्य राखेको सभामा कम्पनीले जलविद्युतका साथै अन्य व्यावसायिक क्षेत्रमा पनि लगानी विस्तार गर्ने लक्ष्य राखेको जानकारी दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण