मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

हामी नार्सिसिस्टहरूको पञ्जामा कसरी पुग्दैछौँ

शुक्रबार, ०२ माघ २०८२, १२ : ००
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • लेखमा आत्ममुग्ध (Narcissist) नेताहरू र तिनको समाजमा पर्ने प्रभावको बारेमा चर्चा गरिएको छ।
  • अध्ययनले अग्ला उम्मेदवारहरूले चुनावमा बढी मत पाउने देखाएको छ, जसले शारीरिक प्रभुत्वको चाहनालाई संकेत गर्छ।
  • लेखले नार्सिसिस्ट नेताहरूलाई चिन्न र उनीहरूको प्रभावबाट बच्नका लागि सचेतना जगाउनुपर्ने कुरामा जोड दिन्छ।

ग्रीक पौराणिक कथाहरूमा एउटा मान्छे आफ्नै प्रतिबिम्बसँग अथाह प्रेममा पर्छ । त्यो मान्छे बिस्तारै ओइलाउँदै गएर एक दिन मर्छ । तर आजको अमेरिकामा भने त्यो मान्छे मर्दैन । मुख्य कार्यालयहरूमै उसको पदोन्नति हुन्छ । कहिलेकाहीँ त अमेरिकाको राष्ट्रपतिसमेत बन्न पुग्छ ।

हामीले राम्रोसँग बुझ्नुपर्ने हुन्छ । महान् नेताहरू आफ्नो लक्ष्यलाई आफ्नो अहंकारभन्दा माथि राख्छन् । तर ‘नार्सिसिस्ट’ (आत्ममुग्ध) हरू त्यसको ठीक विपरीत हुन्छन् । उनीहरू आफैँलाई विशेष र माथिल्लो कोटिको ठान्छन् । आफ्नो अहंकारलाई सबैभन्दा माथि राख्छन् र हामी बेलाबेला उनीहरूको प्रभावमा परिरहेका हुन्छौँ ।

यहाँनेर प्रश्न उठ्छ– बारम्बार हामी यस्ता मानिसको प्रभावमा कसरी पर्छौं त ?

सन् १८२४ देखि १९९२ सम्मका अमेरिकी राष्ट्रपति निर्वाचनहरूबारे गरिएको एउटा अध्ययनमा सधैँ होचा उम्मेदवारको तुलनामा अग्ला उम्मेदवारहरूले बढी भोट पाउने गरेको देखिएको थियो । सामाजिक, आर्थिक तथा राजनीतिक जोखिमको बलियो ‘प्रेडिक्टर’ को रूपमा उचाइ देखिएको थियो ।

सामाजिक अस्थिरता बढ्दै जाँदा जनताले शारीरिक रूपमा प्रभुत्व र तागत देखाउने नेता खोजेको जस्तो पाइएको थियो । यही नै आजका नार्सिसिस्टहरूले मानिसलाई फसाउने पासो हो ।

झट्ट पढ्दा मानिसलाई यो आलेख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा हो भन्ने लाग्न सक्छ । उनी ‘म यो सबै समस्या हल गर्छु’ भन्दै हल्ला गर्छन् ।

हामी असाधारण उथलपुथलको समयमा बाँचिरहेका छौँ । करोडौँ मानिस महामारीका कारण मरेका छन् । यो पुस्तामा पहिलो पटक लाखौँ मानिस युरोपमा स्थलयुद्धमै मारिएका छन् । जलवायु परिवर्तनले हाम्रो जीवन प्रणालीमा खतरा पैदा गरेको छ । ‘एआई’ पनि हाम्रो जीवन निर्वाहमा खतराका रूपमा अगाडि आइरहेको छ । परिणामस्वरुप धेरै मानिस अत्यधिक अनिश्चितता तथा चिन्ता अनुभव गरिरहेका छन् ।

यो अवस्था अधिनायकवादीहरूका लागि उर्वर छ । उनीहरू हाल विद्यमान अन्योल हटाएर अमनचयन बहाल गर्ने प्रतिज्ञा गरिरहेका छन् । साथै यस्तै बेला नार्सिसिस्टहरू प्रभावशाली रूपमा आत्मविश्वास र आकर्षण पैदा गर्न सक्षम हुन्छन् ।

झट्ट पढ्दा मानिसलाई यो आलेख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा हो भन्ने लाग्न सक्छ । उनी ‘म यो सबै समस्या हल गर्छु’ भन्दै हल्ला गर्छन् । ‘आईएसआईएसका बारेमा सेनाका जर्नेलहरूभन्दा धेरै मलाई थाहा छ’ भन्छन् । आफ्नो सम्पत्तिबारे बढाइचढाइ गर्छन् । आफूले हारेको चुनावको नतिजा स्वीकार्न तयार हुँदैनन् ।

Narcissist1

हत्या गरिएका हलिउडका दम्पतीहरूलाई देखाएर आफूलाई निशाना बनाइएको आरोप लगाउँछन् । तर यो आलेखमा उल्लिखित मेरा विचारहरू ट्रम्पलाई नै हेरेर लेखिएका भने होइनन् । प्रस्तुत आलेखमा मेरो चासो कसरी आम मानिस राजनीति तथा व्यापारमा रहेका ट्रम्प तथा उनीजस्तै मानिसलाई नेताका रूपमा स्वीकार्छन् र उनीहरूबाट आकर्षित हुन्छन् भन्नेमा केन्द्रित छ ।

थोरै मात्र बढाइचढाइले ठूला र रूपान्तरणकारी विचारहरू पैदा हुने वातावरण बन्न सक्छ । तर तथ्यहरूले के देखाउँछन् भने, नार्सिसिजमको मात्रा अत्यधिक भएका व्यक्तिहरू त्यही आधारमा खराब नेताका रूपमा अगाडि आउँछन् । आफ्नो हित प्रवर्द्धन गर्नका लागि उनीहरू मानिसलाई बहकाउन, कानुन तोड्न वा तल्लो स्तरमा गिर्न पनि तयार हुन्छन् ।

अझ राजनीतिमा यस्तो सम्भावना धेरै हुन्छ । अमेरिकी राष्ट्रपतिहरूमा भएको नार्सिसिजमका बारेमा १२० जना विज्ञहरू सम्मिलित एउटा अध्ययन भएको थियो । जसअनुसार शीर्ष तीन नार्सिसिस्टहरूमा लिन्डन बी. जोनसन, रिचर्ड निक्सन र एन्ड्रयु ज्याक्सन त्यस्तो सूचीमा परेका थिए । उनीहरूको विरासत पछि गएर भ्रष्टाचार र बर्बादीमूलक निर्णयमा टुंगिएको थियो ।

नार्सिसिस्टहरू आफूप्रति सबैको ध्यान तानियोस् भन्ने चाहना राख्छन् । आफूमा शक्ति होस् भन्ने चाहन्छन् । उनीहरू सफलतामा आफ्नो जस लिन्छन् । असफलतामा अरूलाई दोष थोपर्छन् ।

अतिशय घमण्डकै कारण ज्याक्सनले सर्वोच्च अदालतलाई समेत बेवास्ता गरे तथा मूलवासी अमेरिकीहरूलाई जबर्जस्ती उनीहरूको भूमिबाट बेदखल गराए । अर्का राष्ट्रपति जोनसनले आफ्ना उपविदेशमन्त्रीले सावधान गराउँदागराउँदै पनि जबरजस्ती भियतनाम युद्धमा हात हाले । त्यस्तै अहंकारमा चुर्लुम्म डुबेर निक्सन वाटरगेट काण्डमै पतन भए ।

व्यापारको क्षेत्रमा पनि नार्सिसिस्टहरू विपद् निम्त्याउँछन् । नार्सिसिस्ट ठहर भएका व्यक्तिहरूले बैंक सञ्चालन गर्दा उनीहरूले जोखिमपूर्ण नीतिहरू लिने गरेको पाइएको छ । त्यस्तै व्यक्तिका कारण सन् २००८ को वित्तीय संकटले थला परेको अर्थतन्त्रको सुधार सुस्त भएको थियो । नार्सिसिस्ट कार्यकारीहरू वस्तुगत अवस्थामा सफलता वा असफलताको आधारमा नभई समाजले गर्ने प्रशंसाले बेसी प्रभावित हुन्छन् । त्यसले गर्दा उनीहरू अझै ठूलो जोखिम मोल्न तयार हुन्छन् । उनीहरू आफ्नो वरपर राखिएका ‘हस बहादुर’ र चाकडीका प्रशंसामा रमाउँछन् । उनीहरूले काम नलाग्ने विचार वा शैली लिने सम्भावना अझै बढी हुन्छ । स्टिभ जब्सको घमण्डले उनलाई अत्यधिक मूल्यको ‘एप्पल लिसा’ बजारमा ल्याउन उकास्यो । जसले अन्ततः उनलाई आफ्नै कम्पनीबाट हात धुनुपर्ने अवस्थामा पुर्‍यायो । हामीले व्यावसायिक खेल क्षेत्रमा पनि नार्सिसिस्टहरूका कारण हुने क्षति सजिलै देख्न सक्छौँ ।

नार्सिसिस्टहरू आफूप्रति सबैको ध्यान तानियोस् भन्ने चाहना राख्छन् । आफूमा शक्ति होस् भन्ने चाहन्छन् । उनीहरू सफलतामा आफ्नो जस लिन्छन् । असफलतामा अरूलाई दोष थोपर्छन् । आफूलाई अरूभन्दा माथि राख्छन् । उनीहरूका लागि नेतृत्व भनेको सेवा गर्ने अवसर होइन, कब्जा गर्ने मौका हो ।

धेरैलाई हामी त्यस्ता नार्सिसिस्टहरूबाट बहकिएका छौँ भन्ने लाग्छ । हामी उनीहरूका सतही आकर्षणबाट लोभिइरहेका हुन्छौँ । तर त्यही आकर्षणलाई मलजल गरिरहेको घमण्डलाई भने चिन्न सक्दैनौँ । अनुसन्धानहरूले नार्सिसिस्टहरू चिन्न अप्ठेरो नहुने देखाएका छन् । उनीहरू आफैँलाई बढाइचढाइ गर्छन् । आफ्नै चर्चाका तस्बिरहरू सामाजिक सञ्जालहरूमा हाल्छन् । कतै हस्ताक्षर गर्दा ठूलो अक्षरमा आफ्नो नाम लेख्छन् । आफूलाई विशेष व्यवहार गर्नुपर्ने ठान्छन् ।

त्यसो नहुँदा आफूलाई ठूलै पीडित भएको जस्तो देखाउन थाल्छन् । आफ्ना गुनासाहरू सुनाउँदै हल्लाखल्ला गर्छन् । विभिन्न अध्ययनहरूमा कतिसम्म पाइएको छ भने नार्सिसिस्टहरूका प्रवृत्तिलाई राम्रोसँग ठम्याउन सक्ने मानिस पनि अन्योलको समयमा त्यस्तै नेता रोज्न पुग्छन् ।

मनोवैज्ञानिकहरूले पत्ता लगाएअनुसार नार्सिसिस्ट नेताहरू कमजोर आत्मबल भएका मानिसलाई धेरै आकर्षण गर्न सक्छन् । हामी आफ्ना बारेमा जति कमजोर धारणा बनाउँछौँ, जति असुरक्षित अनुभव गर्दै जान्छौँ, त्यति नै नार्सिसिस्टहरूबारे हाम्रो सकारात्मक धारणा बन्दै जान्छ ।

उनीहरूलाई समर्थन गर्दा हामीलाई खास प्रकारको सुरक्षानुभूति हुन पुग्छ । हामी आफूप्रति कम खतरा भएको अनुभव गर्न थाल्छौँ । यस्तो प्रवृत्तिको सुरुवात बाल्यकालबाटै हुन्छ । विद्यालय तहमा भएको एउटा अध्ययनअनुसार कक्षाकोठाहरूमा नेता वा अगुवा छनोट हुँदा ९६ प्रतिशत नार्सिसिस्ट प्रवृत्ति देखाउने बालबालिकाहरू छानिने गरेको पाइएको छ ।

तपाईंहरू कुनै नार्सिसिस्ट हाकिम वा नेताको सामना गर्नुपर्ने अवस्थामा हुनुहुन्छ भने उनीहरूका खराब आवेगहरूमा नियन्त्रण गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले उसका गुणहरू छुट्याउनुपर्छ । आलोचना गर्नै पर्ने प्रकृतिका गुणहरूबाहेक अन्य राम्रा गुणमा तपाईंले उनीहरूको प्रशंसा गर्न सक्नुहुन्छ । उनीहरूको निर्णयमा प्रश्न उठाउनुअघि तपाईंले उनीहरूको सिर्जनशीलताको प्रशंसा गर्नुपर्छ । उनीहरूका गतिविधि, प्रस्तुति तथा ठट्टाको प्रशंसा गर्नुपर्छ । त्यसपश्चात् तपाईंले उनीहरूको अहंकारमा चुनौती दिनुभयो भने उनीहरू कम आक्रामक हुन्छन् ।

विवेकी नेताहरू आत्मविश्वास र विनम्रतालाई सन्तुलनमा राख्छन् । उनीहरू आफ्ना कमजोरी तथा आलोचनाहरू ग्रहण गर्ने एवं आफूलाई सुधार्ने शक्ति राख्छन् । नार्सिसिस्टहरू नेतृत्व हत्याउन जोरजुलुम गर्छन् भने विनम्र नेताहरू सकेसम्म नेतृत्वको पहिरनमा आफूलाई पस्कनबाट जोगिन्छन् ।

उदाहरणका लागि पहिलो अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनलाई हेर्न सकिन्छ । उनलाई राष्ट्रपति बन्नकै लागि पनि फकाउनुपरेको थियो । पछि उनी तेस्रो कार्यकाल पनि राष्ट्रपति सहजै बन्न सक्थे । तर, उनी आफैँ त्यसका लागि तयार भएनन् ।

हामीले विनम्र नेताहरूलाई शक्तिमा ल्याउनका लागि हाम्रो विद्यमान नेतृत्व निर्माण एवं छनोट प्रणालीमै आधारभूत परिवर्तन गर्नुपर्ने अवस्था छ । नेता बन्न आफैँ अघि बढेर आउने जोसुकैलाई सहजै पुरस्कृत गर्नुको साटो उनीहरूको गुणदोष केलाएर छान्ने काम गर्नुपर्छ । विभिन्न अध्ययनहरूले देखाएअनुसार त्यस्तो गर्नाले पदोन्नतिमा लैंगिक विभेद कम गर्ने मात्रै नभएर शक्तिशाली भूमिकाहरूमा नार्सिसिस्टहरूलाई पुर्‍याउने काम पनि धेरै हदसम्म कम हुन्छ ।

उनीहरूले आफ्ना योजनाहरूमा जनताको पीडाप्रति सहानुभूति तथा जनताको विश्वास दुबैलाई प्रस्तुत गर्ने प्रयत्न गरेका थिए । संगठनात्मक मनोविज्ञानका ज्ञाताहरूका अनुसार पुरुष नेताहरू तनावमा रहेको अवस्थामा बढी आक्रामक तथा दुर्व्यवहार गर्ने खालका हुने गर्छन् ।

यसका साथै महिलाहरू नार्सिसिस्ट तथा ‘साइकोपाथ’ हुने सम्भावना कम रहन्छ । साथै उनीहरूले सामूहिक हितलाई प्राथमिकता दिने सम्भावना पनि बढी रहने गरेको पाइएको छ ।

संसद्‍मा धेरै महिला सांसद भएका देशहरू युद्धमा जाने सम्भावना कम रहेको पाइएको छ । गत १५ वर्षमा महिलाहरू संलग्न शान्ति सम्झौताहरू ३५ प्रतिशत बढी सफल भएको देखिएको छ । कोरोना महामारीको सुरुवाती चरणमा महिलाहरूको नेतृत्वमा रहेका देशहरू तथा अमेरिकाभित्रकै राज्यहरूमा पनि कोभिड–१९ का कारण हुने मृत्युदर न्यून थियो ।

उनीहरूले आफ्ना योजनाहरूमा जनताको पीडाप्रति सहानुभूति तथा जनताको विश्वास दुबैलाई प्रस्तुत गर्ने प्रयत्न गरेका थिए । संगठनात्मक मनोविज्ञानका ज्ञाताहरूका अनुसार पुरुष नेताहरू तनावमा रहेको अवस्थामा बढी आक्रामक तथा दुर्व्यवहार गर्ने खालका हुने गर्छन् । महिलाहरू धेरै भावनात्मक भएकाले नेतृत्वका लागि योग्य हुँदैनन् भन्ने तर्कलाई यसले खारेज नै गरिदिएको छ ।

हामीले अहंकारी व्यक्तिलाई नेतृत्व सुम्पिने विषय असाध्यै संवेदनशील छ । त्यसले समाज तथा उनीहरू दुबैको जीवनमा ठूलो फरक पार्छ ।

सुरुदेखि नै विनम्रतासाथ व्यवहार गर्ने व्यक्तिहरू नेताका रूपमा छानिनु राम्रो हुन्छ । औसतमा हेर्दा, गरिबी वा अभावबाट गुज्रिएर आएका व्यक्तिहरू बढी प्रभावकारी नेता बन्न सक्छन् । उनीहरू कम ठग हुन सक्छन् । किनभने उनीहरूमा नार्सिसिस्ट हुनसक्ने सम्भावना पनि न्यून हुन्छ । स्वामित्वको लोभ उनीहरूमा कम हुन्छ । त्यसैगरी आर्थिक मन्दीको समयमा आफ्नो व्यावसायिक जीवन सुरु गरेका नेताहरू पनि कम नार्सिसिस्ट हुन्छन् । संघर्षको इतिहासले मान्छेलाई करुणाले भरिपूर्ण बनाएको हुन्छ ।

पक्कै पनि कुनै व्यक्ति कुनै निश्चित समूहको हो भन्दैमा व्यक्तिगत गुण त्यससँग ठ्याक्कै मिल्छ भन्ने हुँदैन । किनभने सबैलाई उस्तै ठान्न मिल्दैन । यद्यपि नार्सिसिस्टहरूलाई राज्य तथा अन्य क्षेत्रका कार्यालयहरूमा निर्वाचित गरेर जिम्मेवारी दिनबाट रोक्नका लागि केही पक्कै गर्नुपर्ने हुन्छ ।

त्यसका लागि सबैभन्दा प्रभावकारी उपाय भनेको आम मानिसमा यसबारेको सचेतना जगाउनु नै हो । व्यापक मात्रामा जागिरको सुरक्षा तथा आयको स्थायित्व हुनसक्दा मतदाता नार्सिसिस्टको पासोमा जाने सम्भावना न्यून हुँदै जान्छ । व्यावसायिक दुनियाँको हकमा कसैको पनि व्यक्तिगत नतिजामा मात्र ध्यान केन्द्रित नगरेर उसले अरूका लागि गरेको योगदानको पनि हिसाब गर्न थालेपछि हामी राम्रा नेताहरूलाई हुर्काउन सक्छौँ ।

हामीले अहंकारी व्यक्तिलाई नेतृत्व सुम्पिने विषय असाध्यै संवेदनशील छ । त्यसले समाज तथा उनीहरू दुबैको जीवनमा ठूलो फरक पार्छ । नार्सिसिस्ट नेताहरू आफ्ना कमजोरी स्वीकार्दैनन् । अन्ततः अझै कमजोर हुँदै जान्छन् । विनम्र नेताहरू आफ्ना कमजोरी सहजै स्वीकार गर्छन् । परिणामस्वरुप उनीहरू थप सबल हुँदै जान्छन् ।

ती नेताहरू महान् हुन्, जसले आफ्ना कमजोरी सुधार्दै हामी सबैलाई उन्नत बनाउन काम गर्छन् ।

(न्युयोर्क टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एडम ग्रान्ट
एडम ग्रान्ट
लेखकबाट थप