नेता पोखरेलले भने- म चुनावी प्रतिस्पर्धामा थिइनँ
सारांश
- नेकपा एमालेका नेता आनन्द पोखरेलले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका छन्।
- पार्टीले उम्मेदवार टुंगो लगाएसँगै पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
- दोलखाबाट चुनाव लड्दै आएका पोखरेलको क्षेत्रमा एमालेले पार्वत गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
मकवानपुर । नेकपा एमालेका नेता आनन्द पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफू उम्मेदवारको प्रतिस्पर्धामा नरहेको स्पष्ट पारेका छन् । पार्टीले उम्मेदवारहरूको टुङ्गो लगाएसँगै सामाजिक सञ्जालमार्फत एक नेता पोखरेलले आफू यस पटक चुनावी दौडमा नरहेको बताएका हुन् ।
दोलखाबाट चुनाव लड्दै आएका उनको क्षेत्रमा एमालेले पार्वत गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले महाधिवेशनमा ईश्वर पोखरेल पक्षबाट उपमहासचिव पदको उम्मेदवार बनेका पोखरेल पराजित भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको स्थानमा आफ्नो क्याम्पका गुरुङलाई उम्मेदवार बनाएका हुन् ।
पार्टीभित्र टिकट वितरणलाई लिएर विभिन्न चर्चा भइरहेका बेला पोखरेलले आफूलाई एमालेको सचेत, प्रतिबद्ध र अनुशासित कार्यकर्ताका रूपमा प्रस्तुत हुने र पार्टीको निर्णयलाई आत्मसात् गर्ने बताए । नेता पोखरेलले निर्वाचन केवल सिटको गणित मात्र नभई विचार र राजनीतिक दिशाको निर्णायक सङ्घर्ष भएको बताए ।
‘उम्मेदवार मन परे वा परेनन् । काला वा गोरा । जो आए पनि उत्तराधिकारी विवेकी भए पनि नभए पनि पार्टी हामीले निर्माण गरेका हौँ । त्यसमा अल्झिनु एमालेको संस्कृति होइन ।’ उनले भने, ‘एमालेको चुनाव चिन्ह साझा हो । यसले नै राष्ट्रको भविष्य उज्यालो बनाउने सामर्थ्य राख्नुपर्छ । एमालेले रणनीतिक विषय मात्र नभई वैचारिक दृढता र आत्मनिर्भरताको लय समातेको छ । प्रत्यक्ष निर्वाचनमा एक्लै भिड्ने निर्णय जनतामाथिको अटुट विश्वासको स्पष्ट अभिव्यक्ति हो ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण