रोचक बन्दै गोरखा–२ : प्रचण्ड बाहिरिएपछि बाबुरामको इन्ट्री, कस्तो छ अंकगणित ?
पोखरा । कुनै समय देशका ‘हेभीवेट’ नेताहरूले प्रतिस्पर्धा गर्ने गण्डकी प्रदेशका निर्वाचन क्षेत्रहरू आजभोलि शीर्ष नेताको रोजाइमा खासै पर्न छाडेका छन्। त्यसो त गण्डकी शीर्ष नेताका लागि सुरक्षित पनि मानिन्थ्यो। तर, गोरखा जिल्लाको चुनावी समीकरण यसपटक भने फेरिने देखिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा छोडेर अन्यत्रै जाने तयारी गरेपछि यहाँ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उम्मेदवारी पक्का भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। चुनावी सक्रिय राजनीतिमा नलाग्ने निधो गरिसकेका भट्टराईको ‘इन्ट्री’ ले गोरखा क्षेत्र नम्बर २ पुनः राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेको छ।
गत निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले यसपटक रुकुम पूर्वबाट चुनाव लड्ने तयारी गरेका छन्। यस्तै, गोरखालाई आफ्नो आधार इलाका मान्दै आएका माओवादीका अर्का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि जन्मथलो छोड्दै सिराहाबाट उम्मेदवारी दिने भएका छन्। यसैगरी, बागलुङ–२ बाट निर्वाचित देवेन्द्र पौडेलले यसपटक नवलपरासी–२ रोज्दा गण्डकी प्रदेशका पुराना ‘हेभीवेट’ हरूको रोजाइमा गण्डकी नपरेको प्रष्ट हुन्छ।
प्रचण्ड बाहिरिए पनि गोरखा–२ को चुनावी रौनक भने घटेको छैन। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यही क्षेत्रबाट उम्मेदवारी दिने भएपछि यहाँको चुनावी माहोल फेरि गर्माएको हो। अघिल्लो निर्वाचनमा प्रचण्डलाई ठाउँ छोडेका भट्टराई यसपटक आफैँ मैदानमा उत्रिने भएपछि यहाँको प्रतिस्पर्धा पेचिलो बन्ने देखिएको छ। गोरखा–२ मा दलहरूले अघि सारेका उम्मेदवारका कारण यो क्षेत्र चर्चामा छ।
नेकपा एमाले र माओवादी केन्द्रले गोरखा–२ मा उठाएका उम्मेदवार नितान्त फरक पृष्ठभूमिका छन्। एमालेले ‘गुन्डा नाइके’ को पहिचान बनाएका मिलन गुरुङ (चक्रे मिलन) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अरूलाई उठाउँदा जित्ने सम्भावना नदेखिएको र युवा जमातलाई आकर्षित गर्न गुरुङलाई अघि सारिएको एमाले स्रोतको बुझाइ छ। यद्यपि, एमालेभित्रै विवादित छविका व्यक्तिलाई टिकट दिइएको भन्दै आलोचना र असन्तुष्टि समेत बढेको छ।
यता, माओवादी केन्द्रले भने ‘बौद्धिक नेता’ को छवि बनाएका लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने पक्का गरेको छ।
- कांग्रेस र रास्वपा टुङ्गिन बाँकी
गोरखा–२ का प्रमुख प्रतिस्पर्धीमध्ये नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुङ्गो लगाउन बाँकी छ। कांग्रेसले पालुङटार नगरपालिकाका पूर्वमेयर दीपकबाबु कँडेललाई उम्मेदवार बनाउने लगभग निश्चितजस्तै छ। यद्यपि, प्रदेश सभाका पूर्वसांसद प्रकाशचन्द्र दवाडी पनि दौडमा छन्। अघिल्लो पटक गठबन्धनका कारण माओवादीलाई सघाएको कांग्रेस यसपटक आफ्नै उम्मेदवारसहित मैदानमा उत्रिँदा प्रतिस्पर्धा कडा हुनेछ। त्यस्तै, रास्वपाले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाउने निश्चित छ।
- कस्तो छ अंकगणित ?
२०७९ को चुनावमा प्रचण्डले २६ हजार १०९ मत ल्याएर जित्दा बुर्लाकोटीले १२ हजार ६३९ मत पाएका थिए। सोही चुनावमा एमालेका अब्दुस मियाँले ७ हजार ३९५ मत मात्र ल्याएका थिए। यसपटक आक्रामक संगठन विस्तार गरेको रास्वपाले नतिजा उल्टाउन सक्ने दाबीसहित चुनावी तयारी गरेको छ।
विगतमा गठबन्धनका कारण एकतर्फीजस्तै नतिजा आउने गोरखा–२ मा यसपटक कडा भिडन्त हुने देखिएको छ। एकातर्फ डा. बाबुराम भट्टराईको विरासत छ भने अर्कोतर्फ कमजोर संगठनका बाबजुद एमालेका चर्चित उम्मेदवार चक्रे मिलन छन्। माओवादीका बौद्धिक उम्मेदवार उठ्दा रास्वपा बढ्दो ‘क्रेज’ का साथ मैदानमा उत्रिने छ। कांग्रेस पनि विशेष महाधिवेशनपछि जुर्मुराएको छ। विभिन्न कारणले गोरखा–२ को नतिजा कसको पोल्टामा पर्छ भन्ने अनुमान गर्न कठिन छ।
२०७४ मा कांग्रेस र नयाँ शक्ति मिलेका थिए। नयाँ शक्तिबाट उम्मेदवार बनेका भट्टराई ३१ हजार ८०७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए। उनी २०७० मा गोरखा–१ बाट र २०६४ मा गोरखा–२ बाटै निर्वाचित भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण