बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बक्स अफिसमा प्रभासको ‘द राजा साब’ कमजोर, धुरन्धरको व्यापार भने आक्रामक

मङ्गलबार, २९ पुस २०८२, १५ : ०४
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • प्रभासको फिल्म 'द राजा साब' बक्स अफिसमा कमजोर देखिएको छ, जसले अपेक्षा अनुसारको व्यापार गर्न सकेन।
  • रणवीर सिंहको फिल्म 'धुरन्धर' भने रिलिजको एक महिनापछि पनि हलहरूमा बलियो अवस्थामा व्यापार गरिरहेको छ।
  • 'द राजा साब' ले पहिलो दिन ५३ करोड कमाए पनि व्यापारमा गिरावट आयो, जबकि 'धुरन्धर' ले राम्रो कमाई गरिरहेको छ।

मुम्बई । दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘द राजा साब’ बक्स अफिसमा अपेक्षा अनुसार चल्न सकेको छैन। ४०० करोडको ठूलो लगानीमा बनेको यो हरर कमेडी फिल्म प्रदर्शनको तेस्रो दिन आइतबारसम्म आइपुग्दा कलेक्सनमा निकै कमजोर देखिएको छ। 

अर्कोतर्फ, डिसेम्बरमा रिलिज भएको रणवीर सिंहको फिल्म धुरन्धर भने एक महिनापछि पनि हलहरूमा बलियो अवस्थामा देखिएको छ।

सैकनिल्कको रिपोर्ट अनुसार ‘द राजा साब’ ले पहिलो दिन ५३ करोडको ओपनिङ गरे पनि दोस्रो दिन व्यापारमा ५१ प्रतिशतको गिरावट आयो। दोस्रो दिन २६ करोड कमाएको फिल्मले पहिलो आइतबार राम्रो व्यापार गर्ने अनुमान गरिएको थियो, तर कलेक्सन झन् घटेर १९.१ करोडमा खुम्चिएको छ। विश्वभरको कलेक्सन हेर्दा फिल्मले तीन दिनमा १६१ करोड कमाएको छ भने भारतमा यसको कुल नेट कलेक्सन १०८ करोड मात्र रहेको छ। विशेषगरी तेलुगु बाहेकका अन्य भाषाहरूमा यस फिल्मको व्यापार निकै सुस्त देखिएको छ।

यसको ठीक विपरित, रणवीर सिंह स्टारर धुरन्धर प्रदर्शनको ३८औँ दिनमा पनि आक्रामक व्यापार गरिरहेको छ। गत आइतबार मात्रै यस फिल्मले ६.८५ करोडको व्यापार थपेको छ। भारतमा मात्रै धुरन्धरको नेट कलेक्सन ८०५.६५ करोड पुगिसकेको छ भने विश्वव्यापी रूपमा यसले १२५६ करोडको आँकडा पार गरेको छ। प्रदर्शन भएको लामो समय भइसक्दा पनि फिल्मको अकुपेन्सी दर स्थिर देखिनुले यसको लोकप्रियता पुष्टि गरेको छ।

मारुति दासारीको निर्देशनमा बनेको ‘द राजा साब’ मा प्रभासको अपोजिटमा मालविका मोहन, निधि अग्रवाल र रिद्धि कुमार देखिएका छन्। फिल्ममा सञ्जय दत्त र बोमन इरानीको पनि मुख्य भूमिका छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप