गण्डकी एमालेमा चर्चा युवाको, टिकट पुरानैलाई
सारांश
- नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ।
- टिकट वितरणमा युवाभन्दा पुराना अनुहारलाई प्राथमिकता दिइएको छ, जसमा केही महिला उम्मेदवार छन्।
- पार्टीले विभिन्न क्षेत्रमा उम्मेदवार परिवर्तन गरेको छ र केही पुराना नेतालाई पुन: अवसर दिएको छ।
पोखरा । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । सोही क्रममा एमालेले गण्डकीका १८ निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ । उम्मेदवारका रूपमा सार्वजनिक भएका नाम हेर्दा गण्डकीका २ वटा निर्वाचन क्षेत्रमा एमालेले महिलालाई प्रत्यक्ष चुनाव लड्ने अवसर दिएको छ । टिकट वितरणमा युवाभन्दा पुरानै अनुहार प्राथमिकतामा परेका छन् ।
तनहुँ–१ बाट टिकट पाएकी भगवती न्यौपाने यसअघि पालिकाको निर्वाचनमा पराजित भएकी थिइन् । यद्यपि उनले राष्ट्रिय सभा सदस्य बन्ने मौका पाइन् । अहिले उनलाई प्रतिनिधि सभामा अवसर दिन लागिएको हो । राष्ट्रिय सभा सदस्यमा उनको कार्यकाल आगामी फागुन २० सम्म बाँकी छ । राष्ट्रिय सभा सदस्यमा राजीनामा गराएर एमालेले उनलाई प्रतिनिधि सभामा उम्मेदवार बनाउन लागेको हो ।
बागलुङ–२ मा उम्मेदवार बनेकी मन्जु शर्मा पनि पुरानै अनुहार हो । उनी गत चुनावमा माओवादीका देवेन्द्र पौडेलसँग पराजित भएकी थिइन् । कांग्रेस पृष्ठभूमिकी मन्जु चुनावकै लागि एमालेमा प्रवेश गरेकी थिइन् । एमालेभित्र हेभिवेट मानिने केन्द्रीय सचिव पद्या अर्याल र अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष टुका हमाल समानुपातिक सूचीमा छन् । स्याङ्जा–१ बाट सीमा क्षेत्री र बागलुङ–१ बाट मना केसीको नाममा धेरै चर्चा भए पनि उनीहरूले टिकट पाएनन् ।
त्यसो त एमालेले यसपाली दलित क्लष्टर प्रत्यक्षतर्फ छुट्ट्याएको छ । गण्डकीका कुनै पनि क्षेत्रमा दलित उम्मेदवार छैनन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि युवाहरूले टिकट पाउने आम अपेक्षामा तुषारापात भएको छ । एमालेले उठाएका अनुहार युवा र नयाँभन्दा पुराना र पटक–पटक अवसर पाएकाहरू नै छन् । कास्की–१ बाट दिलिप न्यौपाने, २ बाट रश्मी आचार्य र ३ बाट माधव बास्तोलाले टिकट पाउने चर्चा थियो । तर, टिकट दिँदा १ बाट बैनबहादुर अधिकारी, २ बाट कृष्ण थापा र ३ बाट निवर्तमान सांसद दामोदर बैरागीलाई दिइएको छ ।
अधिकारी जिल्ला अध्यक्ष हुन् । थापा जिल्ला इन्चार्ज हुन् । उनी पोखरा महानगरको मेयरमा यसअघि पराजित भएका थिए । २०५४ सालमा पोखरा उपमहानगरको मेयर बनेका उनी २०७०मा संविधान सभामा पराजित भए । २०७४ मा उनी प्रदेश सभामा निर्वाचित भएका थिए । दामोदर गत चुनावमा कास्की–३ बाट निर्वाचित भएका हुन् ।
पर्वतबाट पदम गिरी ह्याट्रिक गर्ने दाउमा छन् । २ पटक कांग्रेसका अर्जुन जोशीलाई हराएका उनलाई यसपाली टिकट दिन नहुने चर्को दबाब थियो । जिल्लामा यही कारणले असन्तुष्टि पनि बढेको एमाले नेताहरू बताउँछन् ।
लमजुङमा एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङलाई नवौँ पटक टिकट दिइएको छ । २०४३ देखि हरेक चुनाव लडेका उनी निवर्तमान सांसद तथा पूर्वसञ्चार मन्त्री हुन् । यसपाली लमजुङमा जमिन्द्रमान घले वा धनन्जय दवाडीले टिकट पाउने चर्चा थियो । गुरुङले अरु कसैले जित्न नसक्ने रिपोर्टिङ गरेर आफैँले टिकट लिएको चर्चा एमाले वृत्तमा छ । उनले गण्डकीका संस्थापक मुख्यमन्त्री समेत भएर काम गरिसकेका थिए ।
मनाङका पोल्देन छोपाङ गुरुङ पनि धेरै अवसर पाउने नेता हुन् । उनी २०७४ मा विजयी भए पनि २०७९ मा पराजित भए । एउटै अनुहारलाई अवसर दिइरहँदा एमाले मनाङ पनि खुसी छैन ।
नवलपुर–२ मा धेरै अवसर पाउनेमध्ये पर्छन् तिलबहादुर महत । २०७४ मा निर्वाचित उनी २०७९ मा पराजित भए । अहिले उनैलाई क्षेत्र र जिल्लाले सर्वसम्मत सिफारिस गरेको थियो । म्याग्दीमा पनि दोहो-याएर हरिकृष्ण श्रेष्ठले टिकट पाएका छन् । उनी गत चुनावमा कांग्रेसका खमबहादुर गर्वुजासँग पराजित भएका हुन् । यसपाली एमालेले म्याग्दीमा चुनाव जित्ने आकलन गरेको छ । बाँकी क्षेत्रमा नयाँ अनुहार उठाइए पनि अवसर पाएकैहरू छन् ।
गोरखा–१ मा यसअघि रामशरण बस्नेत पराजित भएका थिए । अहिले उनको ठाउँमा विद्यार्थी नेता आरसी लामिछानेलाई अवसर दिइएको छ । क्षेत्र नम्बर २ मा पनि नयाँ अनुहार उठाएको छ । यसअघि अब्दुस मियाँ उम्मेदवार बनेकोमा अहिले मिलन गुरुङ उर्फ चक्रे मिलन उम्मेदवार बनेका छन् । तनहुँ–१ मा ०७९ मा एकबहादुर राना उम्मेदवार थिए भने उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उठाइएको थियो । दुवै जना पराजित भएका थिए । अहिले भगवती न्यौपाने उम्मेदार बनेकी छन् । क्षेत्र नम्बर २ बाट किरण गुरुङलाई हटाएर केदार सिग्देललाई उम्मेदवार बनाइएको छ ।
कास्की–१ मा निर्वाचित मनबहादुर गुरुङको ठाउँ अब जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले लिनेछन् । मेयरमा पराजित कृष्ण थापा कास्की–२ बाट उम्मेदार बनेका छन् भने कास्की–३ मा निवर्तमान सांसद दामोदर बैरागी नै उम्मेदवार बने । पर्वतमा पनि पदम गिरी दोहोरिने दाउमा छन् । जिल्ला इन्चार्ज गिरीलाई टिकट दिइएको छ । मनाङमा यसअघि पराजित पोल्देन छोपाङ गुरुङले टिकट पाउँदा मुस्ताङमा प्रदेश सभा चुनाव हारेका इन्द्रधारा विष्टले अवसर पाएका छन् ।
नवलपुरको १ नम्बर क्षेत्रबाट कृृष्णप्रसाद कोइरालालाई छोडेर भागीरथ सापकोटाले टिकट पाउँदा २ बाट तिलबहादुर महत दोहोरिएका छन् । स्याङजाका दुवै क्षेत्रमा नयाँ उम्मेदवार छन् । क्षेत्र नम्बर १ बाट पराजित नारायण मरासिनीले अहिले टिकट पाएनन् । यसपाली पूर्वप्रदेश सांसद मीनप्रसाद गुरुङ उम्मेदवार बन्ने निश्चित भएको छ भने २ मा पालिका अध्यक्षबाट राजीनामा गराएर खिमबहादुर थापालाई उम्मेदवार बनाइएको छ । अघिल्लो चुनावमा यो क्षेत्रबाट पद्या अर्याल प्रतिस्पर्धी थिइन् । अहिले उनी समानुपातिक सूचीमा छिन् ।
बागलुङमा यसअघि पराजित सूर्य पाठकले टिकट पाउने चर्चाका बिच हिराबहादुर केसीलाई उम्मेदवार बनाइएको छ । पाठक यसअघि जनमोर्चाका चित्रबहादुर केसीसँग पराजित भएका थिए । बागलुङ–२ मा मन्जु शर्मा दोहोरिएकी छन् । उनी यसपाली एकल सिफारिस भएकी थिइन् । म्याग्दीमा पनि हरिकृष्ण श्रेष्ठलाई दोहो-याइएको छ ।
गण्डकीमा अघिल्लो निर्वाचनबाट एमालेले ५ वटा निर्वाचन क्षेत्र जितेको थियो । कास्की–२ बाट निर्वाचित विद्या भट्टराईले संसदीय राजनीतिबाटै बिदा लिने घोषणा गरेकी छन् । यसपाली गण्डकीका कुनै पनि क्षेत्रमा कसको जित सुनिश्चित छ भन्ने आकलन गर्न कठिन देखिन्छ । चुनावी एजेण्डा र लहरले यसपालीको नतिजामा उलटफेर गर्ने सम्भावना छ । यद्यपि, अन्य दलहरूले दिने उम्मेदारको अनुहार हेरेर पनि नतिजा तलमाथि हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण