शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पत्रकार जन्मदेव जैसीले गराए प्रलोपाबाट भक्तपुर–२ मा उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, २० : ५१
मङ्गलबार, ०६ माघ २०८२

भक्तपुर । पत्रकार जन्मदेव जैसीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मंगलबार उम्मेदवारी दर्ता गराएका छन् ।

कालिकोट स्थायी घर भएका प्रलोपाका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार सङ्घ नेपालका अध्यक्ष जैसीले पार्टी अध्यक्ष परिषद्का सदस्य एवं पूर्वसांसद सन्तोष परियारको प्रस्ताव तथा दयाराम वाग्लेको समर्थनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता लगत्तै जैसीले आफ्नो चुनाव चिन्ह ‘आँखा’ रहेको स्पष्ट पार्दै अब आँखा चिम्लेर होइन, आँखा खोलेर राजनीति गर्ने समय आएको उल्लेख गर्दै समस्या देख्ने र समाधान खोज्ने राजनीतिको आवश्यकता औँल्याएका छन् ।

लामो समयदेखि पत्रकारिता, श्रमजीवीको हक–अधिकार र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका जैसीले भक्तपुरलाई इतिहास, संस्कृति र श्रमको शहरका रूपमा चित्रण गर्दै अझै पनि आधारभूत समस्या समाधान हुन नसकेको बताए ।

उनका अनुसार भक्तपुरमा पानी र ढल व्यवस्थापनको समस्या यथावत् छ, युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर छैन, विकासको नाममा सम्पदा र खेती नष्ट हुँदै गइरहेका छन् भने जनताको आवाज संसद्सम्म प्रभावकारी रूपमा पुग्न सकेको छैन । यिनै समस्याको समाधानका लागि आफू प्रतिनिधि सभा निर्वाचनमा होमिएको भन्दै जैसीले मतदातालाई ‘आँखा’ चिन्हमा मतदान गर्न आह्वान गरेका छन् ।

उम्मेदवारी घोषणाका क्रममा उनले प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारप्रति आभार व्यक्त गर्दै पार्टीका अभिभावक डा.बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की तथा अध्यक्ष परिषद्का सदस्य सुदन किराती, दुर्गा सोब र ओजस्वी भट्टराईको साथ र समर्थनले थप ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप