बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केन चम्किएपछि १० खेलाडीमा सीमित बायर्न म्युनिख नकआउट चरणमा

बिहीबार, ०८ माघ २०८२, ०९ : २२
बिहीबार, ०८ माघ २०८२

सारांश

  • ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले युनियन सेन्ट गिलोइसलाई पराजित गर्यो र अन्तिम १६ मा प्रवेश गर्यो।
  • खेलमा केनले पेनाल्टी चुकाए पनि बायर्नले जित हासिल गर्यो र च्याम्पियन्स लिगको लिग चरणमा घरेलु मैदानमा अपराजित रह्यो।
  • किम मिन-जे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा सीमित भयो।

म्युनिख । स्ट्राइकर ह्यारी केनको दुई गोलको मद्दतले युनियन सेन्ट गिलोइसलाई पराजित गर्दै १० खेलाडीमा सीमित बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा केनले एक पेनाल्टी चुकाए पनि टोलीको सहज जित सुनिश्चित गरे।

यो जितसँगै भिन्सेन्ट कोम्पनीको टोली ७ खेलबाट १८ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बायर्न अहिले शीर्ष स्थानको आर्सनलभन्दा ३ अङ्कले पछाडि छ भने तेस्रो स्थानको बार्सिलोनाभन्दा ५ अङ्कले अगाडि छ।

पराजित बेल्जियन च्याम्पियन युनियन भने ६ अंकका साथ ३१ औँ स्थानमा छ। उसलाई प्ले–अफमा पुग्न कम्तीमा २४ औँ स्थानभित्र पर्नु पर्ने दबाब छ।

डेभिड ह्युबर्टको युनियनले पहिलो हाफमा बायर्नलाई कडा टक्कर दिएको थियो। तर, दोस्रो हाफको सुरुवातमै केनले माइकल ओलिसेको कर्नरमा हेडरमार्फत गोल गर्दै बायर्नको डेडलक तोडे। त्यसको तीन मिनेटभित्रै केनले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल थपे। यो सिजन २९ खेलमा केनको यो ३५ औँ गोल हो।

खेलको एक घण्टापछि किम मिन–जे दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि बायर्न १० खेलाडीमा खुम्चिएको थियो। यद्यपि, युनियनले त्यसको फाइदा उठाउन सकेन। उल्टै बायर्नले तेस्रो गोल गर्ने अवसर पाएको थियो। केनले प्रहार गरेको अर्को पेनाल्टी बारमा लागेर फर्कियो भने ओलिसेले ६ यार्डबाट गोल गर्ने मौका खेर फाले।

यो नतिजासँगै बायर्नले च्याम्पियन्स लिगको लिग चरणमा आफ्नो घरेलु मैदानमा अपराजित यात्रालाई ३८ खेल पुर्‍याएको छ। बायर्नले सन् २०१३ यता घरेलु मैदानमा हार बेहोरेको छैन। यस सिजन बायर्नले सबै प्रतियोगितामा गरी मात्र एक खेल हारेको छ, जुन नोभेम्बरमा आर्सनलविरुद्धको अवे खेल थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप