घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी
सारांश
- भोजपुरका दुई दिदीबहिनीले ४२ वर्षदेखि ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन्।
- उनीहरूले परम्परागत चर्खा र मेसिन प्रयोग गरी स्विटर, चोलो, ब्लाउज जस्ता कपडा बनाउँछन्।
- उद्योगले वार्षिक सात लाखसम्मको कारोबार गर्छ, र उत्पादन देश विदेशमा उपहारका रूपमा जान्छ।
भोजपुर । भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन् ।
आधुनिक प्रविधि र रेडिमेड कपडाको बढ्दो प्रयोगका बीच पनि परम्परागत सीपको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले रसिला ताम्राकार र हीरामाया ताम्राकारले ४२ वर्षदेखि निरन्तर रूपमा यो पेसालाई जीवित राख्दै आएका हुन् ।
परम्परागत चर्खा तथा होजियारी मेसिनको प्रयोग गरी ऊनी धागोबाट स्विटर, चौबन्दी चोलो, ब्लाउज, मफ्लर, टोपीलगायत कपडा उत्पादन गर्दै आएको रसिला ताम्राकारले बताइन् । विद्यार्थी, स्थानीय बासिन्दा तथा विशेष अर्डरका ग्राहकको मागअनुसार डिजाइन र साइजमा कपडा तयार गर्ने गरिएको उनको भनाइ छ ।
विगतमा भोजपुरमा आधा दर्जनभन्दा बढी यस्ता घरेलु ऊनी उद्योग सञ्चालनमा रहे पनि पछिल्ला वर्षहरूमा अधिकांश बन्द भइसकेका छन् । विविध चुनौतीको सामना गर्दै आफूहरूले चार दशकदेखि यही पेसालाई निरन्तरता दिँदै आएको उनले बताइन् ।
“हामीले २०४० सालदेखि निरन्तर यही पेसा गर्दै आएका छौँ,” रसिला ताम्राकारले भनिन्, “पहिला धेरैको रोजगारी बनेको यो पेसा अहिले लोप हुने अवस्थामा पुगेको छ । परम्परागत सीप जोगाउने उद्देश्यले नै हामी यसमा टिकिरहेका छौँ ।”
‘अजिमा ऊनी वस्त्रालय’ नामबाट सञ्चालन भइरहेको यस उद्योगबाट वार्षिक करिब रु सात लाखसम्मको कारोबार हुने गरेको छ । कच्चा पदार्थ तथा अन्य खर्च कटाएर पनि करिब ५० प्रतिशतसम्म आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । यहाँ उत्पादन भएका ऊनी कपडा उपहारका रूपमा देशका विभिन्न जिल्लासँगै विदेश पनि पुग्ने गरेको हिरामाया ताम्राकारले जानकारी दिइन् । उद्योग सञ्चालनका लागि धागो तथा अन्य कच्चा पदार्थ धरान, इटहरीलगायत सहरबाट ल्याइने गरिएको छ ।
स्थानीय तहबाट प्रवर्द्धन, सीप हस्तान्तरणका कार्यक्रम तथा बजार व्यवस्थापनमा सहयोग भएमा परम्परागत घरेलु उद्योगले रोजगारी सिर्जना गर्नाका साथै स्थानीय संस्कृति संरक्षणमा पनि योगदान पुग्ने यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण