प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या
सारांश
- बैतडीका दुई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक र प्रशासनिक काम ठप्प छ।
- सुर्नया र पञ्चेश्वर गाउँपालिकामा अधिकृत पठाए पनि हाजिर नहुँदै अन्यत्रै सरुवा गरिएको छ।
- योजना कार्यान्वयन, सामाजिक सुरक्षा भत्ता र तलब निकासामा समेत समस्या देखिएको छ।
बैतडी । प्रमुख प्रशासकीय अधिकृत नहुँदा जिल्लाका दुई स्थानीय तहमा आर्थिक–प्रशासनिक कामकाज ठप्प भएको छ । जिल्लाको सुर्नया र पञ्चेश्वर गाउँपालिका महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी दुईवटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाए पनि गाउँपालिकामा हाजिर नभई बाटोबाटै अन्यन्त्र सरुवा गरिदिएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।
सुर्नया गाउँपालिका अध्यक्ष अमरबहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काम रोकिएको जानकारी दिए । “पटकपटक मन्त्रालयलाई आग्रह गर्दा बल्लतल्ल पठाएको प्रमुख प्रशासकीय अधिकृत पनि बाटैबाट सरुवा गरिदिएछ । त्यो समस्या समाधान हुनसकेको छैन”, उनले भने ।
सुर्नयाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको निर्वाचन आयोगमा सरुवा गरिएको थियो । पछि गत पुस ६ गते मन्त्रालयले खगेन्द्र भारतीलाई प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो । भारतीलाई पनि गाउँपालिकामा हाजिर नै नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडी सरुवा गरिएको थियो ।
यस्तै, कात्तिक अन्तिम साता मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीको बैतडीकै मेलौली नगरपालिकामा सरुवा गरेको थियो । मन्त्रालयले पुस १४ गते वीरसिंह भण्डारीलाई यहाँ प्रमुख प्रशासकीय अधिकृतमा खटाए पनि हालसम्म हाजिर नभएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
आफू बिदामा रहेकाले हालेसम्म मन्त्रालयले सरुवा गरेको जानकारी नपाएको पञ्चेश्वरमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयन, सामाजिक सुरक्षा भत्ता र तलब निकासाका लागिसमेत समस्या भएको दुवै पालिकाले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण