१० बजे १० समाचार : बालेनको चुनावी दौडदेखि विप्लव–मिराज सहमतिसम्म
काठमाडौँ । आज मिति २०८२ साल माघ महिनाको १ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. बालेनको चुनावी दौड
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिँदैछन् । स्थानीय तहको नेतृत्व सम्हाल्दै आएका बालेन अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत संसदीय राजनीतिमा प्रवेश गर्न लागेका हुन् । उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् ।
मेयर पदमा रहँदाको स्वतन्त्र छविलाई कायम राख्न उनले आगामी माघ ४ गते औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन् । रास्वपाको वरिष्ठ नेताको रुपमा सहमति गरेपनि उनी अहिलेसम्म पार्टीको कार्यक्रममा सहभागी भएका छैनन् ।
राजीनामा दिएलगत्तै उनी रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’ जाने र पार्टीको चुनावी अभियानमा सक्रिय हुने स्रोतले जनाएको छ ।
२. विप्लव–मिराज सहमति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच ४ बुँदे सहमति भएको छ । बिहीबार माइतीघरमा ती दुई पक्षबिच सहमति भएको हो ।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता भएको छ । बिहीबार उज्यालो पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबिच एकता भएको हो । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले हस्ताक्षर गरेका छन् ।
३. नेकपा
नेपाली कम्युनिस्ट पार्टीले पुस २९ गते दुई हजार ४९९ जना जम्बो केन्द्रीय समितिका सदस्यहरूको सपथग्रहण गराएर कीर्तिमानी राखेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडाबाट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश–विदेश रहेका सबै केन्द्रीय सदस्यलाई एकसाथ सथपग्रहण गराएका थिए । केन्द्रीय नेताहरु, बागमती प्रदेश, विशेष प्रदेशका केन्द्रीय सदस्यहरुले भौतिक रुपमा उपस्थित भएर सपथ लिएका थिए । अन्य प्रदेश र प्रवासका केन्द्रीय सदस्यहरुले डिजिटल प्लेटफर्म मार्फत सपथग्रहण गरेका थिए ।
४. रविको मुद्दा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता हुने कि नहुने भन्ने अदालतमा निर्भर हुने देखिएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि हाल विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । महान्यायाधिवक्ता भण्डारीले दिएको निर्देशन अनुसार कास्की, रुपन्देही, काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।
५. कांग्रेस विवाद
भृकुटीमण्डपमा पुस २७ गतेदेखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित गगन थापा नेतृत्वको समिति वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेपछि सभापति शेरबहादुर देउवा समूहले कानुनी परामर्श थालेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवास हात्तिगौडामा पूर्वमहान्यायाधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, डेमोक्रयाटिक लयर्श एसोसिएसनका निवर्तमान अध्यक्ष योगेन्द्र अधिकारी वर्तमान महासचिव ज्ञानेन्द्र अधिकारीसहितका अधिवक्ताहरूसँग नेताहरूले परामर्श गरेका हुन् ।
६. चुनाव सर्ने त्रास
प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्मुख नेपाली कांग्रेस विभाजन भएसँगै यसले पार्ने प्रभावबारे लेखाजोखा हुन थालेको छ ।
कांग्रेसको आन्तरिक कारणले पार्टी विभाजन भए पनि त्यसको समग्र असर मुलुक, व्यवस्था र संविधानमाथि समेत पर्न सक्ने आकलन गरिएको छ । यसका साथै फागुन २१ कालागि घोषित प्रतिनिधि सभा निर्वाचन पनि प्रभावित हुने हो कि भन्ने आशंका बढ्न थालेको छ ।
७. गगन कांग्रेसको निर्णय
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको अध्यक्षतामा पहिलो केन्द्रीय समिति बैठक बसेको छ ।
बिहीबार ललितपुरमा बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी घोषणापत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरेको नेता देवराज चालिसेले जानकारी दिए ।
८. मोर्चामा सकस
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि संघीय लोकतान्त्रिक मोर्चामा रहेका घटक दलहरूबिच उम्मेदवारी दर्ता प्रयोजनमा सिट बाँडफाँटको सकस देखिएको छ । मोर्चामा रहेका सात दलमध्ये चार दलबिच एकता भइसकेको छ ।
९. आर्थिक वृद्धि
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले साउनदेखि असोजसम्मको यो अवधिमा आर्थिक वृद्धिदर सो बराबर रहेको प्रारम्भिक अनुमान गरेको हो ।
यो वर्षको पहिलो त्रैमास देशका लागि सुखद् थिएन । जेनजी आन्दोलनले देश विध्वंश मात्रै भएन, एक सातासम्म देश नै ठप्प हुने अवस्था देखिएको थियो । आन्दोलनका कारण मात्रै झण्डै ८४ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
१०. नगद कारोबारको सीमा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण