बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सम्बोधन

‘सत्यको पक्षमा उभिने कि दास बन्ने ? महाधिवेशन प्रतिनिधिले रोज्ने बेला आयो’

रूख चिह्न र चारतारे झन्डा कसैले खल्तीमा हालेर लैजान सक्दैन
बुधबार, ३० पुस २०८२, १७ : १५
बुधबार, ३० पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापाले सम्बोधन गर्दै पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
  • उनले पार्टीभित्र लोकतान्त्रिक विधि, थिति र पद्धतिको खोजी गरेको बताए, तर नेतृत्वले त्यसलाई बेवास्ता गरेको आरोप लगाए।
  • थापाले आफूलाई कारबाही गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई नभएको र यो महाधिवेशन नै वास्तविक नेपाली कांग्रेस भएको दाबी गरे।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रको केही दिन अगाडि देखि सभापतित्व गरिराख्नु भएका श्रद्धेय नेता श्याम दाइ, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माज्यू, पार्टीका केन्द्रीय सदस्यज्यूहरू, यहाँ उपस्थित सबै अग्रजहरू, महाधिवेशन प्रतिनिधिज्यूहरू र साथीहरू; सबैलाई हार्दिक जय नेपाल !

आज हामी नेपाली कांग्रेसको इतिहासको एउटा अत्यन्तै सङ्गीन र ऐतिहासिक मोडमा उभिएका छौँ। विगत केही दिनदेखि हामी निरन्तर रूपमा काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको ‘विशेष महाधिवेशन’ को प्रक्रियामा जुटिरहेका छौँ। यो भेला, यो जमघट र यो महाधिवेशन कुनै सामान्य अवस्थाको उपज होइन। यो एउटा विशिष्ट, असामान्य र बाध्यकारी परिस्थितिको उपज हो भन्ने तथ्य हामी सबैलाई विदितै छ।

यस विशेष महाधिवेशनको आयोजना भइरहँदा हाम्रो काँधमा एउटा गम्भीर जिम्मेवारी थियो- के अझै पनि सिङ्गो पार्टीलाई एकढिक्का बनाएर, भावनात्मक रूपमा जोडेर एकै ठाउँमा उभ्याउन सकिन्छ कि? यो प्रयास गर्नु हाम्रो नैतिक र राजनीतिक कर्तव्य थियो। हामी त्यही पवित्र उद्देश्य बोकेर निरन्तर, अन्तिम घडीसम्म पनि एकताको सूत्र खोजिरहेका थियौँ र अझै पनि हाम्रो मनमा पार्टी एकताको हुटहुटी मरेको छैन। तर, मैले महाधिवेशनको सुरुवाती दिनदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएको थिएँ- यो विशेष महाधिवेशन कुनै व्यक्ति विशेषले बोलाएको भेला होइन। यो त देशभरबाट चुनिएर आउनुभएका २४८८ जना महाधिवेशन प्रतिनिधि साथीहरूले पार्टीको विधानले दिएको आफ्नो विशेषाधिकार प्रयोग गरेर आयोजना गर्नुभएको वैधानिक महाधिवेशन हो। त्यसैले, प्राविधिक रूपमा म यसको आयोजक होइन, म त यहाँ तपाईंहरूको निमन्त्रणामा उपस्थित एउटा ‘पाहुना’ मात्र हुँ। यो महाधिवेशन तपाईंहरूको रगत, पसिना र अधिकारको जगमा उभिएको छ।

म यहाँ एक पाहुनाका रूपमा उपस्थित भए पनि, सँगसँगै नेपाली कांग्रेसको निर्वाचित महामन्त्री हुनुको नाताले पार्टीभित्र देखिएको यो गहिरो सङ्कटलाई टारेर बृहत्तर एकता र समझदारी कायम गराउने सन्दर्भमा पहलकदमी लिनु मेरो स्वाभाविक दायित्व हो। बाहिर सञ्चारमाध्यम र चिया पसलहरूमा जे–जस्ता टीकाटिप्पणी वा छलफल भए पनि, पार्टीभित्रको समझदारी बन्नका लागि त्यो प्रस्ताव पहिला यो गरिमामय हलमा आउनुपर्छ, र यो सार्वभौम हलले जे निर्णय गर्छ, त्यही नै अन्तिम र मान्य हुन्छ भन्ने कुरामा म सुरुदेखि नै अडिग थिएँ र छु।

तर, आज बडो दुःख र गह्रौँ मनका साथ भन्नुपर्छ- सिङ्गो नेपाली कांग्रेस पार्टी आज भृकुटीमण्डपमा आइपुगेको छ, तर पार्टी नेतृत्वले यसलाई आत्मसात् गर्न सकेन। देशभरिका लाखौँ समर्थक र शुभेच्छुकहरू आँखामा आशा र मनमा त्रास लिएर यो महाधिवेशन कसरी टुङ्गिएला भनेर हेरिरहेका छन्। यत्रो भव्य आयोजना, यति विशाल जनसागर र पार्टीका हजारौँ कार्यकर्ताको उपस्थितिका बीच भइरहेको यो कार्यक्रमलाई पार्टीको मूल नेतृत्वले रत्तिभर गम्भीरतापूर्वक लिएन। हामीले यो मञ्चबाट बारम्बार भनेका कुराहरूलाई होस् वा औपचारिक/अनौपचारिक संवादमार्फत पठाएका सन्देशहरूलाई होस्, नेतृत्वले सुन्दै सुनेन। सायद, मेरो कुरा उहाँहरूले बुझ्नु भएन वा मैले बुझाउन सकिनँ। सायद, नेतृत्वलाई सत्य कुरा बुझाउने क्षमता ममा रहेनछ।

  • हामीले के मागेका थियौँ?

केही दिन अगाडि बजारमा के हल्ला चलाइयो? भनियो कि- विशेष महाधिवेशनको पक्षधर महामन्त्रीहरूले पार्टीमा ४० प्रतिशत भागबन्डा खोजे। आजै मात्र केही पत्रपत्रिकामा अर्को समाचार पढें- ‘विशेष महाधिवेशन पक्षधरहरूले गगन थापालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे।’ म यो मञ्चबाटै स्पष्ट पार्न चाहन्छु- त्यो हिजो फैलाइएको हल्ला पनि वाहियात थियो, र आजको हल्ला पनि सरासर झुट हो। हामीले न कहिल्यै ४० प्रतिशत भाग खोज्यौँ, न त मैले प्रधानमन्त्रीको पद मागेँ। हामीले त केवल नेपाली कांग्रेस पार्टीभित्र ‘विधि’ खोजेका थियौँ, ‘थिति’ खोजेका थियौँ र लोकतान्त्रिक ‘पद्धति’ खोजेका थियौँ।

कसैको मनमा पदको लोभ होला, त्यो उहाँहरूको मनको कुरा हो। तर हामीले त्यस्तो कुनै बार्गेनिङ गरेका थिएनौँ। इमानदार प्रयास स्वरूप आज बिहान मात्रै हामी दुई महामन्त्री (म र विश्वप्रकाश शर्मा) पार्टी सभापति शेरबहादुर देउवाको निवासमा समय मागेर गएका थियौँ। उहाँले बोलाएर गएका होइनौँ, आफैँ समय मागेर गएका थियौँ। त्यहाँ पुगेर हामीले उहाँलाई दुई हात जोडेर बिन्ती गर्यौँ- “सभापतिज्यू, हामी सामान्य अवस्थामा छैनौँ। देश र पार्टी असामान्य परिस्थितिबाट गुज्रिरहेको छ। असामान्य अवस्थामा असामान्य र कठोर निर्णय लिनुपर्ने हुन्छ।”

हामीले सभापतिलाई स्पष्ट शब्दमा भन्यौँ- “यदि भदौ २३ र २४ गते देशका नौजवानहरूले सडकमा आएर आफ्नो आक्रोश नपोखेको भए, वा तिनका मातापिताले घरभित्र बसेर त्यो आक्रोशलाई ‘हो, यो ठीक हो’ भनेर अनुमोदन नगरिदिएको भए, आज हामी संसद्को पहिलो दल नै रहन्थ्यौँ। आज पनि मेरै वा हाम्रै नेतृत्वमा सरकार बनिरहेको हुन्थ्यो। त्यस्तो सामान्य अवस्था भएको भए हामी अर्को वर्ष नियमित अधिवेशन गर्थ्यौँ, केही फरक पर्दैन थियो। तर सभापतिज्यू, नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले यत्रो विशाल जनआक्रोश र जनताको आवाजलाई अनदेखा गर्न मिल्दैन।”

मैले उहाँलाई यो पनि भनेँ- “तपाईंप्रति मेरो श्रद्धा र सम्मानमा अलिकति पनि कमी छैन। हिजो पनि थिएन, आज पनि छैन। तर, मैले वा हामी केही व्यक्तिले तपाईंलाई के ठान्छौँ भन्ने कुराले अब अर्थ राख्दैन, देश र जनताले तपाईंलाई र कांग्रेसलाई कसरी हेर्छन् भन्ने कुराले ठूलो अर्थ राख्छ। पार्टीका आम सदस्यहरूको भावनाको अर्थ रहन्छ।”

  • बदलिएको परिस्थिति र नेतृत्वको हठ

बडो विनम्रतापूर्वक म स्मरण गराउन चाहन्छु, असोज २८ गते जब तपाईंले सबै कार्यकारी जिम्मेवारी छाडेर “अब म गएँ, अब म छाड्छु, म अलग बस्छु, पार्टी पनि तिमीहरू नै चलाऊ, निर्वाचन पनि तिमीहरू नै हाँक” भनेर निस्कँदै गर्दा, सबैभन्दा बढी ताली बजाएर जयजयकार गर्ने हामी नै थियौँ। हामीले नै भनेका थियौँ- “हेर्नुस्, सभापति भनेको हाम्रो शेरबहादुर दाइजस्तो हुनुपर्छ, जसले समय बुझेर मार्गप्रशस्त गर्नुभयो।”

तर विडम्बना ! केही दिन बित्न नपाउँदै, तपाईंको अनुपस्थितिमा छटपटाएका, आफ्नो भविष्य अन्धकार देखेका कांग्रेसभित्रका केही स्वार्थ समूहका साथीहरूले तपाईंलाई फेरि तानेर ल्याउनुभयो। तपाईंलाई जबर्जस्ती कुर्सीमा फर्काउनुभयो। तर, उहाँहरूले तपाईंलाई दोहोर्याएर ल्याउँदै गर्दा एउटा गम्भीर कुरा ख्याल गर्नुभएन- यहाँ बागमतीमा धेरै पानी बगिसकेको छ। भदौ २३ र २४ गतेको त्यो विशाल जनविद्रोहपछि परिस्थिति बदलिएको छ। के तपाईं फर्केर आउँदै गर्दा जनताको धारणा बदलिएको थियो? के देशले फेरि मलाई ‘शेरबहादुर देउवा नै चाहियो’ भनेर माग गरेको थियो? थिएन। बिलकुल थिएन।

त्यसकारण हामीले पटक–पटक, घरमै गएर र आज बिहान पनि दोहोर्याएर भन्यौँ- “हामीलाई केही चाहिएको होइन। तपाईंले हामीलाई गलत बुझ्दै हुनुहुन्छ। विश्वप्रकाश शर्मालाई अहिले केही बन्नु छैन। म गगन थापालाई केही बन्नु छैन। यो विशेष महाधिवेशनको हलबाट एउटा ‘अन्तरिम नेतृत्व’ छानौँ। तपाईं जसलाई भन्नुहुन्छ, उसैलाई छानौँ। पूर्णबहादुर खड्कालाई बनाउने हो? डा. शेखर कोइरालालाई बनाउने हो? वा अरू कसैलाई? जसलाई बनाए पनि हुन्छ। केवल यति गर्ने ठाउँ दिनुस् कि, आउँदो फागुन २१ गते देश र जनताको बीचमा चुनावमा जाँदै गर्दा नेपाली कांग्रेसले भदौ २३ गते अघिका आफ्ना दागहरू, कमजोरीहरू र पुराना भारीहरू बिसाएर ‘नयाँ र रूपान्तरित’ भएर आएको छ भनेर भन्न पाउने मौका दिनुस्। जनताको आँखामा आँखा जुधाएर भोट माग्ने वातावरण दिनुस्। मेरो कांग्रेसलाई, हाम्रो कांग्रेसलाई छाती फराकिलो बनाएर, शिर उच्च बनाएर ‘यो हो हाम्रो कांग्रेस’ भनेर चिनाउन पाए पुग्छ। हामीलाई पद चाहिएको छैन।”

सभापतिजीले आज पनि “वैशाखमा अधिवेशन भइहाल्छ नि, त्यो बेलामा सभापति बन्नु” भन्नुभयो। यो जवाफले पुष्टि गर्छ कि उहाँले मेरो कुराको गहिराइ बुझ्नुभएन। यो म ‘सभापति’ बन्ने कुरासँग जोडिएकै विषय होइन। यदि पद नै खोज्ने हो भने त म अहिले सबैभन्दा सुरक्षित र सजिलो अवस्थामा छु। म महामन्त्री छु, विश्वप्रकाश जी महामन्त्री हुनुहुन्छ। हामी संसदीय समितिमा छौँ। भोलि चुनाव लड्दा मलाई देशभरका चार–पाँच ठाउँबाट साथीहरूले “मेरो क्षेत्रमा आइदिनुस्, चुनाव लडिदिनुस्” भनेर बोलाइरहनुभएको छ। हाम्रो राजनीतिक भविष्यको चिन्ता हो र यो? हामी अहिले सडकमा छैनौँ, पदमै छौँ।

मलाई कतिपय शुभचिन्तक साथीहरूले सुझाव दिइराख्नुभएको थियो- “यो चुनाव त कांग्रेसले हार्छ, पक्का हो। बरु तिमी चुप लागेर बस। हारको सम्पूर्ण दोष सभापतिको टाउकोमा हाल्देऊ। नीति पनि फेरिएन, नेतृत्व पनि फेरिएन त्यसैले चुनाव हारियो भनेर पन्छिन सजिलो हुन्छ। तिमी अर्को चुनावको तयारी गर। चुनाव जितेर आऊ, कांग्रेस खुम्चिएर सानो हुन्छ, अनि वैशाखको महाधिवेशनमा ‘अब म चाहिन्छ’ भनेर आऊ, तिम्रो जित सुनिश्चित छ।”

यो सुझाव सुन्दा तार्किक लाग्छ। मैले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि भनेको थिएँ- म त घरमा गएर आनन्दले सुतेर बसे पनि हुन्छ। यो विषय मेरो व्यक्तिगत लाभहानीको होइन, यो नेपाली कांग्रेसको जीवनमरणको विषय हो। कांग्रेसको देशप्रतिको जिम्मेवारीको विषय हो। त्यसैले हामी जोखिम मोलेरै भए पनि पार्टीलाई बचाउन लागिपरेका हौँ।

  • वार्ताको नाटक र निर्वाचन आयोगमा षड्यन्त्र

तपाईंहरूले विगत दुई–तीन दिनदेखि “छिटो गरौँ, छिटो टुङ्ग्याऔँ” भनेर हामीलाई दबाब दिइराख्नु भएको थियो। तर हामीलाई अझै पनि पार्टी एकताको झिनो आशा थियो। यदि हामीलाई पदको लोभ वा अरू कुनै कुराको हतारो भएको भए, यत्रो विशाल जनसागर र स्पष्ट बहुमत महाधिवेशन प्रतिनिधिहरू भएको ठाउँबाट अस्ति नै ताली बजाएर निर्णय पारित गरिदिन्थ्यौँ नि! सजिलैसँग बहुमत छ यहाँ।

तर, हामीले गाली खाएरै भए पनि निर्वाचन तालिका सार्दै गयौँ। किनकि हामी अन्तिम विन्दुसम्म पनि वार्ता र संवादबाटै निकास निस्कन्छ कि भन्ने आशमा थियौँ। म र विश्वप्रकाश शर्मा यहाँ बसिरहँदा, उता संवाद भइरहेको थियो। हामी अझै विकल्पहरू छन् भनेर लचिलो बनिरहेका थियौँ। आज विश्वप्रकाश जीले त यहाँसम्म भन्नुभयो- “ल ठीक छ, नेपाली कांग्रेसले यो चुनावमा प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई नबनाओस्। जसलाई बनाउने हो बनाउनुस्। तर कम्तीमा चुनावमा जाँदै गर्दा यति त घोषणा गरौँ कि- हाम्रो प्रधानमन्त्रीको उम्मेदवार अब श्री शेरबहादुर देउवा होइन।”

हामीले अपमान गर्न खोजेको होइन। उहाँ हाम्रो आदरणीय नेता हो। तर देश र जनताको अगाडि मुख देखाउन नसक्ने बाध्यात्मक अवस्थाले हामीलाई यो भन्न कर लागेको छ। हामीले भनेको यति मात्र थियो- विधिबाट छानौँ, प्रक्रियाबाट छानौँ। हामी सामूहिक नेतृत्व मान्न तयार थियौँ। तर बाहिर निस्केर जनतालाई “हामी बदलियौँ” भन्ने एउटा आधार त दिनुस्।

तर, हामी यहाँ इमानदार भएर संवादको प्रयास गरिरहँदा उहाँहरू (संस्थापन पक्ष) ले के गरिरहनुभएको रहेछ? अहिले आएर बल्ल थाहा भयो। यहाँ हामीलाई निर्वाचन कार्यतालिका सार्न लगाएर अलमल्याउने, र उता सह–महामन्त्री बद्री पाण्डेलाई दिउँसोदेखि नै निर्वाचन आयोगमा गएर ढुकेर बस्न लगाउने काम भएको रहेछ। ठ्याक्कै आयोगको कार्यालय बन्द हुने बेलामा, यता हामीसँग वार्ताको नाटक गर्ने, उता आयोगमा गएर मुद्दा दर्ता गर्ने वा पत्र बुझाउने ‘सेटिङ’ मिलाइएको रहेछ।

कहीँ कतै पार्टी मिलाउनुपर्छ, युवाहरूको कुरा सुन्नुपर्छ, २४८८ महाधिवेशन प्रतिनिधिको भावना बुझ्नुपर्छ भन्ने सोच उहाँहरूमा देखिएन। केवल जालझेल गर्ने, काइते काम गर्ने, रकमी काम गर्ने, मुद्दा मामिला गर्ने, यता एउटा कुरा गर्ने र उता अर्को काम गर्ने प्रवृत्ति देखियो। सभापतिसँग भेट्दा एउटा कुरा, बाहिर प्रवक्ताले अर्को कुरा! आफ्नै पार्टीका महामन्त्रीहरूलाई “मूर्ख बनाइदे है” भनेर षड्यन्त्र गरिँदो रहेछ। आफ्नै घरभित्र, आफ्नै परिवारमा यस्तो छलछाम र रकमी खेल हुन्छ भनेर मैले सोचेको पनि थिइनँ। तर अब भ्रम टुट्यो, उहाँहरूमा इमानदारी र नैतिकताको अंश पनि बाँकी रहेनछ।

  • प्राइभेट कम्पनी र कारबाहीको प्रहसन

मैले भर्खरै समाचार सुनेँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले दुईजना महामन्त्री (गगन थापा र विश्वप्रकाश शर्मा) र एक सह–महामन्त्रीलाई पार्टीबाट निकाल्यो रे! कारबाही गर्यो रे!

म यो मञ्चबाट प्रश्न गर्न चाहन्छु- के नेपाली कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो? मन लाग्यो भर्ना गर्ने, मन लाग्यो निकाल्ने? खबरदार ! कारबाही गर्नुपर्ने त तपाईंलाई हो, जसले पार्टीलाई यो अवस्थामा पुर्यायो। ९ कक्षाको विद्यार्थीले थेसिस लेखेझैँ, कुनै विधि, प्रक्रिया र विधानको मतलब नगरी कारबाहीको पत्र काट्ने?

म नेपाली कांग्रेसको झन्डा बोकेर २०४६ सालको जनआन्दोलनमा रगत बगाएको मान्छे हुँ। २०६२/६३ को आन्दोलनको अग्रमोर्चामा रहेर नेतृत्व गरेको हुँ। मलाई कारबाही गर्ने अधिकार कसलाई छ? यो हलमा उपस्थित २४८८ जना महाधिवेशन प्रतिनिधिहरूलाई मात्र त्यो अधिकार छ। हिम्मत छ भने यी प्रत्येक साथीलाई कारबाही गरेर देखाउनुस्!

तपाईंहरू निर्वाचन आयोग जानुहुन्छ? के हामीलाई निर्वाचन आयोगको बाटो थाहा छैन? यही ठाउँबाट विधिवत् रूपमा विशेष महाधिवेशन प्रारम्भ भएको जानकारी हामीले निर्वाचन आयोगलाई समयमै गराइसकेका छौँ। सत्य कुरा के हो भने- जुन क्षण यो हलमा विशेष महाधिवेशन सुरु भयो, त्यसै क्षणबाट श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति स्वतः भङ्ग भइसकेको छ। हामी अहिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने प्रक्रियामा छौँ। ‘भङ्ग’ भइसकेको समितिले ‘बहालवाला’ महाधिवेशनका आयोजकहरूलाई कारबाही गर्नु हास्यास्पद र अवैधानिक छ।

मलाई नेपालको कानुन, संविधान र न्यायालयप्रति पूर्ण विश्वास छ। निर्वाचन आयोगले कुनै व्यक्तिको सनकलाई होइन, विधान र बहुमत प्रतिनिधिको निर्णयलाई वैधानिकता दिनेछ भन्नेमा म विश्वस्त छु। प्राविधिक रूपमा हेर्ने हो भने पनि, हामीसँग वार्ताको नाटक गरिरहँदा ३:५० को समय मिलाएर आयोगमा पत्र पठाउँदैमा पार्टी कब्जा गर्न सकिँदैन। के सधैँभरि सेटिङ र फिक्सिङबाट पार्टी चल्छ?

एउटा सामान्य कर्मचारीलाई निकाल्दा त स्पष्टीकरण सोधिन्छ, सफाइको मौका दिइन्छ। निजी कम्पनीमा समेत श्रम ऐन लाग्छ। तर, जनताबाट निर्वाचित महामन्त्रीलाई, लाखौँ मत पाएको नेतालाई बाटोबाटै “तँ आजदेखि महामन्त्री होइनस्” भन्न पाइन्छ? हामी यो कथित कारबाहीलाई मान्दैनौँ। रद्दीको टोकरीमा फालिदिन्छौँ।

  • अबको बाटो : सत्य कि दासता?

आदरणीय साथीहरू,

अब निर्णय गर्ने पालो तपाईंहरूको हो। तपाईंहरू प्रत्येकले आज यहाँबाट निस्कँदै गर्दा छातीमा हात राखेर सोच्ने बेला आएको छ। भोलि गाउँ फर्कँदा, टोलमा पुग्दा जब छिमेकीले सोध्नेछन्- “तँ काठमाडौँ गएर के गरेर आइस्?”

त्यो बेला, “म गगन र विश्व सहभागी भएको, परिवर्तनको पक्षमा उभिएको विशेष महाधिवेशनमा सहभागी भएर, सत्यको पक्षमा मतदान गरेर आएँ” भनेर जवाफ दिँदा तपाईंको शिर गर्वले ठाडो हुनेछ। कोही पनि कांग्रेसजनले शिर निहुराउनु पर्ने छैन। तर, यदि “म डराएँ, म भागेँ, म अलमलिएँ” भन्नुभयो भने तपाईंले इतिहासका हजार प्रश्नको उत्तर दिनुपर्नेछ।

हामीले भनेका थियौँ, हामी पार्टी फुट्न दिन्नौँ। र म फेरि भन्छु- यो पार्टी फुटेको छैन। यही हो असली नेपाली कांग्रेस। बी.पी. कोइरालाको विचार, गणेशमान सिंहको त्याग र सुवर्ण शमशेरको निष्ठा बोकेको कांग्रेस यही हो। यहाँ बी.पी. र गणेशमानका परिवारका सदस्य नहोलान्, तर उहाँहरूको विचारका असली सन्तानहरू यही हलमा छन्। कांग्रेसको ‘क्यारेक्टर’ (चरित्र) जसले बोक्छ, कांग्रेस त्यही हो।

म मेरो साथीको बुवा, लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई सम्झन्छु। उहाँलाई तत्कालीन माओवादी विद्रोहीले अपहरण गरेर एउटै कुरा भनेका थिए- “तपाईंले मानिसहरूलाई भेट्दा ‘जय नेपाल’ भन्न छाडिदिनुस्। कांग्रेसको विचार छाडिदिनुस्।” तर उहाँले मान्नुभएन। उहाँलाई रूखमा बाँधेर, घुँडा टेकाएर निर्ममतापूर्वक गोली हानि मारियो। उहाँ सत्यको पक्षमा उभिनुभयो, तर झुक्नुभएन। कांग्रेस भनेको त्यो हो। डराएर, पद जोगाउन, टिकट पाउनका लागि सम्झौता गर्ने कांग्रेस होइन।

त्यसैले, साथीहरू ! कोही पनि विचलित नहुनुहोस्। कसैले “लौ पार्टी फुट्यो, चुनाव चिह्न गयो” भनेर भ्रम छर्ला। ढुक्क हुनुहोस्, कांग्रेस दुईवटा भएको छैन। कांग्रेस एउटै छ र त्यो यहीँ छ। रूख चिह्न र चारतारे झन्डा कसैले खल्तीमा हालेर लैजान सक्दैन। जहाँ विचार छ, जहाँ कार्यकर्ता छन्, जहाँ बहुमत छ, त्यहीँ झन्डा रहन्छ, त्यहीँ चिह्न रहन्छ।

अन्तिम आग्रह

हामी अब निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछौँ। तपाईंहरू मध्ये धेरैले केन्द्रीय समितिमा बस्ने इच्छा देखाउनुभएको छ। म तपाईंहरूको भावनाको कदर गर्छु। तर अहिलेको यो विशिष्ट र सङ्गीन घडीमा हामीले सर्वसम्मत नेतृत्व चयन गर्न सक्यौँ भने त्यसले देशभरि अझ बलियो सन्देश जानेछ। त्यसैले, त्याग गर्न तयार हुनुहोस्।

तपाईंहरू यहाँबाट निस्कँदै गर्दा, सामाजिक सञ्जालमा लेख्दै गर्दा कृपया कसैलाई पनि व्यक्तिगत गालीगलौज नगर्नुहोला। शेरबहादुर देउवा हिजो पनि हाम्रो सभापति हुनुहुन्थ्यो, भोलि पनि उहाँ हाम्रो आदरणीय पूर्वसभापति र अभिभावक रहनुहुनेछ। हामीले यो लडाइँ जितिसकेपछि फेरि उहाँकै आशीर्वाद लिन जानुपर्छ। सबैलाई समेटेर अघि बढ्नुपर्छ।

ग्रास रुटको साथीदेखि काठमाडौँको चिया पसलसम्म, पुतलीसडकको जामदेखि गाउँको चौतारासम्म- आज “कांग्रेस” भन्दा मान्छेले नाक खुम्च्याउने होइन, गर्वले छाती फुलाउने वातावरण हामीले बनाउनु छ। आज तपाईंको साहसले त्यो वातावरण बन्दै गएको छ। यसलाई मर्न नदिनुहोस्।

अबको केही समयभित्रै निर्वाचन समितिले प्रक्रिया अगाडि बढाउनेछ। धैर्य गर्नुहोस्, विचलित नहुनुहोस् र विवेकको प्रयोग गर्नुहोस्। सत्यको जित सुनिश्चित छ।

जय नेपाल !

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन स्थल (भृकुटीमण्डप) मा गरेको सम्बोधनको सम्पादित उतार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गगन थापा
गगन थापा
लेखकबाट थप