बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्युतको जागिर छाडेर राउतसँग भिड्दै चौधरी

बिहीबार, ०८ माघ २०८२, १५ : ३९
बिहीबार, ०८ माघ २०८२

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीले पदबाट राजीनामा दिएर साथ दिएका छन् । 

डा.दीपक चौधरीले प्राधिकरणबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । चौधरी उनेपाको तर्फबाट सप्तरी–२ मा उम्मेदवार बनेका छन् । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत पनि चुनावी प्रतिस्पर्धामा छन् ।

त्रिभुवन विश्वविद्यालयबाट नेतृत्व विकासमा विद्यावारिधि गरेका चौधरीलाई उनेपाले प्राधिकरणको प्रबन्धक पदबाट राजीनामा दिन लगाएर यहाँ टिकट थमाएको हो । 

सप्तरी राजविराज–१३ विषहरिया निवासी ५२ वर्षीया चौधरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धान तथा मधेस आन्दोलन र मधेसको अवस्थाबारे विभिन्न पुस्तक प्रकाशन गर्नुको साथै लेख, रचनाहरू पनि प्रकाशित गरेका छन् । उनेपाका केन्द्रीय सदस्य चौधरीले आफू राजनीतिमा अवसरका लागि नभई अवसर त्यागेर आएको बताएका छन् । 'जसरी कुलमानले देश विकासका लागि आफ्ना सबै अवसर त्यागेर लागेका छन्, त्यसरी म पनि आफ्ना सम्पूर्ण अवसर छाडेर जनताको सेवामा लागेको हो,' उनले भने ।

सप्तरीबाट ठुला ठुला नेताहरूले जन्म लिएका, यहाँ विभिन्न क्रान्तिहरू भएका, तर यहाँको विकासमा कसैले ध्यान नदिएको उनले दाबी गरेका छन् । र आफू विकासको एजेन्डा लिएर जनतामा आएको पनि उनले प्रस्ट्याएका छन् । 

विगतमा यो क्षेत्रले गजेन्द्रनारायण, उपेन्द्र यादव, डा.सीके राउतजस्ता नेतालाई जिताइसकेको तर सप्तरी जस्ताको त्यस्तै रहेको उनले बताए । नेपालकै सबभन्दा राम्रो सहर राजविराज बनाउ प्लानिङ पनि राजविराजको अवस्था सबैसामु छर्लङ्ग भएको उनले बताए । 'उपेन्द्र यादवपछि यहाँका जनताले राउतलाई चान्स दिएका हुन्, राउतले भने काम गर्न सकेनन्,' उनले भने, 'सप्तरीमा विकास र परिवर्तन चाहिन्छ भने नयाँ ढंगले सोच्नुपर्छ ।'

अब कुलमानको नेतृत्वमा देशलाई सही ट्रयाकमा लैजाने प्रयास हुने पनि उनले बताए । नेपाललाई उज्यालो बनाउन भ्रष्टाचारमुक्त न्यायिक समाजको निर्माण गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले देश बन्न सही व्यक्तिको चयन आवश्यक रहेको तर्क गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप