आन्तरिक असन्तुष्टि थाँती राखेर चुनावी एजेण्डामा केन्द्रित भयो नेकपा
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले २,४९९ जनाको केन्द्रीय समिति बनाएर कीर्तिमान कायम गरेको छ।
- पार्टीभित्र ठूलो केन्द्रीय समिति र एकता समायोजनलाई लिएर असन्तुष्टि बढेको छ।
- नेताहरूले निर्वाचनमा रणनीति र एकताको महत्वबारे जोड दिएका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले पुस २९ गते दुई हजार ४९९ जना जम्बो केन्द्रीय समितिका सदस्यहरूको सपथग्रहण गराएर कीर्तिमानी राखेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडाबाट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश-विदेश रहेका सबै केन्द्रीय सदस्यलाई एकसाथ सथपग्रहण गराएका थिए । केन्द्रीय नेताहरु, बागमती प्रदेश, विशेष प्रदेशका केन्द्रीय सदस्यहरुले भौतिक रुपमा उपस्थित भएर सपथ लिएका थिए । अन्य प्रदेश र प्रवासका केन्द्रीय सदस्यहरुले डिजिटल प्लेटफर्म मार्फत सपथग्रहण गरेका थिए ।
साविक नेकपा माओवादी केन्द्रमा विधान विपरीत केन्द्रीय समितिको आकार बढाएर एक हजार बढी बनाएको आरोप खेपिरहेका प्रचण्डले एकताका नाममा फेरि सोही गल्ती दोहोर्याएकोमा पार्टीभित्र असन्तुष्टि बढ्न थालेको छ ।
साविक माओवादी केन्द्रका विभिन्न प्रदेशका अध्यक्षहरुले ठुलो पार्टी हुँदा आन्तरिक असन्तुष्टि बढेको स्वीकार गरे । एकता समायोजनलाई उनीहरूले बाध्यात्मक परिस्थितिको उपजको रुपमा बुझ्नुपर्ने निष्कर्ष निकाले ।
माओवादी बागमती प्रदेशका पूर्वअध्यक्ष सरल सहयात्री पौडेलले केन्द्रीय समिति ठुलो हुँदा पार्टीभित्र असन्तुलन र असन्तुष्टि बढेको स्वीकार गरे । यद्यपि त्यस्ता असन्तुष्टिलाई विधि बनाएर महाधिवेशनसबाट हल गर्न सकिने उनको बुझाइ छ ।
‘ठुलो केन्द्रीय समितिले पार्टीभित्र असन्तुलन र असन्तुष्टि देखिएको छ । एकतामा आएका सबैलाई मिलाएर लैजानुपर्ने बाध्यात्मक परिस्थिति छ । विधि बनाएर नै हामी महाधिवेशनसम्म जान्छौँ । सबै कुरा त्यसैले हल गर्छ,’ उनले भने ।
सबै कुरा रणनीतिले मात्र निर्वाचनमा प्रतिफल प्राप्त नहुने पौडेलले निष्कर्ष सुनाए । सामाजिक सञ्जालको ह्याण्डले प्रभाव परेको अवस्थामा एजेण्डाले मात्र जित्न उनले अनुभव सुनाए ।
‘नयाँ-पुराना सबै दल हामीले उठाएका एजेण्डा लिएर हिँडेका छन् । तर माओवादीले उठाएको एजेण्डा गाउँतिर मात्र सीमित भयो । सहरी मतदाताले रुचाएनन् । विस्तारै अहिले बुझ्दै आएका छन् । सुमन सायमी जस्ता सामाजिक अगुवाले भर्खर बुझ्दैछन् । कुलमान, हर्क साम्पाङहरूले पनि बुझ्नेछन् । ढिलोचाँडो उनी हाम्रै एजेन्डामा आउनेछन्’, उनले भने ।
_1eOkxPwCIE.jpg)
एकता समायोजनपछि नेकपाको स्थिति बलियो बन्दै गएको पौडेलले जिकिर गरे । साविक माओवादीले पाएको तुलनामा यस निर्वाचनमा दोब्बर मत आउने उनको दाबी छ । कोशी प्रदेशका नेता हर्कबहादुर नेम्बाङले ठुलो केन्द्रीय समिति बन्दा पार्टीभित्र केही असन्तुष्टि भएपनि चुनावी परिणामलाई नै अप्ठ्यारो हुने स्थिति नभएको जिकिर गरे ।
‘पहिलेको तुलनामा पूर्वमा हाम्रो पार्टीको राम्रो माहोल बनेको छ । ठुलो केन्द्रीय समिति हुँदा असन्तुष्टि छ । तर विस्तारै व्यवस्थापन हुँदै जाला । एकताको बाध्यात्मक परिस्थितिलाई सबैले ख्याल गरेका छन्’, उनले भने ।
यता सुदूरपश्चिमका नेता तथा माओवादीका पूर्वप्रदेश अध्यक्ष हरिराम चौधरीले एकतापछि सुदूरपश्चिममा नेकपाको माहोल राम्रो भएको दाबी गरे । एकता समायोजनमा आएका सबैलाई समेट्न पार्टीभित्र असन्तुष्टि भएपनि महाधिवेशन आयोजक केन्द्रीय प्रतिनिधिको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।
‘केन्द्रीय समिति ठुलो हुँदा केही असन्तुष्टि छ । यो केन्द्रीय समिति भन्दा पनि राष्ट्रिय सम्मेलन आयोजक प्रतिनिधिका रुपमा बुझ्दा राम्रो हुन्छ । जेनजी विद्रोहपछि पार्टीले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिबारे तत्कालीन होइन, दीर्घकालीन रणनीति नै बनाएर अगाडि बढ्नुपर्छ’, उनले भने ।
माओवादी कर्णाली प्रदेशका पूर्वइन्चार्ज कालीबहादुर मल्लले नयाँ केन्द्रीय सदस्य थप नहुँदा असन्तुष्टि बढेको स्वीकार गरे । कालीकोट, दैलेख, सल्यान लगायत जिल्लाका संयोजकलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव कार्यान्वयन नभएकोमा उनले दु:खेसो पोखे । यस विषयमा जानकारी गराउन नेता वर्षमान पुनलाई फोन गर्दा समेत नउठेको उनले बताए ।
‘कर्णालीबाट नयाँ कोही पनि थपिएका छैनन् । केन्द्रीय समितिमा पुराना मात्रै परेकोमा असन्तुष्टि छ । एकतामा आएका अन्य दललाई पनि भागबण्डा गर्नुपरेकाले नयाँलाई थप गर्न सकिएको छैन भनिएको छ । यस विषयमा जानकारी लिन वर्षमानजीलाई फोन गरेको पनि उठेको छैन’, उनले भने । पार्टी एकतापछि कर्णालीमा नेकपा ग्राफ राम्रो बन्दै गएको मल्लले जिकिर गरे । आन्तरिक झगडा नभएमा निर्वाचनमा राम्रो परिणाम ल्याउने उनको बुझाइ छ ।
लुम्बिनीका नेता सुदर्शन बरालले पार्टी एकतापछि साविक माओवादीभित्र असन्तुष्टि बढेको स्वीकार गरे । यद्यपि लुम्बिनी प्रदेशमा नेकपाको जनमत राम्रो रहेको उनको बुझाइ छ ।
‘पहिला नेकपाकालमा सँगै काम गरेका साथीहरु छन् । एकीकृत समाजवादीबाट आएका नेताहरु ग्रोथ भएको छ । एकताका नाममा योग्य, क्षमतावान व्यक्ति पछि परेकोमा असन्तुष्टि बढेको सत्य हो’, उनले भने, ‘अहिले सबैको ध्यान निर्वाचन केन्द्रित रहेकाले खासै असर नगर्ला । तर ग्राउन्डमा नेकपाको माहोल अन्य प्रदेशको तुलनामा राम्रो छ । लक्ष्य हाम्रो पहिलो पार्टी बन्ने नै हो ।’
कांग्रेसको विभाजनले सबैलाई फाइदा हुने देखिएपनि गगन थापा समूहले आधिकारिकता पाएको खण्डमा रास्वपालाई असर गर्ने बरालको बुझाइ छ ।
‘कांग्रेस विभाजनले अलिअलि सबैलाई फाइदा पुग्ला । तर गगन थापा समूहले आधिकारिकता पाएमा प्रत्यक्ष असर रास्वपालाई पर्ने देखिन्छ । पार्टीभित्र असन्तुष्ट पक्षले अब रास्वपालाई भोट हाल्ने अवस्था देखिँदैन’, उनले भने ।
जेनजी विद्रोहपछि विषम परिस्थितिलाई सामना गर्न बलियो कम्युनिस्ट केन्द्र बनाउने उद्देश्यका साथ कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए । तर एकतामा जोडिएका केही पार्टी बाहेक खासै जनमत देखिँदैन । यद्यपि नेकपाका नेताहरुले एकता महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिको रुपमा साविक पार्टीका सबै केन्द्रीय सदस्यलाई समेटेको जिकिर गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विधान अनुसार नेकपाको कार्यसमिति ६०१ जना रहने व्यवस्था छ । एक सय हाराहारीको सचिवालय र करिब ३५ जनाको केन्द्रीय संयोजन समिति रहने व्यवस्था छ । पार्टी एकता भएको तीन महिना पुग्न लाग्दा समेत नेताहरुको कार्यविभाजन हुन सकेको छैन । यता कांग्रेस विभाजनसँगै आधिकारिकता दाबी गर्दै दुवै पक्ष निर्वाचन आयोग र अदालत पुग्ने देखिन्छ । कांग्रेसभित्रको झगडा जेसुकै भएपनि अहिले नेकपाको स्थिति बलियो रहेको पूर्वमन्त्री तथा नेता हरिबोल गजुरेलले जिकिर गरे ।

‘नेतृत्व कसरी अगाडि बढ्छ, त्यसमा भर पर्छ । माथिबाट नै बिग्रियो भने सम्हाल्न गाह्रो पर्छ । चुनावी रणनीति बनाउँदैछौँ । सुमन सायमी लगायत गुठी आन्दोलनका अगुवाहरुको पार्टी प्रवेशले सहरी मत बढाउन मद्दत गरेको छ । सहरी क्षेत्रमा विशेष चुनावी अभियान चलाउनुपर्छ । समग्रमा भन्दा अहिले नेकपाको स्थिति बलियो देखिन्छ’, उनले भने ।
जनमत बढाउने उपाय विचार मिल्नेसँग पार्टी एकता पनि एक माध्यम भएको भन्दै गजुरेलले जाल हान्दा केही केही नराम्रा व्यक्तिहरु पनि आउन सक्ने स्थितिलाई स्वाभाविक मान्नुपर्ने बताए । कांग्रेस विभाजनले कुनै पार्टीलाई फाइदा बेफाइदा भन्दा पनि देशलाई नै असर गर्ने उनको बुझाइ छ । पार्टीको आधिकारिकता नपाइसकेको अवस्थामा अहिले नै चुनावी लेखाजोखा गर्नु हतार हुने गजुरेलले बताए ।
‘कांग्रेस देशकै सबैभन्दा पुरानो पार्टी हो । विभाजनले लोकतन्त्र र देशलाई नै असर पर्नसक्छ । कसले आधिकारिकता पाउँछ, त्यसपछि मात्र चुनावी अंक गणितमा कस्तो असर पर्छ भन्ने विषयमा भन्न सकिन्छ’, उनले भने ।
देशभर नेपाली कम्युनिस्ट पार्टीको ग्राफ बढ्दै गएको छ । अर्का नेता जगन्ननाथ खतिवडा एमालेभित्र चरम निराशा र कांग्रेस विभाजनका कारण त्यसको फाइदा कि नयाँ दल कि नेकपालाई हुनसक्ने विश्लेषण गर्छन् । खतिवडाले २०७९ को निर्वाचनको तुलनामा नेकपाको धेरै राम्रो माहोल बन्दै गएको जिकिर गरे । निर्वाचनमा संख्या महत्त्वपूर्ण भएकाले विभिन्न घटकलाई एकतामा जोड दिएको उनको भनाइ छ ।
‘चुनावका लागि संख्या महत्त्वपूर्ण हुन्छ, पार्टीको लागि गुणस्तर चाहिन्छ । निर्वाचनसम्म पार्टीभित्र अप्ठ्यारो परिस्थिति आउने मैले देखेको छैन । महाधिवेशनमा नेतृत्वले व्यवस्थापन गर्न सकेमा समस्या आउँदैन । अहिले सबैको रणनीति चुनाव जित्ने भएकाले अप्ठ्यारो स्थिति छैन’, उनले भने ।
सपथग्रहण कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले केन्द्रीय समितिको आकार ठुलो भएपनि त्यसलाई आगामी महाधिवेशनमा खिरिलो पार्ने दाबी गरेका थिए ।
‘केन्द्रीय समितिको आकार अत्यन्तै ठुलो छ । यो परिस्थितिको बाध्यता हो । तर यो यस्तै रहँदैन । एक वर्षभित्र नै यस समितिलाई खिरिलो बनाउनुपर्नेछ । त्यसको निम्ति प्रतिस्पर्धा हुनुपर्नेछ’, उनले भने, ‘काम गर्ने व्यक्तिको प्रतिस्पर्धाको आधारमा स्वाभाविक रुपमा तलका कार्यकर्ताले चयन गर्नेछन् । उनीहरु निर्वाचित हुनेछन्, अन्य त्यही ठाउँमा बस्नुपर्नेछ । तल्लो तहमा बस्नुपर्ने हुन्छ । गुनासो गर्ने ठाउँ रहँदैन । अहिले त नेतालाई दोष दिए भइगो कति गाह्रो ।’
नेपालले पार्टी निर्माणमा नीति, विचार, सिद्धान्त, कार्यक्रम र संगठन निर्माण दुई कुरा आवश्यक पर्ने स्पष्ट पारे । यसकै आधारमा विभिन्न पार्टीसँग एकता समायोजनको काम भइरहेको उनले बताएका थिए ।
आगामी निर्वाचन अग्निपरीक्षा भएको निष्कर्ष सुनाउँदै नेपालले सोही अनुसार संयोजक प्रचण्डको नेतृत्वमा चुनाव परिचालन समिति बन्ने र नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणपत्र तयारी समिति बनेको जानकारी गराएका थिए ।
संयोजक प्रचण्डले ‘चल्ते चलाते’ ढंगले देशको अहिलेको परिस्थिति सामना गर्न नसक्ने भएर नै विषम परिस्थितिको सामना गर्न नितान्त नयाँ ढंगले पार्टी एकताको पहलकदमी लिएको तर्क गरे । नेपालको इतिहासमै २० वटा पार्टी एकता समायोजनमा जोडिएको पहिलो घटना भएको उनको भनाइ थियो ।
‘दिनप्रतिदिन झन् शक्तिशाली बन्दै गएको छ । कार्यविभाजन गरेर निर्वाचनमा खटाउनेछौँ । पार्टी सञ्चालन गर्न कति अप्ठ्यारो हुन्छ घटकहरुले बुझेकै कुरा हो,’ प्रचण्डले भने, ‘तर २० घटकलाई विधिसम्मत ढंगले संगठनमा बदल्ने र जनअपेक्षा अनुसार फिल्डमा खट्ने कुरा पक्कै पनि महान्, गम्भीर र जटिल पनि छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण