शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेस विवाद

गगन र विश्वप्रकाशले थाले कानुनी परामर्श

बुधबार, ३० पुस २०८२, १० : ५३
बुधबार, ३० पुस २०८२

सारांश

  • शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि कांग्रेस महामन्त्रीहरूले कानुनी परामर्श थालेका छन्।
  • भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ, तर पदाधिकारी तहमा उम्मेदवारी दर्ता भएको छैन।
  • देउवाले पार्टी नेतृत्व परिवर्तन वैशाखको महाधिवेशनबाट हुने बताउँदै अहिले नै नेतृत्वको विषय नउठाउन आग्रह गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनी परामर्श थालेका छन्। उनीहरू कानुनविद् तथा आफू निकटका नेतासँग निरन्तर छलफलमा जुटेका हुन्। 

 केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टी एकतामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सोहीअनुसार वार्ता मिल्ने सम्भावना अझै बाँकी रहेको बताएका छन्। सोहीअनुसार थापा र शर्मा अहिले छलफलमा जुटेको उनको भनाइ छ । 

हाल भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइए पनि पदाधिकारी तहमा कसैले उम्मेदवारी दर्ता नगरेको अवस्था छ। 

यसअघि बुधबार बिहान सभापति देउवाले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारलाई टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन आफू तयार रहेको बताएका थिए ।  बुधबार बिहान आफ्नै निवास महाराजगन्जमा महामन्त्रीद्वयसँगको भेटमा देउवाले कानुनी प्रावधानको अध्ययन गरेर निर्णय लिन सकिने बताएका हुन्।

‘माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मेरै हस्ताक्षरमा उम्मेदवारी दर्ता भयो। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा पनि मैले नै हस्ताक्षर गरेँ। अब प्रत्यक्षतर्फ अर्कै साथीलाई हस्ताक्षर गर्ने अधिकार दिन कानुनले मिल्छ कि मिल्दैन, कानुनी रूपमा निर्क्योल गरौँ, म तयार छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले बताए।

देउवाले वैशाखमा तय गरिएको १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन निश्चित भइसकेको भन्दै अहिले नै नेतृत्व परिवर्तनको विषय नउठाउन महामन्त्रीद्वयलाई आग्रह गरेका थिए। ‘मैले सार्वजनिक रूपमा नै अब सभापतिको उम्मेदवार हुँदैन भनेको छु। विधानअनुसार पनि म सभापति बन्न पाउँदिन। केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार वैशाख २८ देखि ३१ गतेसम्म हुने १५औँ महाधिवेशनबाट म उम्मेदवार हुँदैन। त्यतिबेलासम्म धैर्य गर्नुस्,’ उनले भनेका थिए।

देउवाको भनाइ सुनेपछि महामन्त्रीद्वय थप छलफल आवश्यक रहेको बताउँदै निवासबाट बाहिरिएका थिए। 

महामन्त्रीद्वयले भृकुटीमण्डपमा आइतबारदेखि नीति र नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशन अघि बढाएका छन्। तर देउवा समूह र डा. शेखर कोइराला समूहले उक्त महाधिवेशनलाई मान्यता दिएका छैनन्।

विवाद समाधानका लागि दुवै पक्षबाट वार्ता समिति गठन गरिएको थियो। संस्थापन र शेखर कोइराला समूहबाट बालकृष्ण खाण, रमेश लेखक, डा. मिनेन्द्र रिजाल र सहमहामन्त्री जीवन परियार सदस्य थिए भने विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरु घिमिरे र देवराज चालिसे वार्ता समितिमा सहभागी थिए।

वार्ता समितिमा सहमति नजुटेपछि शीर्ष तहमा बैठक भएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप