ओखलढुङ्गा एमालेका नेता भन्छन्- हामीलाई भीम रावल बनाउन खोजियो
विराटनगर । टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै ओखलढुंगाका एमाले नेताहरुले आफूहरुलाई भीम रावल बनाउन खोजेको बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला कमिटीले सर्वसम्मत रूपमा सिफारिस गरेका नामहरूलाई हटाएर केन्द्रले आकांक्षी नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै जिल्ला नेतृत्वले आधिकारिक उम्मेदवारलाई नसघाउने र मनोनयन दर्तामै सहभागी नहुने घोषणा गरेको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का ‘जीबी’, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवाल र जिल्ला सदस्यहरूको उपस्थितिमा केन्द्रको निर्णयप्रति कडा आपत्ति जनाए । अध्यक्ष ज्ञानबहादुर खड्का ‘जीबी’ ले पत्रकार सम्मेलनमा बोल्दै जिल्लाले लोकतान्त्रिक र विधिवत प्रक्रिया अपनाएको दाबी गरे ।
‘हामीले जिल्ला कमिटीको विस्तारित बैठक बोलाएर व्यापक छलफल गर्यौं । म पनि उठ्न चाहन्छु भन्ने साथीहरू १८ जना हुनुहुन्थ्यो,’ खड्काले भने, ‘हलको ९५ प्रतिशत म्यान्डेट अम्बिरबाबु गुरुङको पक्षमा थियो । तैपनि सहमतिका लागि हामीले ५ जनाको नाम केन्द्रमा पठाएका थियौँ ।’
जिल्ला कमिटीले सिफारिस गरेका पाँच नामहरूमा ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का (जीबी) र नानीबाबु बुढाथोकी थिए । तर केन्द्रीय सचिवालयले तीभन्दा बाहिरबाट अस्मिता थापालाई उम्मेदवार तोकेपछि विवाद चर्किएको हो ।
केन्द्रले उम्मेदवार तोकेकी अस्मिता थापा स्वयंले आफू चुनाव लड्न तयार नभएको बताएको अध्यक्ष खड्काले दाबी गरे । ‘अस्मिता थापा स्वयं त्यो विस्तारित बैठकमा हुनुहुन्थ्यो । उहाँले हलमै भन्नुभएको थियो म उम्मेदवार होइन, मेरो उमेर पनि पुगेको छैन र म आकांक्षी पनि होइन,’ खड्काले भने, ‘तर जिल्लामा नामै नआएको र स्वयंले उठ्दिनँ भनेको व्यक्तिलाई जब टिकट दिएर पठाइयो, यसले एमालेका आम कार्यकर्ता र मतदाताको शिर निहुराउने काम गरेको छ ।’
पार्टी केन्द्रले ओखलढुङ्गालाई सिध्याउन खोजेको उनीहरुले आरोप लगाए । उपाध्यक्ष कमलप्रसाद न्यौपाने र सचिव अशोक थापाले यसलाई प्रतिशोधको संज्ञा दिएका छन् । ‘पार्टीमा गुट चलाउने अग्रज नेताहरूकै कारण ओखलढुङ्गालाई माया मार्ने हिसाबले यो निर्णय गरिएको हो । ईश्वर पोखरेल ओखलढुङ्गाको भएकै कारण प्रतिशोध साध्नका लागि यसो गरिएको हुन सक्छ,’ उपाध्यक्ष न्यौपानेले भने, ‘यसअघि भीम रावललाई पनि यसैगरी एउटा सिफारिस भएर आयो, अर्कैलाई टिकट दिइयो । अहिले ओखलढुङ्गामा पनि अरु ५ जना नेतालाई भीम रावल बनाउन खोजियो ।’
जिल्ला सचिव अशोक थापाले केन्द्रको यो निर्णय नसच्चिए जिल्ला कमिटी मनोनयन दर्तामै सहभागी नहुने स्पष्ट पारे । ‘केन्द्रीय कमिटीले खराब नियतका साथ ओखलढुङ्गामा उम्मेदवार थोपरेको छ । यही उम्मेदवार बोकेर एमाले ओखलढुङ्गा मनोनयन दर्ता गर्न जाँदैन । यो निर्णय नसच्चिएसम्म जिल्ला कमिटीले यसलाई बोकेर हिँड्नेवाला छैन,’ उनले भने ।
उपसचिव राजीव कटुवाल र अन्य सदस्यहरूले पनि केन्द्रले उम्मेदवार लादेको भन्दै आक्रोश पोखेका छन् । ‘हामीले सिफारिस गरेका ५ जनामध्ये जसले टिकट पाएको भए पनि हामी एकमना एकताका साथ चुनावमा होमिन्थ्यौँ । तर अहिलेको निर्णयले हाम्रो ऊर्जा र उत्साह सकिएको छ,’ सचिव थापाले भने, ‘यही अवस्थामा चुनावमा होमिँदा एमालेको पक्षमा परिणाम आउन सक्दैन । कार्यकर्ता र मतदाताको म्यान्डेट नभएको व्यक्तिलाई भोट हाल्ने उत्साह हुँदैन ।’ उनीहरुले पार्टीभित्रका खराब प्रवृत्तिका विरुद्ध सधैँ लडिरहने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण